मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ श्रावण २७ मंगलबार १४:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसले ज्युँदो श्रीमतीको मृत्युदर्ता गरे...

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १४:५३:oo

कञ्चनपुरमा श्रीमानले जिउँदै भएकी श्रीमतीको मृत्युदर्ता गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ४ गोबरैया महेन्द्रनगरमा दयाराम गिरीले श्रीमती गोमतीदेवी गिरी (नाथ)को मृत्युदर्ता गरेका हुन् । दयारामले जेठी श्रीमती गोमती कालगतिले मरेको भन्दै भीमदत्त नगरपालिका– ४ वडा कार्यालयमा मृत्युदर्ता गरेको रहस्य खुलेको छ । 

प्रेम सम्बन्धमा रहेका दयाराम र गोमतीले ४ पुस ६६ सालमा बिहे गरेका थिए । गोमतीका परिवारले टीकाटालो गरेर छोरी दयारामलाई सुम्पिदिएका थिए । विवाहको केही समय ठिकठाक चल्यो, दुई सन्तान (छोरा)पनि भए, तर पछि श्रीमान्–श्रीमतीबिच खटपट चल्यो ।  दयाराम नेपाली सेनामा कार्यरत हुँदा उनी विवाह गरेर ड्युटीमा जानुपर्ने बाध्यता थियो । सेनामै हुँदा खरिद  गरेको १० धुर जमिन पनि श्रीमतीकै नाममा पास गरिदिएका थिए । 

श्रीमान् शान्तिसेनामा हुँदा श्रीमती गोमती दुई नाबालक छाेरा छाडेर ३ असार ०७५ सालमा माइती गइन् । आफन्तहरूले दयाराम शान्तिसेनामा विदेश भएका वेला गोमतीले अर्काेसँग बिहे गरेको आरोप लगाए पनि गोमतीले आफू केही समय माइतीघर बसेको र आफूले बिहे नै नगरेको बताउँदै आएकी छिन् । श्रीमती घरबाट गएपछि  श्रीमानले प्रहरीमा समेत खोजतलासका लागि निवेदन दिएका थिए । 

नाबालक छोरा छाडेर गएको झोँकमा दयारामले ५ फागुन ०७६ मै श्रीमतीकोे मृत्यु भएको भन्दै २० फागुन ०७६ सालमा वडा कार्यालयमा गएर जिउँदै मान्छेको मृत्युदर्ता गराएका हुन् । उतिवेला गुरुदेव विक पञ्चाधिकारीले गोमतीको मृत्यु प्रमाणित गर्दै मृत्युदर्ता प्रमाणपत्र उपलब्ध  गराएका थिए । जेठी श्रीमतीको नाममा रहेको १० धुर  जमिन २२ फागुन ०७६ मा छोरा र आफ्नो नाममा नामसारी गरेका छन् । जेठी श्रीमतीले नाबालक छाेरा छाडेर गएको झोँकमा कानुनलाई चुनौती दिँदै मृत्युदर्ता  गराएका दयारामले पनि दोस्रो विवाह गरेर सन्तान लगेर अहिले भारतमा बस्दै आएका छन् । 

श्रीमानले ०७६ सालमा मृत्युदर्ता गराएको घटना गोमतीले ६ वर्षपछि थाहा पाइन् । गोमती गिरी (नाथ)ले आफू केही कामका लागि वडा कार्यालय  जाँदा आफुलाई कर्मचारीहरूले तपाईं जिउँदै हो भन्दै प्रश्न गरेपछि छक्क परेको बताइन् । ‘म २३ असार ०८२ मा केही कामका लागि वडा कार्यालय गएकी थिएँ, त्यहाँ मेरो मृत्युदर्ता गराइसकेको रहेछ,’ उनले भनिन्, ‘न्यायका लागि वडा, प्रहरी, प्रशासनमा जाँदा एकले अर्कातिर जाऊ भनेर देखाउँछ, मैले कहाँ गएर न्याय पाउने हो, के म जिउँदै मान्छेलाई सरकारले मरेको भन्दै मारिदिन्छन् ।’ गोमतीले श्रीमान् परस्त्रीसँग सल्किएपछि आफूमाथि अन्याय गरेकाले बाध्य भएर घर छाडेको बताइन् । ‘मैले उतिवेला मेरै कलिला सन्तानलाई छाडेर गएकोबारे पछुतो भइरहेको छ,’ उनले भनिन्, ‘परिस्थितिले नाबालक छोराहरू छाडेर गएकी हुँ, जानी–जानी होइन, अब मलाई न्याय चाहियो, त्यो मृत्युदर्ता प्रमाणपत्र खारेजी गरिदिनुपर्‍यो ।’ 

जिउँदै मान्छेको मृत्यु भयो भनेर वडा कार्यालयदेखि भीमदत्त नगरपालिका, मालपोत कार्यालयसम्मै कागजात खडा गरेर जमिन नामसारी गरेपछि कतै सेटिङमा गैरकानुनी कामकाज भएको त होइन भनेर नागरिकले आशंका गरिरहेका छन् । तर, दयारामका आफन्तहरूले गोमती घरबाट भागेपछि उनको नाममा रहेको जमिन सन्तानकै लागि बचाउन गरेको हुन सक्ने आकलन गरिरहेका छन् । उक्त घटनामा सामाजिकदेखि कानुन उल्लंघन भएको भन्दै घटनाको सबै कोणबाट छानबिन गरेर दोषउपर कारबाहीको माग अघि सारिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले उतिवेला ०७५ सालतिर दयाराम गिरीले श्रीमती हराएको निवेदन दिए/नदिएकोबारे प्रहरी अभिलेख हेरिने बताए । भीमदत्त नगरपालिका– ४ का वडाध्यक्ष सुशील भट्टले झुक्याएर जिउँदै मान्छेको मृत्यु दर्ता गराएको घटनाबारे छानबिन गरेर मृत्युदर्ता खारेजी हुने बताए ।