
कैलाली कारागार घटनामा घाइतेमध्ये ६ जनाको सेती प्रादेशिक अस्पतालमा शल्यक्रिया गरिएको छ । हातखुट्टा तथा टाउकोमा गम्भीर चोट लागेका घाइतेको शल्यक्रिया गरिएको प्रादेशिक अस्पतालले जनाएको छ ।
हातखुट्टा भाँचिएका, हड्डी फुस्केका पाँचजना र टाउकोमा चोट लागेका एक कैदीबन्दीको शल्यक्रिया गरिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. खगेन्द्र भट्टले जानकारी दिए । उनले उपचाररत सबै घाइतेको अवस्था खतरामुक्त रहेको बताए । ‘उपचाररत सबै घाइतको अवस्था खतरामुक्त छ,’ उनले भने, ‘सामान्य घाइते केही कैदीबन्दीलाई छिट्टै डिस्चार्ज गर्ने तयारी छ ।’
कैलाली कारागारभित्र बन्दीगृहको ब्लक ‘ए’का कैदीबन्दीले ब्लक ‘बी’का कैदीबन्दीमाथि शुक्रबार राति आक्रमण गर्दा एकजनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । धनगढी उपमहानगरपालिका–४, का ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको हो । घाइते दुईजनालाई थप उपचारका लागिकाठमाडौँ लगिएको छ । प्रहरीका अनुसार घटनामा रड, चक्कु, गडसा, इँटालगायतको प्रयोग भएको पाइएको छ ।
झडपमा ज्यान गुमाएका धनगढी– ४, का भरत चौधरीको शव आफन्तले बुझेका छन् । पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबिच सहमतिपछि घटनाको तेस्रो दिन आफन्तले शव बुझेका हुन् । मृतकका आफन्तलाई नियमानुसार राहत र क्षतिपूर्ति उपलब्ध गराउने, मृतककी छोरीको नि:शुल्क शिक्षादीक्षाको व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने मौखिक सहमति भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।
यी विषयमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले प्रतिबद्धता जनाएपछि आफूहरू शव उठाउन तयार भएको मृतकका भाइ विजय चौधरीले बताए । घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता प्रशासनले जनाएको उनको भनाइ छ । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै यसअघि आफन्तले शव उठाउन मानेका थिएनन् । घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी पनि दिएका छन् । पीडितको जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए । मृतक चौधरी लागुऔषध मुद्दामा गत माघदेखि कैद भुक्तान गरिरहेका थिए । उनका १५ वर्षीया छोरी बन्दना, आमा, भाइ र बुहारी छन् । बन्दना धनगढी– ४, को तुल्सीराम माविमा कक्षा ८ मा पढ्छिन् ।