मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
मारियाना काराकौलाकी
२o८२ श्रावण २५ आइतबार ११:४२:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पुन: ब्युँताइँदै छ युरोपको घातक सीमा विवाद

Read Time : > 3 मिनेट
मारियाना काराकौलाकी
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार ११:४२:oo
  • बेलायत र ग्रिसले विगत दशकको जातिवादी सीमा नीतिलाई पुन: ब्युँताएका छन् र यसपटक समस्या समाधान गर्ने ‘नाटक’ गरिरहेका छन्

गत महिना ग्रिसका आप्रवासनमन्त्री थानोस प्लेभ्रिसले अफ्रिकाबाट भूमध्यसागर हुँदै फर्जी यात्रापछि ग्रिकको किनारमा पुग्नेलाई शरण दिन प्रभावकारी रूपमा अस्वीकार गर्ने नयाँ कानुन घोषणा गरे । ‘ग्रिसले उत्तर अफ्रिकाबाट हजारौँ अनियमित आप्रवासीको अनियन्त्रित प्रवेशलाई सहन गर्दैन,’ प्लेभ्रिसले एक अन्तर्वार्तामा भने । ग्रिसको नयाँ कानुनको विरुद्धमा प्रतिक्रिया तुरुन्तै आए, मानव अधिकार संगठनले यसलाई गैरकानुनी भनेर वर्णन गर्दै यसलाई फिर्ता लिन आह्वान गरे । ग्रिक बार एसोसिएसनको पूर्ण बैठकले शरणको अधिकार अस्वीकार गर्नु अन्तर्राष्ट्रिय र इयू कानुनको उल्लंघन हुने कुरामा जोड दियो ।

सोही दिन महाद्वीपको अर्को छेउमा बेलायती प्रधानमन्त्री केयर स्टामरमरले फ्रान्ससँग ‘अभूतपूर्व सम्झौता’को रूपरेखा प्रस्तुत गरे, जुन उनको बुझाइमा साना डुंगा र तस्करी गिरोह लक्षित छ । बेलायत–फ्रान्स सम्झौतालाई राजनीतिक परिदृश्यका सबै पक्षले आलोचना गरेका छन् । डाक्टर विदाउट बोर्डर्सजस्ता संस्थाले यसलाई ‘लापरबाह’, ‘दुर्भाग्यपूण’ र ‘खतरनाक’ भनेका छन्, जबकि आप्रवासी अधिकार नेटवर्कले नयाँ सम्झौताले मानिसलाई बेलायतमा प्रवेश गर्न प्रयासबाट नरोक्ने पक्षलाई जोड दियो । ग्रिस र बेलायतको आप्रवासन रोक्ने नयाँ योजना असफल हुने निश्चित छ, र कारण सरल छ, आप्रवासन प्रतिबन्धले काम गर्दैन ।

एक दशकअघि सन् २०१५ को ग्रीष्ममा युरोपेली संघले एउटा यस्तो संकटको सामना गर्‍यो, जुन उसले अपेक्षा गरेको थिएन र त्यसका लागि तयारसमेत थिएन । इस्लामिक स्टेट अफ इराक एन्ड द लेभान्ट (आइएसआइएल, जसलाई आइएसआइएस पनि भनिन्छ) को उदय, सिरियाको क्रूर गृहयुद्ध र अफगानिस्तानमा अस्थिरताले हजारौँ मानिसलाई युरोपेली संघमा सुरक्षा खोज्न बाध्य बनायो । ‘लामो बसाइँसराइ’ले इयूमा तथाकथित शरणार्थी संकटको सुरुवातलाई संकेत गर्‍यो । तैपनि, इयूसँग स्पष्ट योजना थिएन । सन् २०१५ को मेमा सहमति भएको युरोपेली बसाइँसराइ एजेन्डा अझै परीक्षण गरिएको थिएन ।

आज, युरोपभर बसाइँसराइ नीतिलाई नयाँ आकार दिने काम भइरहेको छ । ग्रिसले २०१५ देखि प्रतिबन्धात्मक निवारक उपायलाई औचित्य दिने काम गरेको छ । ग्रिसको नवउदारवादी सरकारका लागि बसाइँसराइ यसको आर्थिक सफलताको कथामा एउटा धब्बा पनि हो । बेलायतमा, बसाइँसराइलाई अति–दक्षिणपन्थी भावनालाई बल दिन प्रयोग गरिएको छ । युरोपमा आप्रवासन नीति आगमनलाई रोक्न मात्र नभई घरेलु राजनीतिक माग पूरा गर्न पनि बनाइएको छ ।

न त आप्रवासन योजनालाई महाद्वीपभर अति दक्षिणपन्थीको उदयबाट अलग्गै हेर्न मिल्छ । आप्रवासीको अवैधीकरणलाई अतिदक्षिणपन्थी बयानबाजी अपनाउने कार्य दुवै देशमा अमानवीय नीतिलाई औचित्य दिन प्रयोग गरिएको छ । ग्रिसको नयाँ नीतिको औचित्य अफ्रिकाबाट ‘आक्रमण’को शंकास्पद विवरणमा केन्द्रित छ, जुन आप्रवासन मन्त्रीले बारम्बार बोलेका छन् । ग्रिसका आप्रवासन मन्त्रीका लागि ग्रिक सीमा र विस्तारद्वारा युरोपेली सीमालाई सुदृढ पारिनुपर्छ, ताकि ‘वास्तविक शरणार्थी’ले मात्र युरोपेली सुरक्षाको फाइदा लिन सकून् । गृहमन्त्री यभेट कुपरका अनुसार ब्रिटिस सरकारका लागि साना डुंगामा ‘देशकोे सीमा सुरक्षालाई कमजोर पार्ने’ शक्ति हुन्छ, त्यसैले तिनीहरूलाई प्रवेश गर्नबाट रोक्नुपर्छ ।

प्रत्येक बसाइँसराइ योजना ग्रिस, इयू र बेलायतमा फरक–फरक राजनीतिक प्रक्रियाको उत्पादन हो, तिनीहरूको डिजाइन र त्यसलाई औचित्य दिन प्रयोग गरिएका विवरण धेरै तरिकामा समान छन् । तिनीहरू दुवैले आप्रवासी र सीमालाई समान रूपमा अवधारणा बनाउँछन् । प्रत्येक राज्यका लागि आप्रवासीलाई सीमाका लागि खतराको रूपमा हेरिन्छ र सीमालाई सुरक्षाको आवश्यकताको रूपमा हेरिन्छ । प्रत्येक देशको किनारमा पुग्ने आप्रवासीलाई अपराधीकरण गरिन्छ र सरकारी अधिकारीमार्फत ‘अवैध आप्रवासी’ शब्दले प्रमुखता प्राप्त गरेको छ । फलस्वरूप, सीमालाई एक सुरक्षा संयन्त्रको रूपमा हेरिन्छ । साथै, यी दृष्टिकोणले विभाजनको ‘हामीविरुद्ध तिनीहरू’ कथा सिर्जना गर्छ । आप्रवासीलाई तिनीहरूको प्रवासी पहिचानमा सीमित गरिन्छ, उनीहरूलाई एक समूहको रूपमा हेरिन्छ र उनीहरूको व्यक्तिगत अनुभवले कुनै अर्थ राख्दैन । यसरी, आप्रवासी अन्तर्राष्ट्रिय सुरक्षाको योग्य वा अयोग्य, पश्चिमी राज्यका लागि वाञ्छनीय वा अवाञ्छनीय हुन्छन् । ‘वास्तविक शरणार्थी’ भनेर बुझिएकाहरूलाई मात्र अन्तर्राष्ट्रिय सुरक्षाको योग्य मानिन्छ । ‘अवाञ्छनीयहरू’ शून्यमा परिणत हुन्छन् र सीमाबाट निष्कासित गरिन्छ । फलस्वरूप, डरको कथालाई बढावा दिइन्छ र संकट सिर्जना हुन्छ ।

युरोपेली सीमामा भएका विभिन्न घटना ‘शरणार्थी संकट’को रूपमा परिचित भए पनि वास्तवमा ती युरोपेली सीमाको संकट थिए । सीमा संकटको समयमा युरोपेली सीमा शासन पहिलेभन्दा बलियो रूपमा देखा पर्‍यो र सीमाविहीन संसारको इयूको नवउदारवादी कल्पना ढल्यो । महाद्वीपभरि पर्खालहरू खडा गरियो, ‘अवाञ्छनीय’हरूलाई रोक्न र निष्कासन गर्न नयाँ सीमा प्रविधि तैनाथ गरियो र त्यसको परिणामस्वरूप मानव अधिकार उल्लंघन र हिंसालाई सामान्य बनाइयो । युरोपेली महाद्वीपको सिमानामा मृत्युको आँधीबेहरी जारी छ । बेलायत–फ्रान्स सम्झौतालाई अभूतपूर्व रूपमा वर्णन गरिएको हुन सक्छ । तर, २०१६ मा इयू–टर्किए सम्झौताले यस्ता ‘परिवर्तित’ नीतिका लागि मार्गप्रशस्त गर्‍यो । यी सम्झौता असफल भए । इयू र टर्किएबिचको सम्झौताले छोटो अवधिमा एजियन सागर पार गर्ने मानिसको संख्या घटाएको हुन सक्छ । यद्यपि, यसले तिनीहरूलाई रोकेन । बरु, यसले प्रवासी मार्ग सार्‍यो, नयाँ मार्ग खोल्यो र प्रवासी यात्रालाई अझ जटिल र खतरनाक बनायो ।

तिनीहरूको असफलताको कारण सरल छ, मानव आवागमन नियन्त्रण गर्न सकिँदैन । तर्कसंगत रूपमा, यसलाई रोक्न वा ढिलाइ गर्न सकिन्छ, तर यसलाई रोक्न सकिँदैन । यी नीति जातिवादमा जरा गाडेका छन् र जानाजानी विभाजन सिर्जना गर्न डिजाइन गरिएका छन् । तिनीहरूको मुख्य उद्देश्य मानिसलाई अलग गर्नु र को सुरक्षित रूपमा बस्न योग्य छ र कसलाई पश्चिमी क्षेत्रबाट निष्कासित गर्नुपर्छ भनेर निर्धारण गर्नु हो । तिनीहरूलाई इयू र बेलायतको औपनिवेशिक र पुँजीवादी विगतबाट अलग्गै हेर्नुहुँदैन । साथै सीमाको तमासा पूर्ण रूपमा मञ्चन गरिएको छ, यसले कृत्रिम संकटमाथि नियन्त्रणको भ्रम उत्पन्न गर्छ, जुन वास्तवमा नियन्त्रण गर्न सकिँदैन । 

(पत्रकार काराकौलाकी युरोपमा बसाइँसराइ र अति दक्षिणपन्थीबारे कलम चलाउँछिन्)
– अलजजिराबाट