मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
२o८२ श्रावण २५ आइतबार १३:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार १३:२७:oo

वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरूप रु. एक करोड ६० लाख प्रदान गरेको छ । जिल्लाको विभिन्न स्थानमा गरी चितुवाको आक्रमणबाट ज्यान गुमाएका १६ बालबालिकाका परिवारलाई जनही रु. १० लाखका दरले रकम हस्तान्तरण गरिएको हो । 

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा १० लाख क्षतिपूर्ति दिने व्यवस्था रहेअनुरूप हालसम्म उक्त रकम उपलब्ध गराइएको वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘वन्यजन्तुको आक्रमणबाट घाइते भएका २१ जनालाई रु. नौ लाख ४५ हजार ५२६ उपचार खर्च प्रदान गरिएको छ ।’

०७४ फागुन ९ गतेदेखि हालसम्म आठ वर्षको अवधिसम्म जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी ११ बालक र पाँच बालिकाको ज्यान गएको छ ।   

‘चितुवाआतंक बढ्न थालेपछि जिल्लाका आठ स्थानमा चितुवाका लागि खोर राखिएको छ,’ उनले भने, ‘पछिल्लो समय बन्दीपुर क्षेत्र बढी प्रभावित देखिएकाले पासो राखिएको छ ।’

बन्दीपुरका पाँच सामुदायिक विद्यालय र मानिसको जमघट हुने सार्वजनिक स्थलमा चितुवाको आक्रमणबाट कसरी जोगिन सकिन्छ भन्ने सचेतनामूलक होर्डिङ बोर्डसमेत राखिएको कार्यालयले जनाएको छ । 

चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायत पालिकामा बढी प्रभावित छन् । चितुवाको आक्रमणबाट सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका– ५ की आठ वर्षीया सुप्रीति थापा, बन्दीपुर– १ का पाँच वर्षीय सुप्रिम थापा र बन्दीपुर–३ की ११ वर्षीया डिना चेपाङ छन् । यसैगरी, व्यास नगरपालिका– १२ छर्कनका आठ वर्षीय अभिनव कुँवर, भानु नगरपालिका– ३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु– ४ की चार वर्षीया रञ्जिता लम्साल, भानु– २ की आठ वर्षीया पुष्पा अधिकारी, सोही वडाका १० वर्षीय अमृत गुरुङ र सात वर्षीय ऋतिक रोकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । 

त्यसैगरी, भानु– १ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका– ३ का दुई वर्षीय रविन नेपाली, आँबुखैरेनी नगरपालिका– १ का आठ वर्षीय पुजन सिञ्जाली, बन्दीपुर–४ का ११ वर्षीय इसाक सुनार र शुक्लागण्डकी– २ का नारायण राना, बन्दीपुर  गाउँपालिका– ५ याम्पाका १३ वर्षीय सुन्दर अछामी र नाै वर्षीया अनुजा विकको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको छ।  

कार्यालयका अनुसार विभिन्न ठाउँमा गरी २० स्थान पासो राखिसकिएको छ । एकपटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिन सोही ठाउँआसपासमा पासो राख्ने गरिएको वन अधिकृत नवीन विश्वकर्माले बताए।