
२० साउनमा शपथ लिएका बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक साता हुन लाग्दासमेत प्रदेशको १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । खासगरी मुख्यमन्त्री बानियाँकै पार्टी कांग्रेसको भागमा परेका सात मध्ये ६ मन्त्रालयमा उनले अहिलेसम्म मन्त्री नियुक्त गर्न सकेका छैनन् ।
कांग्रेसका तर्फबाट मन्त्री नियुक्त भएका दुईजनामध्ये कृष्णकुमार तामाङलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिए पनि उनीसँगै शपथ लिएका शिवराज अधिकारी अझै पनि विनाविभागीय नै छन् । त्यसो त मुख्मयन्त्री बानियाँले बाँकी रहेका पाँचजना मन्त्री पनि नियुक्त गर्न सकेका छैनन् ।
मुख्मयन्त्री नियुक्त भएको भोलिपल्ट २१ साउनमा काठमाडौं पुगेका मुख्यन्त्री बानियाँ आन्तरिक छलफलमै रहेको कांग्रेस संसदीय दलका प्रवक्तासमेत रहेका प्रदेशका निवर्तमान कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए । ‘मन्त्रालय विस्तारको विषयमै छलफलका लागि मुख्यमन्त्री अहिले काठमाडौंमै हुनुहुन्छ । सत्तारूढ दलहरूसँगको परामर्श, पार्टी नेतृत्वको निर्देशनअनुसार सम्भावित मन्त्रीहरूको टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार हुन्छ । उहाँ यिनै विषयमा छलफलमा हुनुहुन्छ,’ उनले भने, ‘एक–दुई दिनमै मन्त्रीहरूको नाम पनि टुंगो लाग्छ ।’
आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार ढालेर मुख्यमन्त्री बनेका बानियाँले २० साउनमा मुख्यमन्त्रीको शपथ लिँदा एमालेका ६ सहित कांग्रेसबाट दुईजनालाई मन्त्री बनाएका छन् । उनले कांग्रेसको भागमा परेका मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् । ती मन्त्रालयहरूको जिम्मेवारी अहिले मुख्यमन्त्री बानियाँ आफैँसँग छ ।
मन्त्रिपरिषद् विस्तारको विषयमा पार्टीका शीर्ष नेतासँग छलफल भइरहेको र आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल हुने प्रवक्ता लामिछानेले बताए । उनले सभापतिको निर्देशनअनुसार नै मुख्यमन्त्री अगाडि बढ्नेमा शंका नरहेको बताए ।
मुख्यमन्त्री बानियाँ स्वयंले पनि सरकार विस्तारअघि स्वाभाविक रूपमा एकपटक पार्टी सभापतिलगायत नेताहरूसँग छलफल गर्न चाहेको बताएका छन् । ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, स्वाभाविक रूपमा कुनै निर्णयमा पुग्नुअघि पार्टीका शीर्ष नेतृत्वसँग छलफल, सल्लाह गर्नु हाम्रो परम्परा हो,’ उनले भने, ‘त्यसैका लागि काठमाडौं छु । म स्वयं पनि निर्णय गर्ने स्थानमा छु, तैपनि सबैसँग सल्लाह गरेरै मात्रै अगाडि बढ्छु ।’
सहमति पालना गराउन निवर्तमान मुख्यमन्त्री लामा पक्षको दबाब
बागमती प्रदेशमा कांग्रेसको भागमा परेका सात मन्त्रालयमध्ये पहिलो चरणमा मुख्यमन्त्री बानियाँले दुईजनालाई मन्त्री बनाएका छन् । उनले बनाएका दुईमध्ये एकजना मन्त्री शिवराज अधिकारीलाई अहिलेसम्म जिम्मेवारी दिइएको छैन । यस्तो परिस्थितिमा मुख्यमन्त्री बानियाँलाई मन्त्री नियुक्त गर्न र जिम्मेवारी दिन चुनौती देखिएको छ ।
प्रदेश सभामा ३७ जना सदस्य रहेको कांग्रेसमा विगतमा जस्तै यसपटक पनि मन्त्री बन्न चाहने आकांक्षीको लर्को छ । विशेषगरी आफ्नै पार्टीको सरकार ढालेर मुख्यमन्त्री बनेका बानियाँलाई शक्ति सन्तुलनमा चुनौती छ । उनलाई मुख्यमन्त्री बनाउन महŒवपूर्ण भूमिका खेलेका प्रदेश सांसद र पार्टीका शीर्ष तहको आकांक्षीलाई मुख्यमन्त्री बानियाँले मन्त्रीमार्फत सम्बोधन गर्नुपर्नेछ ।
पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, उपप्रधानमन्त्री प्रकाशमान सिंह, पार्टी प्रवक्ता प्रकाशशरण महतलगायतलाई बानियाँले मन्त्रिपरिषद् विस्तार गर्दा मिलाएर जानुपर्ने अवस्था रहेको ब्रिफिङ गरेको उनीनिकट एक सांसदले बताए ।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङले नियुक्त गरेका तीनजना मन्त्रीहरू गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई पनि शपथ गराउने सहमति भएको थियो । उक्त विषय पनि मुख्यमन्त्री बानियाँका लागि चुनौतीको विषय हो । पार्टी सभापति देउवाको उपस्थितिमा भएको उक्त सहमति अक्षरश: पालना हुनुपर्ने निवर्तमान मुख्यमन्त्री लामाको माग छ । उनले मुख्यमन्त्री बानियाँले आफूसँग गरेको सहमतिको पालना गर्नुपर्नेमा जोड दिँदै आएका छन् । यस विषयमा पुन: छलफलका लागि आइतबार लामाले पार्टी सभापति देउवालाई भेट्ने बताइएको छ । ‘आइतबार पार्टी सभापतिसँग समय मागेका छौँ । समय मिल्यो भने छलफल हुन्छ । खासगरी म मुख्यमन्त्री हुँदा नियुक्त गरेका मन्त्रीहरूलाई शपथ गराउनुपर्ने हाम्रो माग छ,’ उनले भने, ‘इन्द्रजीले उक्त सहमति पालना गर्नुभएन । हामी पार्टी सभापतिलाई भेटेर यस विषयमा जानकारी गराउँछौँ ।’
सहमति पालना नगरे मुख्यमन्त्री बानियाँलाई विश्वासको मत लिने समयमा अप्ठ्यारो पर्न सक्ने उनले चेतावनी पनि दिएका छन् । ‘पार्टीभित्र भएका सहमति पालना गर्नुपर्छ,’ उनले भने, ‘मैले पनि सहमतिअनुसार नै राजीनामा दिएको हुँ । अब सहमति पालना गर्ने पालो इन्द्रजीको हो । एकले अर्कालाई पेलेर जाने काम नहोस् भन्ने मेरो चाहना छ ।’
मुख्यमन्त्री बानियाँले भने मन्त्री बनाउने विषय ठुलो नभएको दाबी गरे । पार्टी सधैँ सहमति र सहकार्यमै चलिरहेकाले अहिले पनि सोहीअनुसार नै चल्ने उनको दाबी छ । बानियाँले आफू मुख्यमन्त्री बन्न मात्रै नआएको उल्लेख गर्दै मन्त्रिपरिषद्मा पनि काम गर्ने मन्त्री हुनुपर्ने बताए ।
बानियाँलाई विश्वासको मत दिन बागमती कांग्रेसको ह्विप
यसैबिच शनिबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँले लिने विश्वासको मतको पक्षमा मत दिन ह्विप जारी गरेको छ । २७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वानसमेत गरिसकेको छ । दलका नेता बानियाँले शनिबार कांग्रेस संसदीय दलको नौ सदस्यीय कार्यसमिति गठन गरेसँगै बसेको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता एवं प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।