
पीडाको केक काटेँ
आँसुका मैनबत्तीहरू बालेँ
घाउको गीत गाएँ–
ह्याप्पी बर्थडे... ... ...
यसरी मनाएँ यसपालि
विश्व–कायरताको जन्मदिवस
बागबजारको भट्टीबाट
आफ्नै कायरतालाई झेल्न
मलाई अल्कोहल चाहिन्छ
जब आफ्नै मौनले
बोल्छ मविरुद्ध धावा
म रक्सीको तटैतट भागिरहेको हुन्छु
यसरी भागिनँ भने
अनिष्ट कहाँसम्म हुन सक्छ भने
मेरै हातबाट हुन सक्छ मेरो हत्या
कवि विनोदविक्रम केसीले
कायर विनोदे रद्दीको कोखामै
धस्न सक्छ छुरी
जब कुनै कवि
उत्रिन सक्छ यस हदको कारबाहीमा
सम्झिनू–
क्रूरताले नाघ्न बाँकी
सरहद कुनै
बाँकी छैन अब
बल्ल–बल्ल
जुटाएको छु दुस्साहस एउटा
तीन गिलास ठर्रा चढाएपछि
बागबजारको भट्टीबाट
तपाईं प्यालेस्टाइनी आमाहरूलाई
सायंकालीन अभिवादन टक्य्राउन
बल्ल–बल्ल
जुटाएको छु दुस्साहस एउटा
अभिवादन !
गुड इभिनिङ !
मसा अल खैर !
मैले गिलास उठाएँ है, आमाहरू !
प्रत्युत्तरमा तपाईंहरू के उठाउनु होला, साँच्ची
प्रस्तर या आफ्नै नानीका शवहरू ?
अथवा, बमका खोका ?
जसलाई खुनी ट्रम्पहरूको भाषामा स्य्राप्नेल भन्छन्
तपाईंका नानीहरू
अर्थात्
बचेखुचेका नानीहरू
अचेल चन्द्रमाद्वेषी/ताराद्वेषी भएका छन् रे
हो ?
हो भने
योभन्दा वियोगात्मक कुरा अरू केही हुन सक्दैन
सेक्सपियर बुढोले पनि यस दुर्भाग्यमाथि
अढाई अक्षर लेख्न सक्ने छैन...
खुद चन्द्रमाजस्ता नानीहरू चन्द्रमाद्वेषी ?
खुद ताराजस्ता नानीहरू ताराद्वेषी ?
जब उनीहरूलाई लाग्छ–
तारा हो एउटा खस्न ठिक्क परिबसेको बम या मिसाइल
चन्द्रमा हो एउटा खस्न ठिक्क परिबसेको बम या मिसाइल
विश्व समुदाय !
तथाकथित विश्व समुदाय !
डाडु खोज्नु विराट एउटा
तताउनु पानी लाचारीको
र डुबि मर्नु...
मलाई यसरी डुबि मर्न मञ्जुर छैन
त्यसैले म पर्छु अल्कोहलको शरणमा
तथागत ! मैले
शान्तिको परिभाषा प्राप्त गरेको छु
बागबजारको भट्टीमा
यी साराका सारा अत्याचारका बावबेद
प्यालेस्टाइनी आमाहरूले भत्काइदिएका छैनन् यो पृथ्वी
उनीहरूको यही महान् अनुग्रहको नाम शान्ति हो
सुनेको छु, इन्द्रेनीदेखि पनि तर्सिन्छन् रे, झस्किन्छन् रे
तपाईंहरूका नानीहरू (अर्थात् बचेखुचेका नानीहरू)
कि— यो कुन सप्तरङ्गी क्षेप्यास्त्र घोप्टिबसेको हो आकाशमा ?
हाय विश्व समुदाय !
(हाय बागबजारको भट्टीमा बसेर
मदिराजनित भावुकतावश
अन्टसन्ट कविताको थिम फुराइरहेकोे कवि !)
धिक्कार छ, धिक्कार... धिक्कार...
इन्द्रेनीसँग त्रस्त नानीहरूसँग
कसरी पो जुधाउने हो आँखा ?
कुनचाहिँ पाल्सी तर्कको
गर्ने हो इन्तजाम ?
जब
तपाईंहरू— तपाईं प्यालेस्टाइनी आमाहरू—
मरेका
मर्दै गरेका
कुनै पनि घडी मर्ने सम्भावना भएका
आफ्ना नानीहरूका निश्छल सवालोपर
(जस्तो कि, हाम्रो दोष के हो ?)
बोल्नलाई शब्द नपाएर दाह्रा किट्नुहुन्छ
म पनि बागबजारको भट्टीमा बसेर
दाह्रा किटिरहेको हुन्छु
एक दिन त छोराको एउटा सवालसँग
सम्पूर्णत: पराजित भएर म
मध्याह्नमै छिरेँ भट्टी
आउँदो अठार अगस्टमा तेह्र वर्ष लाग्दै गरेको मेरो छोरोले
एक बिहान गर्यो भयानक प्रश्न एउटा—
इजरायललाई कसले दियो
प्यालेस्टाइनमाथि बम खसाल्ने लाइसेन्स ?
के जवाफ दिनु मैले ?
भगौडाहरू भन्छन्,
कहिलेकाहीँ जवाफ दिनुभन्दा
भट्टी छिर्नु सुविधाजनक हुन्छ
म भगौडा होइन
बस, आफूभित्रको सन्नाटासँग लड्न
मलाई अल्कोहलको अस्त्र चाहिन्छ
यदाकदा
म तपाईँ प्यालेस्टाइनी आमाहरूसँग
गरिरहेको छैन याचना, कि—
गरिदिनुहोला माफ मलाई
म त यति हेक्का दिलाउन
तपाईंहरूलाई
बागबजारको भट्टीबाट गरिरहेको छु
सायंकालीन अभिवादन, कि—
तपाईंहरूले कदापि माफ नगर्नेहरूको सूचीमा
नेतन्याहु र नेतन्याहुहरू सँगै
हुनुपर्नेछ
मेरो पनि नाम
नेतन्याहुको बम र मेरो बेफिक्री
नेतन्याहुको मिसाइल र मेरो मौन
उत्तिकै अपराधी हुन्
उत्तिकै नृशंस ।