
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नक्साल गैरीधारास्थित मिथिला थाली परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन् ।
मास्टरसेफ सन्तोष साह र उनका दाजु दिलिप साहले सञ्चालन गरिरहेको जनकपुर फिस हाउसमा पुगेर शनिबार साँझ मेयर शाहले माछाका परिकारको स्वाद लिएका हुन् ।
‘यहाँको माछाका परिकारमा तराईमा माछा खाएको स्वाद आयो, काठमाडौँमा जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लाग्यो,’ मेयर शाहले भने । मेयर शाह पत्नी सबिना काफ्लेसहित मिथिला थाली पुगेका थिए ।
मास्टर सेफ साह काठमाडौं महानगरका फूड सेफ्टीका कन्सलट्यान्ट पनि हुन् । साहले काठमाडौंको गैरीधारा, झम्सीखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । गैरीधारामा जनकपुर फिस हाउस पनि सञ्चालनमा छ । साथै जनकपुरमा आवासको सुविधासहित मिथिला थाली सञ्चालन गरिरहेका छन् ।
पछिल्लो समय जनकपुरे माछाका विभिन्न परिकारका लागि मानिसहरू गैरीधारास्थित जनकपुर फिस हाउसमा पुग्ने गरेका छन् । जनकपुर माछाका परिकारका लागि चर्चित गन्तव्य हो । जनकपुरमा पाइने माछाका परिकार काठमाडौँबासीलाई चखाउने उद्देश्यले केही समयअघि साहले जनकपुर फिस हाउस सञ्चालनमा ल्याएका हुन् ।