
बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर तीन हजार विन्दुबाट तल झरेको छ। नेप्से ४७.९३ अंकले घटेर दुई हजार ९५४.१४ विन्दुमा कायम भएको हो।
आज ३२७ कम्पनीका तीन करोड ६४ लाख १७ हजार कित्ता सेयर १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। मंगलबार १८ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ समूहमध्ये अन्य समूह ०.८५ प्रतिशतले बढ्दा बाँकी सबै समूहमा गिरावट देखिएको छ। विकास बैंक र लघुवित्त समूह सर्वाधिक तीन प्रतिशतभन्दा धेरैले घट्दा वित्त र होटेल तथा पर्यटनमा दुई प्रतिशतभन्दा अधिक गिरावट आएको छ।
बजार घटे पनि आज सान्वी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी ट्रेड टावर र समता घरेलु लघुवित्तका लगानीकर्ताले क्रमशः ९.९९ र ६.७४ प्रतिशतले कमाएका छन्। आज सर्वाधिक गुमाउनेमा ग्रिन डेभलपमेन्ट बैंक (८.०४ प्रतिशत) रहेको छ।