
अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफाको अनुदानमा ‘फिफा फुटबल फर स्कुल्स’ सञ्चालन गर्ने भएको छ । एन्फाले कार्यक्रम बिहीबारबाट दशरथ रंगशालाबाट सुरु हुने जानकारी दिएको छ ।
फिफाले फुटबल फर स्कुल्स कार्यक्रमका लागि एन्फालाई ३२ हजार ६४० वटा फुटबल बल अनुदानमा दिएको छ । एन्फाले ७७ वटै जिल्लाका एक हजार ७२ वटा विद्यालयमा बल बाँड्ने प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
एडिडास ब्रान्डका फुटबल बलको मूल्य प्रतिगोटा कम्तीमा पाँच हजार रहेको छ । फिफाले कार्यक्रम सञ्चालनका लागि ५० हजार अमेरिकी डलर बजेट उपलब्ध गराएको छ । फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित यो कार्यक्रमले विद्यालय तहका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
कार्यक्रमले ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलमार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैंगिक समानता र सामाजिक समावेशिताजस्ता जीवनोपयोगी सीप सिकाउने लक्ष्य राखेको छ । एन्फाले सुरुमा जिल्लास्तरका प्रशिक्षकलाई तालिम प्रदान गर्नेछ ।
जिल्ला प्रशिक्षकले विद्यालयका खेल शिक्षकलाई प्रशिक्षण दिनेछन् । शिक्षकले बालबालिकालाई फुटबलसहितका सीप सिकाउनेछन् । विद्यालयका शिक्षकले वर्षभरि नै यो तालिमलाई निरन्तरता दिन सक्नेछन् । एन्फाले विद्यालयसँग आवेदन माग गरेको छ ।