
मकवानपुर प्रहरीले लागुऔषध ट्रामाडोलका ९ हजार क्याप्सुलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ आल्दमार बस्ने ३० वर्षीय प्रविन लामा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ करिब ८ बजे शंकास्पद रूपमा हिँडिरहेका लामालाई रोकी जाँच गर्दा उनको साथबाट ३ हजार क्याप्सुल ट्रामाडोल बरामद भएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनले हेटौँडा–१२ बस्ने एक व्यक्तिसँग लागुऔषध खरिद गरेको बयान दिएका थिए।
लामाको बयानको आधारमा प्रहरीले उक्त लागुऔषध बिक्री गर्ने व्यक्तिलाई पक्राउ गर्न खोज्दा उनले प्रहरी देख्नेबित्तिकै साथमा रहेको झोला फालेर फरार भएका थिए। उक्त झोलाबाट थप ६ हजार क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।
लामालाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान अघि बढेको छ। साथै, फरार रहेका व्यक्तिको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।