
प्रधानमन्त्री केपी ओलीले सोमबार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसर्ने गरी घोषणा गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएका छन् । तीनपटकसम्म स्थगित भएको राष्ट्रिय प्रतियोगिताको सबै किसिम अध्ययनपछि नयाँ मिति तोक्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् । बालुवाटारस्थित प्रधाममन्त्री क्वार्टरमा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँगै राखेपका पदाधिकारीलाई बोलाएर छलफल गरेपछि ओलीले यस्तो निर्देशन दिएका हुन् ।
राखेपका संरक्षकको हैसियतमा ओलीले विभिन्न २२ राष्ट्रिय खेल संघका पदाधिकारसिँग पनि दशौँ राष्ट्रिय खेलकुदबारे छलफल गरेका छन् । उनले मन्त्रालय र राखेपबिच समन्वय गर्न पनि निर्देशन दिएका छन् । खेलकुदमन्त्री र सदस्यसचिवबिचको सम्बन्ध राम्रो छैन । ‘प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले १०औँ राष्ट्रिय खेलुकद गर्न सम्पूर्ण तयारी र अध्ययन गरेर मात्र मिति घोषणा गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिनुभयो,’ राखेपका सदस्य कमल भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले खेलकुद मन्त्रालय र खेलकुद परिषद्बिच उचित समन्वय हुनुपर्ने विषयमा पनि निर्देशन दिनुभएको छ ।’
निर्धारित समयअनुसार कर्णालीको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गत वर्षको मंसिरको पहिलो सातामै हुनुपर्ने थियो । तर, खेलकुदमन्त्री र राखेपका सदस्यसचिवबिच एकआपसमा समन्वयन नहुँदा कर्णालीले सबै तयारी पूरा भइसक्दा पनि प्रतियोगिता आयोजना भएन । मन्त्री चौधरीले गत वर्षकै चैतमा प्रतियोगिताको मिति घोषणा गरे । उनले त्यसपछि प्रतियोगिता गत जेठमा हुने भनियो ।
तर, चर्को गर्मीमा कर्णाली प्रदेशमा प्रतियोगिता आयोजना गर्न नसकिने र समयअनुकूल मिलाएर नयाँ मिति सार्वजनिक हुने मन्त्री चौधरीले बताए । प्रतियोगिताका लागि सुर्खेतमा सबैखाले भौतिक पूर्वाधार तयार भइसकेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान सदस्यसचिव विश्वामित्र संज्यालले बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले सन् २०२६ मा जापानमा हुने
२०औँ एसियन खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सबाल भएको बताएका छन् । ‘राष्ट्रिय खेलकुुदको भव्य तयारी हुनुपर्ने, मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय परिवर्तन नगर्न पनि आग्रह छ,’ प्रधानमन्त्री ओलीले भने ।
४४ वर्षमा नवौँ संस्करण मात्र
राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक दुई वर्षमा हुने भनी राष्ट्रिय खेलकुद प्रतियोगिता ०३८ सालमा सुरु गरेको थियो । प्रतियोगिता सुरु भएको ४४ वर्ष भइसकेको छ । तर, अहिलेसम्म केवल नौपटक मात्र प्रतियोतिगा आयोजना भएको छ । अहिलेसम्म कुनै वाधा अवरोध नहुँदा यो प्रतियोतिगा २२औँ संस्करण हुनुपर्ने थियो । पछिल्लोपटक ०७९ मंसिरमा गण्डकी प्रदेशमा भएको थियो । गण्डकीबाट कर्णालीले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको झन्डा बोेकेको थियो ।
‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’
प्रधानमन्त्री ओलीले नेपाल ओलम्पिक कमिटी (एनओसी)मा देखिएको गतिरोध हटाउन निर्देशन दिएका छन् । एनओसीको वर्तमान कार्यसमितिलाई विघटन गरेर नयाँ ओलम्पिक दर्ता प्रक्रिया अगाडि लैजान उनले निर्देशन दिएका छन् । खेलकुदमन्त्री चौधरी, राखेपका पदाधिकारीसँगै २२ भन्दा बढी संघका पदाधिकारीसँगको संयुक्त भेटमा ओलीले नयाँ ओलम्पिकको दर्ता प्रक्रिया बढाउने बताएका हुन् । २२ भन्दा बढी खेल संघका पदाधिकारीले एनओसीको निर्वाचन र उसका गतिविधिबारेमा पुन: एकपटक खेलकुद मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् । ‘नेपाल ओलम्पिक कमिटीको सुरुदेखि नै दर्ता प्रक्रियामै त्रुटि थियो ।
तत्कालीन समयमा सरकारले समेत सो कमिटीलाई साथ दिएर गल्ती गर्यो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक सहभागीले भने, ‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग आवश्यक समन्वय गर्नुहोस् । सरकारको पूरै साथ रहन्छ ।’ सरकारले जीवनराम श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई अवैध घोषणा गरेको छ । सरकारले सातदोबाटोमा रहेको एनओसीको केन्द्रीय कार्यालय बन्द गराएको छ ।