
बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुरसिंह लामा पराजित भएपछि सुरु भएको नयाँ नेताको चयन प्रक्रियामा एकल उम्मेदवारी नहुने स्पष्ट संकेत देखिएको छ।
मुख्यमन्त्री बहादुरसिंह लामा तामाङनिकट मानिने संसदीय दलका उपनेता तथा सांसद रामकृष्ण चित्रकारले मंगलबार दलको नेताको निर्वाचनमा दुवै पक्षबाट उम्मेदवार उठ्ने बताएका हुन् ।
संसदीय दलको बैठकमा भएको मतविभाजनमा लामाले १५ मत पाए भने इन्द्रबहादुर बानियाँको पक्षमा २२ मत परेको थियो । बानियाँ पक्षले बहुमतको आधारमा उनलाई संसदीय दलको नयाँ नेता बनाउने तयारी गरे पनि लामा पक्षले भने प्रतिस्पर्धामा जाने अडान लिएको छ ।
सांसद चित्रकारका अनुसार संसदीय दलको नेताको निर्वाचन प्रक्रिया सुरु भइसकेको छ र उक्त चुनाव एकल उम्मेदवारको आधारमा नहुने निश्चित छ। ‘हामी १५ सांसद होल्ड गरेर बसेका छौँ,’ उनले भने, ‘दलभित्र आन्तरिक छलफल चलिरहेको छ। सहमतिमा नभए उम्मेदवारी त आउने नै भयो ।’
चित्रकारका अनुसार मुख्यमन्त्री लामा स्वयं पनि पुनः उम्मेदवार बन्ने सम्भावना रहेको छ। ‘हाम्रो समूहबाट जोकोही पनि उम्मेदवार हुन सक्छ। त्यो छलफलपछि तय हुन्छ,’ उनले भने । उनले बानियाँलाई सर्वसम्मत नेता बनाउने उद्देश्य नरहेको र प्रतिस्पर्धा आवश्यक रहेको धारणा राखे ।
‘संसदीय दलको बैठक भर्खर सकिएको छ। अबको प्रक्रिया निर्वाचनतर्फ जाने हो। हाम्रो समूहमा छलफल गरेर उम्मेदवार तय हुन्छ,’ चित्रकारले थपे, ‘मुख्यमन्त्री लामा पनि इच्छुक हुन सक्नुहुन्छ, तर अहिलेसम्म कुनै निर्णय भएको छैन।’
प्रदेश कांग्रेसमा स्पष्ट दुई धार देखिएपछि अब नेतृत्वको प्रतिस्पर्धाले बागमतीको राजनीतिक समीकरणलाई अझ रोचक बनाएको छ। संसदीय दलभित्र सहमतिबाट नेतृत्व टुंग्याउने वा निर्वाचनमार्फत निर्णायक निष्कर्षमा पुग्ने भन्ने विषयमा आगामी दिनमा टुंगो लाग्नेछ।