मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
Invalid date format १o:३१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अस्तव्यस्त बन्दै लिबाङ बजार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३१:oo
  • सडकको कालोपत्रे उक्किँदा, छेउछाउका नाला बिग्रिँदा र जथाभावी पार्किङ गर्दा सुन्दर लिबाङ बजार बन्यो कुरूप

रोल्पाको सदरमुकाम लिबाङ बजार जिल्लाकै एक मात्र नगरपालिका हो । यहीँ छ रोल्पा नगरपालिकाको मुख्य लिबाङ बजार पनि । तर, सडकको कालोपत्रे उक्किँदा, छेउछाउका नाला बिग्रिँदा र जथाभावी पार्किङ गर्दा लिबाङ बजार यतिवेला कुरूप र अस्तव्यस्त बनेको छ । 

करिब चार वर्षअघि मर्मत गरिएको बजार क्षेत्रको एक किलोमिटर सडक अहिले पुन: जीर्ण बन्नुका साथै सडकका खाल्टाखुल्टीले दुर्घटनाको जोखिमसमेत बढाएको छ । ‘सडक जीर्ण बन्दै गइरहेको छ, तर कसैले वास्ता गरेको छैन,’ लिबाङ बिचबजारकी व्यवसायी नौली डाँगीले भनिन्, ‘मर्मत गर्न कसैले चासो नदिँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।’ मुख्य सडकलाई अतिक्रमण गर्ने प्रवृत्ति पनि बढेको, तर कसैले वास्ता नगरेको उनको गुनासो छ ।

त्यसो त बर्खाको समय छ । यही वेला बजारका नाला बन्द भएर पनि समस्या हुने गरेको छ । नाला बन्द भएपछि लिबाङको टुँडिखेलआसपासमा ठुलो पानी पर्दा फोहोरको डुंगुर देखिन्छ । ‘हरेक शनिबार बजारवासीले बजार सरसफाइ गर्दै आएका छौँ,’ स्थानीय व्यवसायी मनबहादुर नेपालीले भने, ‘नाला बन्द भएर धेरै फोहोर सडकमा थुप्रिन्छ, त्यसको सफाइ र नाला खोल्नतिर सरकारले ध्यान दिनुपर्‍यो ।’ स्थानीय तिलचन्द्र आचार्यका अनुसार लिबाङले आफ्नो सुन्दरता गुमाउँदै लगेको छ । ‘सडकका खाल्टाखुल्टीमा पानी जमेको छ, विद्यालय आउजाउ गर्ने बालबालिकालाई पनि अति नै सास्ती छ,’ उनी सुनाउँछन् । 

अब मर्मत गर्छौँ : नगरप्रमुख
रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले संघीय सरकारको बजेटबाट कालोपत्रे एवं मर्मत गर्दा बजार क्षेत्र र जलजला क्याम्पस रोड छुटेको बताए । ‘सदरमुकामआसपासका १२ वटा सडक एकैपटक कालोपत्रे तथा मर्मत गरिएका थिए, त्यसवेला दुईवटा सडक छुटेका थिए,’ नगरप्रमुख घर्तीले भने, ‘पहिले सडक विभागबाट पनि मर्मत भएको थियो, अब कसैले नगरेपछि नगरपालिकाले नै गर्छ ।’ उनले बजार क्षेत्रको सडक र नाली सफाइका लागि सडक विभागको बजेटसँग साझेदारी गरेर काम गर्ने बताए ।

सडकको जथाभावी पार्किङले पनि अस्तव्यस्तता बढाएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय रोल्पा र नगरपालिकाले पार्किङका लागि निश्चित क्षेत्र निर्धारण गरेको थियो । पार्किङ केही व्यवस्थित हुँदा बजार पनि सुन्दर देखिएको थियो । तर, उक्त व्यवस्थापन लामो समय टिक्न सकेन । जथाभावी पार्किङलाई व्यवस्थापन गर्नुपर्नेमा प्रशासन तथा नगरपालिका उदासीन भएको स्थानीयको आरोप छ । बजारको सुन्दरतालाई बचाइराख्न सडक मर्मत, पार्किङ व्यवस्थापन, सडकपेटीसम्म बेच्न राखिएका सामान हटाउने, नाली मर्मतलगायतका काम गर्नुपर्ने स्थानीय बताउँछन् ।