
विश्वको सबैभन्दा ठुलो जलविद्युत् योजनाको बाँध निर्माण कार्य सुरु भएको छ । शनिबार निर्माण कार्यको घोषणा गर्दा चीनका प्रधानमन्त्री ली छियाङले यसलाई ‘एक शताब्दीमा एकपटक बन्ने खालको परियोजना’को संज्ञा दिए । यो विशाल संरचना तिब्बतको यार्लुङ स्याङ्पो नदीमा बन्नेछ ।
परियोजना चीनको १४औँ पञ्चवर्षीय योजनाको हिस्साका रूपमा सन् २०२० मा पहिलोपटक घोषणा गरिएको थियो । केही समयको अनिश्चिततापछि अन्तत: परियोजना बन्न सुरु भएपछि शनिबार चिनियाँ बजारमा केही वृद्धि देखिएको थियो ।
यो विशाल बाँध निर्माण सुरु भएपछि नदीको तल्लो भेगमा पर्ने भारत र बंगलादेशमा भने चिन्ता बढेको छ । केही वातावरणविद्ले यस परियोजनाको आलोचना गरेका छन् । चीनको सरकारी समाचार माध्यम सिह्न्वाका अनुसार लीले घोषणा गरेको परियोजनामा पाँचवटा बहावमा आधारित जलविद्युत् केन्द्र रहनेछ ।
परियोजनाको कुल निर्माण लागत लगभग १.२ ट्रिलियन युआन (१२४ अर्ब डलर) रहने र ६० हजार मेगावाट क्षमताको योजनाबाट वार्षिक तीस करोड मेगावाट–घण्टा बिजुली उत्पादन हुनेछ । तुलनाका लागि हालको विश्वको सबैभन्दा ठुलो जलविद्युत् परियोजना ‘थ्री गर्जेज’को निर्माण लागत २५४.२ अर्ब युआन थियो भने यसले आठ करोड ८२ लाख मेगावाट–घण्टा बिजुली उत्पादन गर्छ । सिह्न्वाले प्रदान गरेको उल्लिखित तथ्यांक सन् २०२० को प्रारम्भिक अनुमानभन्दा बढी हो । यसबाहेक निर्माण सकिने अवधि तथा यसबाट प्रभावित हुने क्षेत्रबारे भने थप विवरण दिइएको छैन ।
हाल विश्वको सबैभन्दा ठुलो कार्बन उत्सर्जक मुलुक चीनले उत्सर्जन घटाउन कैयौँ महत्वाकांक्षी योजना अघि बढाइरहेको छ । यसअन्तर्गत विशाल जलविद्युत् परियोजनाहरू पनि धमाधम बनिरहेका छन् । चीनमा दसौँ हजारको संख्यामा जलविद्युत् परियोजना छन्, जुन विश्वका अन्य कुनै देशको भन्दा धेरै हो । यार्लुङ स्याङ्पोमा अब बन्ने विशाल बाँध नदीको ‘यू’ आकारको मोडमा रहेको घाटी क्षेत्रमा बनाइनेछ । त्यस भागमा करिब ५० किलोमिटरको अन्तरमा नदी दुई किलोमिटर तल झरेको छ । यसबाट उत्पन्न हुने विशाल शक्तिलाई जलविद्युत् शक्तिमा उपयोग गर्न सकिने विगतको अध्ययनले देखाएको थियो ।
तर, यार्लुङ स्याङ्पोको तल्लो भेगमा रहेका भारत र बंगलादेशले भने परियोजनाप्रति चिन्ता व्यक्त गरेका छन् । विशेषत: भविष्यमा चीनले हाल बन्ने विशाल बाँधीलाई पानीलाई रोकेर राख्न वा अन्यत्र मोड्न प्रयोग गर्ने हो कि भन्ने तिनको प्रमुख डर छ । हाल बाँध बन्न लागेको क्षेत्रको केही दक्षिण लागेपछि नदी भारतमा प्रवेश गर्छ । त्यहाँ यो नदी ब्रह्मपुत्र नामले चिनिन्छ । अरुणाचल प्रदेश र असम राज्य हुँदै यो अन्तत: बंगलादेश पुग्छ, जहाँ यो जमुना नदीका नामले चिनिन्छ ।
‘चीनले यस बाँधमार्फत नदी रोकेर वा मोडेर जुनसुकै वेला यसलाई हतियारका रूपमा प्रयोग गर्न सक्छ,’ पार्ली पोलिसी इनिसिएटिभका दक्षिण एसियाका लागि विशेष सल्लाहकार नीरज सिंह मन्हासले जनवरीमै बिबिसीलाई भनेका थिए । भारत सरकारले पछिल्लो समय डिसेम्बरमा र जनवरीमा दुई देशका विदेशमन्त्रीबिचको द्विपक्षीय बैठकमा बेइजिङसँग औपचारिक रूपमा यस नदीमा बन्न लागेको बाँधबारे चिन्ता जाहेर गरेको थियो ।
जवाफमा, चीनले आफूले ‘पानीमाथि प्रभुत्व’ नखोजेको बताउँदै कहिल्यै पनि ‘आफ्ना छिमेकीलाई अहित हुने गरी आफ्नो फाइदा’ नखोज्ने बताएको थियो । ‘चीनले नदीका तल्लो भेगका राष्ट्रसँग हालको सञ्चार च्यानल जारी राख्नेछ र प्रकोप रोकथाम तथा न्यूनीकरण कार्यमा सहयोग बढाउनेछ,’ चीनका विदेश मन्त्रालयका प्रवक्ताले डिसेम्बरमा भनेका थिए ।
तिब्बती समूहले नदीको किनारमा पवित्र स्थलहरूको उपस्थिति र सम्भावित जनसंख्या विस्थापनप्रति ध्यानाकर्षण गराएका छन् ।
चीनमा केही जलविद्युत् परियोजनाको निर्माणले स्थानीयको विरोध पनि निम्त्याउने गरेको छ । जस्तो– गत वर्ष याङ्त्जे नदीको माथिल्लो भागमा रहेको ‘कामटोक बाँध’को ठुलो विरोध भएको थियो, जसमा सयौँ मानिसलाई पक्राउ गरिएको थियो । बाँधले हजारौँ बासिन्दा विस्थापित गर्ने र प्राचीन बौद्ध मठसमेत डुबाउने खतरा रहेको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए । विश्वको सबैभन्दा ठुलो विद्युत् परियोजना ‘थ्री गर्जेज’को बाँध निर्माण हुँदा लगभग १५ लाख मानिस विस्थापित भएका थिए ।
द गार्जियनबाट