
पोखरा लिचीघारीको जग्गा विवादमा घुस ‘डिल’मा नाम जोडिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले बिचौलियासँग भेटेको स्वीकार गरेका छन् । बिचौलिया सुजन लामासहितको टोलीले मन्त्री अधिकारीलाई ३२ लाख घुस बुझाएको अडियो सार्वजनिक भएपछि बिहीबार पत्रकार सम्मेलन गरेर उनले लामालगायत दुई–तीनजनालाई भेटेको स्वीकार गरेका हुन् ।
पोखराका मालपोत प्रमुखको सरुवाको सम्बन्धमा लामालगायत दुई–तीनजनाको टोलीसँग भेट भए पनि घुस लेनदेनमा भने संलग्न नभएको उनको दाबी छ । लामा उनै व्यक्ति हुन् जोसँग घुस ‘डिल’ गरेकै कारण मन्त्री गुप्ता राजीनामा दिन बाध्य भएका थिए । गुप्ता–बिचौलिया घुस ‘डिल’ अडियोमा मन्त्री अधिकारीले पैसा बुझिसकेको भनेर गुप्ताले नै पोलेका छन् ।
‘रामचन्द्र अधिकारी (पोखरा मालपोतका तत्कालीन प्रमुख)को सरुवा भइसकेपछि उसलाई थमाइदिनुपर्यो भनेर दुई–तीनजना मान्छे लिएर आउनुभाथ्यो,’ उनले मन्त्रालयमै आयोजना गरेको पत्रकार सम्मेलनमा भने । तर, उक्त टोलीलाई आफूले सरुवा भइसकेको कर्मचारी थमौती नहुने प्रस्ट जवाफ दिएको बताए । ‘मैले हुँदैन भनेपछि उहाँ (लामा) गर्दिनुपर्यो भन्दै हुनुहुन्थ्यो,’ उनले भने, ‘योचाहिँ हुँदैन, प्रक्रियाबाट गएको कुरा हो, कर्मचारीहरू जाने–आउने कुरा गर्छन् भनेँ । त्यसपछि उहाँहरू जानुभो ।’ उक्त घटनाअघि भने लामासँग भेट, चिनजान र कुराकानी नभएको मन्त्री अधिकारीको दाबी छ ।
अभीष्ट पूरा भएन भन्ने हिसाबले मालपोत अधिकृतलाई फिर्ता गराउनका निम्ति आफूकहाँ आएका, तर आफूले हुन्न भनेपछि विषयहरू बाहिर आएको उनको दाबी छ । ‘किनभने मालपोत अधिकृतहरू पुसमा सारिएको छ, अडियो अहिले आएको छ । कुन नियतबाट ल्याइयो भन्ने प्रश्न हो,’ उनले भने । मालपोत प्रमुख अधिकारीले केही काम गरिदिन्छु भनेको हुनुपर्ने उनीहरूका गतिविधिबाट आफूले अनुमान लगाएको पनि मन्त्री अधिकारीले खुलाए । ‘कसले के गर्न खोज्या छ, कसले के गर्छु भन्छ, हामीलाई थाहा हुने कुरा होइन नि । कि हामीसँग आएर भनेको हुनुपर्यो,’ उनले भने । मालपोतमा अधिकारीको थमौती नगरिदिएपछि लामाको टोली अयन्त्र गएको सुन्नमा आएको पनि मन्त्री अधिकारीले बताए । तर, लामासँग भूमि आयोगका विषयमा कुनै कुरा नभएको उनले बताए ।
यही काण्डमा मन्त्रीबाट राजीनामा दिन बाध्य गुप्ताले सार्वजनिक अडियोमा आफूलाई पोलेको विषयमा पनि मन्त्री अधिकारीले प्रस्टीकरण दिएका छन् । ‘पूर्वमन्त्रीले आफ्नो इच्छाले कसरी बोल्नुभो, त्यो मसँग कुरा भएर बोल्नुभएको पनि छैन, मसँग आउनुभएको पनि छैन, यो गर्दे भन्नुभएको पनि छैन । उहाँले कुन अन्दाजमा गर्नुभएको होलाजस्तो लाग्छ,’ उनले भने ।
आफ्नो मन्त्रालयअन्तर्गतका कर्मचारी भटाभट सरुवा गरेको सम्बन्धमा भने गुप्तालाई सचेत गराएको उनले बताए । ‘मैले हाम्रा कर्मचारी सार्दा तपाईंले सोध्नुपर्छ, नसोधीकन गर्दा हामीलाई अप्ठ्यारो भो भनेको थिएँ । निवेदन भनिएको र केही पनि नभएको अवस्थामा भकाभक आफ्नो मन्त्रालयअन्तर्गतका कर्मचारी सार्ने कुराले राम्रो सन्देश नजाने भनेको थिएँ,’ उनले भने ।
मन्त्री अधिकारीले आफू उम्किने प्रयास गर्दै गुप्तामाथि मात्र दोष थुपारे । ‘उहाँले उताबाट काम गर्नुभो, के–के कुरा गरेर उहाँले म सार्दिन्छु भन्नुभो होला, के भन्नुभो होला, त्यो मसँगको कुरा भएन,’ गुप्ताबारे उनले भने । जाँड खाएको मान्छेलाई जबर्जस्ती आफूमाथि पैसा खाएको आरोप लगाएर अडियो बनाएको र त्यतिले नभएर छोरालाई पनि जोड्ने काम भएको उनको दाबी छ । ‘म मन्त्री भइसकेपछि एकपटक बाबालाई भेट्छु भनेर छोरो आएको हो, उसले सुजन लामासँग भेटेको, कुरा गरेको र उसलाई चिनेको छैन,’ उनले भने, ‘यो शुद्ध चरित्रहत्या गर्ने प्रयास हो ।’
अडियोमा मेरो आवाज, आफूले पैसा मागेको, केही गरिदिन्छु भनेको कसैले फेला पारेर आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको मन्त्री अधिकारीले बताए । ‘छानबिन गर्ने कुरामा म ओपन छु । किनभने म संलग्न छैन, बोलेकै छैन, चिनेकै छैन, कुरा गरेकै छैन । त्यसै आरोप लगाएर हुन्छ ?’ उनले प्रश्न गरे ।