
संयुक्त राज्य अमेरिकाले बिहीबार कस्मिरमा अप्रिलमा भएको आक्रमणका लागि दोषी ठहराइएको एक रहस्यमय समूहलाई आतंकवादी घोषणा गरेको छ । ती आतंकवादीहरूले गरेको आक्रमणले दशकौँमा भारत र पाकिस्तानबिच सबैभन्दा खराब द्वन्द्वलाई जन्म दिएको थियो ।
विदेशमन्त्री मार्को रुबियोले द रेजिस्टेन्स फ्रन्ट (टिआरएफ)लाई पाकिस्तानमा आधारित संयुक्त राष्ट्रसंघद्वारा नामित आतंकवादी समूह लस्कर–ए–तैयबा (एलइटी) को ‘फ्रन्ट र प्रोक्सी’का रूपमा वर्णन गरेका छन् ।
‘आतंकवादी नामकरणले हाम्रो राष्ट्रिय सुरक्षा हितहरूको रक्षा गर्न, आतंकवादविरुद्ध लड्न र पहलगाम आक्रमणको न्यायका लागि राष्ट्रपति (डोनाल्ड) ट्रम्पको आह्वानलाई कार्यान्वयन गर्न ट्रम्प प्रशासनको प्रतिबद्धता प्रदर्शन गर्छ,’ रुबियोले विज्ञप्तिमा भने ।
विभाजित कस्मिरको भारत प्रशासित क्षेत्रको पर्यटकीय केन्द्र पहलगाममा अप्रिलमा बन्दुकधारीहरूले लगभग सबै हिन्दुसहित २६ जनाको गोली हानी हत्या गरेका थिए ।
बाँचेका व्यक्तिहरूले पत्रकारहरूलाई बन्दुकधारीहरूले महिला र बच्चाहरूलाई अलग गरेको र केही पुरुषलाई मुस्लिम आस्थाको घोषणा गर्न आदेश दिएको बताए ।
भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले शुक्रबार वासिङ्टनको कार्य ‘भारत–अमेरिका आतंकवादविरोधी सहयोगको बलियो पुष्टि’ भएको बताएका छन्।
पहलगाम आक्रमणको सुरुमा जिम्मेवारी लिएको टिआरएफबारे पहिले थोरै मात्र थाहा थियो । तर, हत्यालाई लिएर सार्वजनिक आलोचना बढ्दै जाँदा समूहले आफ्नो दाबी फिर्ता लिएको थियो ।
भारतले टिआरएफलाई आतंकवादी संगठनका रूपमा घोषणा गरेको छ र भारतस्थित अब्जर्भर रिसर्च फाउन्डेसन थिंक ट्याङ्कले यसलाई ‘स्मोकस्क्रिन र एलइटीको अफसुट’ भनेको छ ।
नयाँदिल्लीले पाकिस्तानमाथिकाे आक्रमणलाई समर्थन गरेको आरोप लगाएको छ । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ ।
पहलगाम हिंसाले दुई छिमेकीबिच चार दिनसम्म चलेको लडाइँलाई उक्साएको थियो । उक्त लडाइँमा दुवै पक्षका ७० जनाभन्दा बढी मानिस मारिएका थिए । यो सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो । रासस