
कालीगण्डकी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका– १, लामगरामा तटबन्ध निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले लामगरास्थित सेतोढुंगादेखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुँदै तलतर्फ कालीगण्डकी नदी किनारमा ७० लाख बजेटबाट १५० मिटर तटबन्ध गरेको हो ।
उक्त कार्यालयका इन्जिनियर नरजंग गुरुङका अनुसार तटबन्धमा प्रयोग भएको ग्याबियन तारजालीलाई खिया लाग्नबाट बचाउनका लागि केही भागमा प्लास्टर गरेर ‘ज्याकेटिङ’ गरिएको छ । तटबन्ध गरिएपछि लामगराका ५० परिवारले सुरक्षित महसुस गरेका छन् । लामगराको बस्ती, सयौँ रोपनी खेतीयोग्य जमिन, लामगरा–मिलनचोक झोलुंगे पुल र रत्नेचौर लिफ्ट खानेपानी योजनाको ट्यांकी संरक्षण गरेको उपभोक्ता समितिका अध्यक्ष कमल थापाले बताए । यो बस्ती सागसब्जीको पकेट क्षेत्र हो ।