
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नीति तथा कार्यक्रम र बजेट पेस गर्ने गरी २९ असारलाई १७औँ नगरसभा अधिवेशन बोलाएका छन् ।
शुक्रबार बसेको ४०औँ कार्यपालिका बैठकमा मेयर शाहले एक मात्र एजेन्डा प्रस्तुत गर्दै आइतबार दिउँसा २ बजे नगरसभा बैठक बोलाएका हुन् ।
सो दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने मेयर शाहले बताए । बैठकका लागि २४ वटा एजेन्डा गए पनि नगरसभासम्बन्धी एउटा मात्र विषय मेयर शाहले प्रस्तुत गरे । बैठक सभागृहमा बस्नेछ ।
शुक्रबार बसेका नगर कार्यपालिका बैठकमा मेयर शाहले छोटो सम्बोधन गरी मिति तोकर बैठक सम्पन्न भएको घोषणा गरे । तर, मेयर शाह उठेर हिँडेपछि बजेट तर्जुमा समितिको बैठक बसिरहेको छ ।
पछिल्लो सात महिनायता महानगरको कार्यपालिका बैठक बस्न सकेको थिएन । काठमाडौं भ्युटावरको नक्सापासको विषयमा प्रमुख प्रशासकीय अधिकृत र मेयरबिच विवाद उत्पन्न भएको थियो । सो विषयले अन्य जनप्रतिनिधि र मेयर शाहबिच समेत विवाद बढेको थियो । विवादकै कारण १० असारभित्रै पेस गर्नुपर्ने नीति तथा कार्यक्रम र बजेट अन्तिम असारसम्म धकेलिएको हो ।