
काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक सम्पन्न भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो। बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
बैठकमा प्रमुख शाहले जनचाहनाअनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन थियो। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णयसमेत गरेको छ। शुक्रबार बस्ने ४०औँ नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभामार्फत बजेट सार्वजनिक गर्नेछ।
नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्नेछिन् । बैठकमा राजस्व परामर्श समितिका संयोजक, सदस्य, सदस्यसचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।