मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २६ बिहीबार o८:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत, उसुका विजयले पाए ६५ लाख

सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री ओली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार o८:१३:oo

सरकारले उसुका खेलाडी विजय सिँजालीलाई ६५ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ । उसुको तेस्रो थाउलो विश्वकपमा नेपालका लागि कांस्य पदक जितेका विजयलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो । प्रधानमन्त्री केपी ओलीले बुधबार एक कार्यक्रमबिच उनलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् । नेपालको उसु इतिहासमा विश्वकपमा कांस्य जितेको त्यो नै पहिलोपटक थियो । 

सरकारले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि बनाएरै अन्तराष्ट्रिय एरिनामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार विजयले पुरस्कार प्राप्त गरेका हुन् । गत वर्ष ७ देखि १२ कात्तिकसम्म जापानमा भएको विश्वकपमा थाउलोको चेनसु विधामा उनले कांस्यले जितेका थिए । प्रतियोगितामा उनले ९.६३६ अंक जोड्दै नेपालका लागि ऐतिहासिक कांस्य पदक दिलाए । 

उनको विधामा प्रतिस्पर्धा गरेका मलेसियाका खेलाडीले स्वर्ण र जापानका खेलाडीले रजत पदक हात पारेका थिए । सन् २०१९ मा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा उनले उसुतर्फ स्वर्ण जितेका थिए । उनी विभागीय टोली त्रिभुवन आर्मीका खेलाडी हुन् । यसैबिच प्रधानमन्त्री ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान र पुरस्कार प्रदान गरेका छन् ।

कबड्डीका खेलाडीले पाए जनही एक लाख ५० हजार
सरकारले छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा कांस्य जितेका प्रत्येक खेलाडीलाई जनही एक लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । इरानमा गत वर्षको २० देखि २५ फागुनसम्म भएको कबड्डी च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हात पारेको थियो । गत वर्षकै २० देखि २६ असोजसम्म श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबलमा रजत पदक विजेता टोलीलाई समान नगद तीन लाख प्रदान गरिएको छ । अन्तर्राष्ट्रियस्तरमा पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ मा व्यवस्था अनुसार ९ असारमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार सम्मान गरिएको हो ।

कराँतेलाई उपेक्षा गरिएको भन्दै महासंघको गुनासो
नेपाल कराँते महासंघले सरकारद्वारा कराँते खेल र खेलाडीलाई बेवास्ता गरेको जनाएको छ । महासंघका अध्यक्ष युवराज लामाले अन्तर्राष्ट्रिय सफलताका बाबजुद सम्मान नपाएको आरोप लगाएका छन् । महासंघले सबै खेललाई समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पछिल्लो एक वर्षमा कराँते खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गरेको छ । तर, सरकारले नगदसहित सम्मान गर्दा कराँतेका एकजना खेलाडी पनि सम्मानित भएनन् । 

महासंघका अध्यक्ष लामाले सरकारले सीमित खेललाई मात्र प्राथमिकतामा राखी अन्य खेलप्रति विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन् । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा कराँते खेलाडीलाई न त शुभकामना दिइन्छ, न सम्मान वा पुरस्कार,’ उनले भनेका छन्, ‘अर्कोतर्फ, केही खेलमा सामान्य उपलब्धिमै लाखौँ रुपैयाँ पुरस्कार घोषणा हुने गरेको छ ।’ यसै साता नवौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा नेपालले २१ स्वर्ण, नौ रजत र २० कांस्य पदकसहित कुल ५० पदक जितेर ऐतिहासिक सफलता हासिल गरेको थियो । ऐतिहासिक उपलब्धिमा सरकार वा खेलकुद निकायबाट कुनै आधिकारिक सम्मान वा पुरस्कारको घोषणा नभएको महासंघको भनाइ छ ।

सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री ओली 
खेलाडीको सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रको विकासका लागि सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताएका छन् । ‘सरकारले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको छ,’ उनले भने, ‘अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको छ । अब खेलाडी व्यावसायिक रूपमा अगाडि बढेका छन् ।’