
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गुरुयोजनाअनुसार सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरणका लागि जग्गा उपलब्ध गराउन आयल निगमले नागरिक उड्डयन प्राधिकरणलाई ताकेता गरेको छ । विगतमा पनि पत्राचार गर्दै आएको निगमले पछिल्लोपटक मंगलबार पुन: पत्र लेख्दै डिपो स्थानान्तरण हुने गुह्येश्वरीस्थित जग्गा खाली गरिदिन आग्रह गरेको हो ।
आयल निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालय प्रमुख प्रदीप यादवले गरेको पत्राचारमा मुख्य गरी चारवटा विषयमा प्राधिकरणको सहजीकरण खोजिएको छ । करिब ५० रोपनी जग्गाको चारकिल्ला तोकिदिनुपर्ने, प्रस्तावित निर्माणस्थलमा रहेको करिब दुई सयवटा रुख काटिदिनुपर्ने, सेनाको भवनहरू हटाइदिनुपर्ने र जग्गा भाडासम्बन्धी सम्झौता गरिदिन आग्रह गरेको यादवले जानकारी दिए ।
‘यसअघि भएको समझदारीअनुसार विमानस्थलको उत्तर–पश्चिम कुनामा रहेको जग्गामा नयाँ डिपो बनाउन हाम्रोतर्फबाट विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने काम टुंगिन लागेको छ, तर प्राधिकरणले खाली जग्गा उपलब्ध गराउन सकेको छैन,’ उनले भने, ‘तत्काल जग्गा उपलब्ध भए डिपिआरअनुसार परियोजना निर्माणका लागि टेन्डर प्रक्रिया थालिहाल्ने थियौँ ।’
हाल सिनामंगलमा रहेको कार्यालय भने विमानस्थल विस्तार गुरुयोजनाअनुसार भत्काएर ‘रन वे’ बनाउने प्राधिकरणको योजना छ । निगमले यसअघि भोगचलन गर्दै आएको केही जग्गाको संरचना भत्काएर प्राधिकरणले रनवे विस्तारको कामसमेत थालिसकेको छ । त्यसैले, हालको डिपो स्थानान्तरण गर्न नयाँ ठाउँमा छिटो नयाँ डिपो बनाउनुपर्ने बाध्यता निगमलाई छ ।
हालको डिपो रन वेबाट धेरै नजिक रहेकाले आकस्मिक दुर्घटना भएर इन्धन ट्यांकीमा क्षति भए ठुलो नोक्सानी हुने जोखिम छ । त्यसैले उक्त स्थानबाट डिपो स्थानान्तरण गर्न प्रधानमन्त्री केपी ओली र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समेत निर्देशन दिइसकेका छन् ।