
जटिल रोगका बिरामीले अब दुई लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी यो सुविधा थप गर्ने निर्णय गरेको छ ।
हालसम्म जटिल रोगका बिरामीलाई एक लाख रुपैयाँको बिमा सुविधा दिँदै आएको सरकारले अब त्यसमा थप एक लाख रुपैयाँ दिने तयारी गरेको हो । मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले यो सुविधा पाउनेछन् । यसअघि स्वास्थ्य बिमाका हरेक बिमितले जस्तै उनीहरूले पनि एक लाखको उपचार सुविधा पाउँथे ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जटिल रोगले थलिएका बिरामीलाई राहत पुर्याउने उद्देश्यले बिमा रकम वृद्धि गरिएको बताए । ‘कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडालाई सम्बोधन गर्न १ साउनदेखि लागू हुने गरी आठ प्रकारका जटिल रोगका बिरामीलाई दुई लाखसम्मको स्वास्थ्य बिमा सुविधा प्रदान गरिनेछ,’ उनले भने । मन्त्रालयले स्वास्थ्य बिमा बोर्डलाई पत्र पठाएर यो निर्णय कार्यान्वयनमा ल्याउन निर्देशन दिइसकेको छ । मंगलबार बसेको बोर्डको बैठकले पनि यही निर्णयलाई अनुमोदन गरेको छ ।
यसपटकदेखि बिमितले आफू बसेकै स्थानबाट स्वास्थ्य सेवा लिन मिल्ने गरी ‘प्रथम विन्दु’ सुविधासमेत व्यवस्था गरिएको छ । यसले सेवा लिन सहज बनाउने मन्त्री पौडेलको विश्वास छ । ‘स्वास्थ्य बिमा थप परिष्कृत गर्दै आमनागरिकको पहुँच बढाउने हाम्रो प्रयास जारी रहनेछ,’ उनले भने, ‘हामीले बिमालाई सहज बनाउन यसको स्रोतहरू औँल्याइसकेका छौँ, राज्यलाई थप भार नपर्ने र दिगो हुने गरी बिमालाई भरपर्दो र व्यवस्थित गर्दै छौँ ।’ मन्त्री पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमा कोषको आयस्रोत बढाउन सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई बिमामा आबद्ध गराउने तयारी गरिरहेको छ । सो विषय स्वास्थ्य बिमा ऐनमा समेत उल्लेख छ । साथै, वैदेशिक रोजगारीमा रहेका नागरिक र उनीहरूको परिवारलाई समेत बिमामा ल्याउने पहल गरिएको छ ।
हाल बिमा बोर्डले विभिन्न स्वास्थ्य संस्थालाई १६ अर्बहाराहारी रकम भुक्तानी गर्न बाँकी छ । सो भुक्तानी नहुँदा कतिपय सरकारी अस्पतालहरूको आम्दानीमा समेत समस्या देखिएको छ । मन्त्रालयले अर्थ मन्त्रालयसँग यसबारेमा पहल गरेको र छिट्टै बक्यौता तिर्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार यो रकम बिमा बोर्डको स्रोतमै समावेश गरिएको छ । बोर्डले आन्तरिक खर्च मिलान गरेर भए पनि जटिल रोगका बिरामीलाई सेवा दिँदा लाग्ने थप व्ययभार व्यवस्थापन गर्न सकिने आकलनसमेत गरेको छ । बोर्डको प्रारम्भिक तथ्यांकअनुसार हाल नेपालमा जटिल रोगका उपचार गराइरहेका नौ हजारभन्दा बढी बिरामीले यस्तो प्रकारको सेवा लिनेछन् । सरकारले स्वास्थ्य बिमाबापत सबैलाई एकै प्रकारको सुविधा दिँदै आए पनि अब भने जटिल रोग लागेका बिरामीलाई थप राहत दिने गरी यस्तो नियम ल्याएको हो ।
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जटिल रोगका बिरामीलाई थप सहज होस् भनेर यस्तो सेवा लागू गर्न लागिएको बताए । ‘जटिल रोगका बिरामीलाई राज्यले अन्य शीर्षकमा पनि सहयोग गर्दै आइरहेको छ, तर बिमामा चाहिँ सबैलाई एउटै सुविधा थियो, जटिल रोग लागेका बिरामीलाई अरूलाई भन्दा थप सुविधा दिनुपर्छ भनेर हामीले दुई लाख दिने योजना तय गरेका हौँ,’ उनले भने, ‘यो सेवा धान्न सकिन्छ भनेरै थप गरेका हौँ, बरु आन्तरिक खर्च घटाउने हाम्रो योजना छ ।’
बिमाको भुक्तानी नभए सेवा रोक्ने अस्पतालहरूको चेतावनी
स्वास्थ्य बिमा बोर्डको मातहतमा रहेर देशभर ४८५ वटा स्वास्थ्य संस्थाले बिमाको सेवा दिँदै आइरहेका छन् । त्यसमध्ये ४८ वटा निजी अस्पताल र अन्य सरकारी तथा सामुदायिक स्वास्थ्य संस्था छन् । बिमाको भुक्तानी नभएपछि सरकारी स्वास्थ्य संस्थासमेत समस्यामा छन् । अधिकांश स्वास्थ्य संस्थालाई एक करोडदेखि दुई करोडसम्म भुक्तानी गर्नुपर्ने अवस्था रहेको बोर्डले जनाएको छ । सरकारबाट बिमाबापतको भुक्तानी नभएपछि सरकारी अस्पताललाई पनि आर्थिक समस्या निम्तिएको छ । वज्रबाराही चापागाउँ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अंकुर पौडेलले बिमाको डेढ करोड भुक्तानी नहुँदा अस्पताललाई कठिन भएको बताए । ‘हामीसँग बजेट पनि थोरै हुन्छ, भएको धेरैजसो बजेट चालूमा खर्च हुन्छ,’ उनले भने, ‘अझ बिमाको रकम पनि समयमा आएको छैन, यस्तो अवस्थामा आर्थिक व्यवस्थापन कठिन हुने गरेको छ ।’ बोर्डका कार्यकारी निर्देशक डा. काफ्लेका अनुसार हाल ती स्वास्थ्य संस्थाहरूलाई १६ अर्ब रकम भुक्तानी गर्न बाँकी छ । अधिकांश स्वास्थ्य संस्थाहरूले बिमाको भुक्तानी माग गर्दै पटकपटक पत्रसमेत पठाएका छन् । तर, बोर्डले अर्थ मन्त्रालयबाट बजेट नआएसम्म भुक्तानी गर्न नसक्ने उनको भनाइ छ । ‘हामीसँग बजेट छैन, अर्थले बजेट दियो भने मात्रै भुक्तानी गर्न सकिन्छ,’ उनले भने, ‘कतिपय सेवाप्रदायक स्वास्थ्य संस्थाले भुक्तानी पुगेन भने सेवा रोक्नेसम्मको चेतावनी दिएका छन्, असारको अन्तिमसम्म भुक्तानी माग गरिरहेका छन्, यसबारे स्वास्थ्य मन्त्रालयलाई पनि जानकारी गराइसकेका छौँ ।’
काफ्लेका अनुसार हाल देशभर स्वास्थ्य बिमा गराउनेको संख्या ६५ लाख पुगेको छ । त्यसमध्ये उपचार सेवा लिने बिरामी संख्या झन्डै ३० लाखहाराहारी छ । बिमा गरेकामध्ये झन्डै ५० प्रतिशले बिमामा उपचार गराउने भएकाले यसको व्ययभार जटिल अवस्थामा रहेको बोर्डले जनाएको छ । पछिल्लो समय बिमामा सरकारले ठुलो रकम खर्च गरिरहेको अवस्थामा बोर्डले विभिन्न स्रोत सुनिश्चित गर्नुपर्ने विकल्प पनि सरकारलाई पेस गरेको छ । सरकारको हालको दायित्व नबढ्ने गरी थुप्रै उपाय सुझाएर ठोस प्रस्ताव बोर्डले स्वास्थ्य मन्त्रालयलाई पठाएको काफ्लेले जानकारी दिए ।