मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Wednesday, 09 July, 2025
एन्ड्रयु नाचेमसन
२o८२ असार २५ बुधबार ११:५o:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सबै हारेको थाइल्यान्ड–कम्बोडिया सीमा विवाद

Read Time : > 3 मिनेट
एन्ड्रयु नाचेमसन
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार ११:५o:oo

गत मे महिनामा थाई र कम्बोडियन सेनाबिच सीमा क्षेत्रमा जब पहिलोपटक तनाव बढ्यो, तब दुवै सरकारले यस घट्नाले उराल्ने राष्ट्रवादी भावनाबाट फाइदा लिन सक्ने ठानेका थिए । तर, अहिले थाइल्यान्डको सरकार सोही प्रकरणका कारण विघटनको संघारमा पुगेको छ । त्यहाँकी प्रधानमन्त्री जुलाई १ को देशको संवैधानिक अदालतको निर्णयबाट निलम्बनमा परेकी छिन् । उता, यस घटनापछि कम्बोडियाका प्रधानमन्त्री भने आफ्ना शक्तिशाली बुबाको छायामा रहेको विश्वले देख्यो । 

मे २८ मा थाइल्यान्ड र कम्बोडियाको सीमा क्षेत्रमा गोली चलेसँगै पछिल्लो विवाद सुरु भएको थियो । थाई सैनिकका अनुसार कम्बोडियाको सैनिकले विवादित क्षेत्रमा खाडल खनिरहेको भेटेपछि विवाद सुरु भएको थियो । दुवै पक्षले अर्को पक्षमाथि पहिलो गोली चलाएको आरोप लगाएका छन् । गोलीबारीमा एकजना कम्बोडियन सैनिक मारिए । त्यसपछि दुवै देशका नेताले चर्का बयानबाजीमार्फत घटनाको फाइदा उठाउने प्रयास गरे । 

‘हामी थाई कुनै पनि पक्षबाट दुव्र्यवहार, आरोप वा धम्की सहन गर्दैनौँ । हाम्रो देशको पनि मर्यादा छ,’ थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले घटनालगत्तै भनेकी थिइन् । कम्बोडियाको राजधानी नोम पेन्हमा त हजारौँ मानिस उत्रिएर घटनाको विरोध जनाएका थिए । कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले कम्बोडियाले युद्ध नचाहेको तर आवश्यक परे आफ्नो क्षेत्रीय अखण्डताको रक्षा गर्न सबै उपाय प्रयोग गर्न तयार रहेको चेतावनी दिए ।

३० वर्षभन्दा बढी समयसम्म कम्बोडियामाथि कठोर शासन चलाएका पूर्वप्रधानमन्त्री हुन सेनका जेठा छोरा हुन मानेटले यसअघि सन् २००८ मा सुरु भएको थाइल्यान्डसँगको घातक सीमा विवादकै समयदेखि सार्वजनिक परिचय बनाएका थिए । त्यस वर्षको पे्रह विहार मन्दिरलाई लिएर भएको झडपमा उनले कम्बोडियाको सेनाका सदस्यका रूपमा महत्वपूर्ण भूमिका निभाएका थिए । उक्त विवादमा केही सर्वसाधारणसहित दुवै पक्षका लगभग ४० जनाको मृत्यु भएको थियो । अन्तत: अन्तर्राष्ट्रिय न्यायालयले खमेर साम्राज्यले बनाएको सो मन्दिर कम्बोडियाको भएको फैसला सुनाएपछि विवाद मत्थर भयो । तथापि, अदालतले सुनुवाइमा दुई देशको सीमा क्षेत्र भने सीमांकन गरेन ।

पछिल्लो झडप भएको स्थल विशेष रणनीतिक क्षेत्र होइन, न त यो प्रेह विहारजस्तो सांस्कृतिक मूल्य भएकै ठाउँ हो । तर, इतिहासका विभिन्न बिन्दुमा आफूले गुमाएको क्षेत्रलाई लिएर दुवै देश संवेदनशील हुने गर्छन् । थाइल्यान्डको सन्दर्भमा उसले औपनिवेशिक शक्तिबाट धेरै भूमि गुमाएको थियो भने कम्बोडियाको सन्दर्भमा कुनै वेला त्यस भेगमा रहेको खमेर साम्राज्यले आधुनिक थाइल्यान्डको प्राय: सबै भूमिमाथि नियन्त्रण राख्थ्यो । यिनै भावनाका कारण ससाना भूमिमा पनि दुवै पक्ष पछि हट्न चाहँदैनन् । 

जसरी थाई राष्ट्रवादीहरू युरोपेली शक्तिहरूले विगतमा उनीहरूमाथि गरेको व्यवहारलाई लिएर संवेदनशील रहन्छन्, त्यसरी नै कम्बोडियन राष्ट्रवादीहरू पनि आफ्ना शक्तिशाली छिमेकीबाट हुने अनादर व्यवहारप्रति संवेदनशील रहन्छन्,’ ‘हुन सेन्स कम्बोडिया’ नामक पुस्तकका लेखक सेबास्टियन स्ट्राङ्गियोले भने ।

थाई प्रधानमन्त्री ३८ वर्षीय पेटोङटार्न र कम्बोडियाका प्रधानमन्त्री ४७ वर्षीय हुन मानेट दुवैका पिता कुनै वेला आफ्ना देशका शक्तिशाली प्रधानमन्त्री थिए । उनीहरू क्रमश: सन् २०२४ र २०२३ मा आफ्नो देशको सर्वोच्च पदमा पुगेका हुन् । उनीहरूले सीमा क्षेत्रमा भएको पछिल्लो मुठभेडलाई आफूलाई पिताका प्रभावबाट अलग रहेको प्रमाणित गर्ने मौकाको रूपमा देखेका हुन सक्छन् । त्यसबाहेक पछिल्लो तनावलाई प्रयोग गरेर थाइल्यान्डको अति अलोकप्रिय सेनाले जनसमर्थन बढाउने प्रयास गरेजस्तो देखिन्छ । 

दुई निर्वाचित सरकार अपदस्थ गरेका कारण थाई सेना आमजनतामा अलोकप्रिय छ । पहिलो सन् २००६ मा पेटोङटार्नका बुबा थाक्सिन सिनावात्राको नेतृत्वको सरकार हटाइएको थियो भने दोस्रो सन् २०१४ मा पेटोङटार्नकी सानीमा यिंगलक सिनावात्राको सरकारविरुद्ध कु गरिएको थियो । ती कुका कारण थाइल्यान्ड करिब एक दशक लामो राजनीतिक अराजकतामा फस्यो । 

सन् २०२३ को निर्वाचनमा युवा नेतृत्वको सुधारवादी ‘मुभ फर्वार्ड पार्टी’ सबैभन्दा ठुलो दलका रूपमा उदायो । सो दललाई सरकार गठन गर्नबाट रोकेका कारण सेनाप्रति जनताको आक्रोश झन् बलियो बनेको छ । सेनाकै जोडबलमा सिनावात्रा परिवारको हालिमुहाली रहेको ‘फेउ थाई पार्टी’ र थाक्सिनका लामो समयदेखिका प्रतिद्वन्द्वी अर्थात् सैन्य समर्थक रुढिवादी दलबिच गठबन्धन बन्यो । अहिले पनि सोही गठबन्धनको सरकार छ । सीमा झडपले कमजोर बन्दै गएको सहकार्य केही मजबुत बनेको थियो । तर, जसै प्रधानमन्त्री पेटोङटार्नको हुनसेनसँगको फोन वार्ता लिक भयो, गठबन्धनमा समस्या सुरु भयो । सरकारको सबैभन्दा ठुलो रुढिवादी हिस्साले गठबन्धन छोडिसकेको छ । 

पेटोङटार्न र हुन सेनबिच जुन १८ को कल रेकर्डिङ कम्बोडियन मिडियामार्फत लिक भयो । फोनमा पेटोङटार्नले सीमा विवादमा थाई सेनाको भूमिकाको आलोचना गरेको र हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको कुराले थाइल्यान्डमा ठुलो विवाद निम्त्याएको छ । विशेष देशको रुढिवादी र राष्ट्रवादी हिस्सा उनीसँग चिडिएको छ । सेनाको निलम्बनअघि दिनहुँ बैंककमा उनको राजीनामा माग्दै विरोध भइरहेको थियो । रुढिवादी भूमि जाईथाई पार्टीले गठबन्धन छाडेपछि वर्तमान गठबन्धनसँग संसद्मा सामान्य बहुमत मात्र कायम छ । 

हुन सेनसँगको फोनवार्ता बाहिरिएपछि सत्तारुढ गठबन्धनबाट भुमजाई थाई पार्टी बाहिरिए पनि अर्को सेना समर्थित पार्टी ‘युनाइटेड थाई नेसन पार्टी’ भने अझै गठबन्धनमा नै छ । सायद भोलिका दिन पेटोङटार्न बाहिरिँदा आफ्नो दलका मान्छेले ठुलो पद पाउने आशामा पो रहेको हुन सक्छ । 

उसो त हुन सेनले पहिले पनि आफ्ना राजनीतिक विरोधीलाई कमजोर पार्न रेकर्ड गरिएका कल सार्वजनिक गर्ने गरेको इतिहास छ । तर, सिनावात्रा परिवार र हुन सेनको परिवारबिचको पहिलेको न्यानो सम्बन्धलाई ख्याल राख्दा यस चुहावटलाई धेरैले आश्चर्यजनक माने । आखिर हुन सेन तिनै नेता हुन्, जसले थाक्सिन र यिंगलक दुवैलाई थाइल्यान्डमा कुपछि आश्रय दिएका थिए । 

लेखक स्ट्राङ्गियो पनि हुन सेनले सिनावात्रा परिवारलाई गरेको पछिल्लो विश्वासघातबाट अचम्मित छन् । ‘कम्बोडियाको राजनीतिमा हुन सेनको कुनै स्थायी साथी छैनन्, केवल स्थायी स्वार्थ मात्र छ भनिन्छ । थाइल्यान्डको सैन्य आर्थिक क्षमता कम्बोडियाको भन्दा निकै उच्च भएको तथ्यलाई ध्यानमा राख्दै हुन सेन फोन रेकर्डिङ लिक गरेर थाई नेतामाथि दबाब सिर्जना गर्न सफल भएका छन् ।’

हुन सेनले थाइल्यान्डका रुढिवादीसँग सम्झौता गरेको पनि हुन सक्छ । थाक्सिनसँगको उनको सम्बन्ध केही भिन्न देखिन्थ्यो । यद्यपि उनको जटिल विरासत छ, थाक्सिन एक लोकतान्त्रिक रूपमा निर्वाचित विद्रोही राजनीतिज्ञ हुन् । उनले थाइल्यान्डको अधिनायकवादी स्थापनालाई चुनौती दिँदै आएका छन् । अर्कोतर्फ, हुन सेन दक्षिण–पूर्वी एसियाका सबैभन्दा सफल अधिनायकवादी नेता हुन् । 

पछिल्लो प्रकरणबाट जितको महसुस गरेका हर्षित हुन सेनले एक फेसबुक पोस्टमा थाइल्यान्डले तीन महिनाभित्र नयाँ प्रधानमन्त्री पाउने भविष्यवाणी गरेका छन् । तर, उनको यस रणनीतिले उनको आफ्नै छोरालाई पनि असर गरेको हुन सक्छ । किनकि, यस घटनाले कम्बोडियामा वास्तविक शक्ति कसको हातमा छ भन्ने कुरामाथि प्रकाश पारेको छ । हुन मानेट प्रधानमन्त्री बनेको लगभग दुई वर्षको अवधिमा यसै पनि कम्बोडियनमा थोरैले मात्र उनलाई देशको वास्तविक नेताको रूपमा हेर्दै आएका थिए । अब अन्तर्राष्ट्रिय जगत्मा समेत सो देशको वास्तविक नेता को हुन् भन्ने खुलेको छ । 

–फरेन पोलिसीबाट