
जुन १६ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो यात्रा प्रतिबन्ध सूचीलाई विस्तार गर्दै ३६ थप देश समावेश गर्ने विचार गरिरहेका द न्युयोर्क टाइम्सले खुलासा गर्यो । ट्रम्पले प्रतिबन्ध लगाउने योजना गरेका राष्ट्रमा मेरो जन्मभूमि जिम्बाबेसहित अन्य अफ्रिकी देश छन् । केबल दुई साताअघि ट्रम्पले १२ राष्ट्रका नागरिकलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । तीमध्ये सात राष्ट्र चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सोमालिया र सुडान अफ्रिकाका हुन् ।
राष्ट्रपति ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकमाथि पूर्ण प्रतिबन्धको सट्टा आंशिक यात्रा प्रतिबन्ध लगाए । यी राष्ट्रका नागरिकलाई स्थायी रूपमा अमेरिकामा बसाइँ सर्न वा पर्यटक वा विद्यार्थी भिसा प्राप्त गर्नबाट रोक लगाइएको छ ।
चुनावी अभियानमा वाचा गरिएझैँ ट्रम्पले आप्रवासनमा कडाइ गरिरहेका छन् । मेरो जीवनमा पहिलोपटक म अब अमेरिका यात्रा गर्नबाट प्रतिबन्धित हुने असाधारण सम्भावनाको सामना गरिरहेको छु । अमेरिका एउटा यस्तो देश हो, जहाँ मेरा परिवारका धेरै सदस्य र साथीले निम्तो दिन्छन् । उदाहरणका लागि मेरी काकाकी छोरी डा. अन्ना महकाले आफ्नो चिकित्सा अध्ययन पूरा गरेपछि अमेरिकामा विशेष रूपमा सेवा अभ्यास गरिन् । दुई दशकभन्दा बढी समयदेखि इन्डियानापोलिसमा बस्दै आएकी पूर्वसहपाठी स्पेन्सर माटारे पनि अफ्रिकी मूलकी अमेरिकी नागरिक हुन् ।
ट्रम्प प्रशासनको राजनीतिक प्रतिष्ठा र आप्रवासीको बदनामका बाबजुद अन्ना र स्पेन्सरजस्ता लाखौँ आप्रवासी कानुन पालना गर्ने सदस्य हुन् । मलाई थाहा छ, अफ्रिकाका धेरै मानिस उनीहरूको मार्ग पछ्याउने आशा गर्छन् र ट्रम्पले खडा गरेका आप्रवासनसम्बन्धी बढ्दो अवरोधबाट गहिरो चिन्तित छन् । तैपनि, म तिनीहरूमध्ये एक होइन । सन् १९९७ मा केप टाउन विश्वविद्यालयबाट स्नातक गरेदेखि मैले कहिल्यै अमेरिका यात्रा गर्न इच्छुक महसुस गरेको छैन । म बुझ्छु कि यो केही असामान्य विषय हो ।
म त्यस्तो समय र स्थानबाट आएको हुँ, जहाँ पश्चिमलाई आदर्श बनाइएको थियो । त्यो चाहना केबल मेरो समुदायमा मात्र होइन, बरु अफ्रिकी महादेशभर थियो । सन् २०२४ को अन्तर्राष्ट्रिय आप्रवासी दिवस (डिसेम्बर १८) मा अफ्रोब्यारोमिटरले २४ अफ्रिकी देशको तथ्यांकमा आधारित एक रिपोर्ट सार्वजनिक गर्यो । रिपोर्टअनुसार ४९ प्रतिशत अफ्रिकीले बसाइँ सर्ने विचार गरेका थिए, जसमा उत्तर अमेरिका र युरोप शीर्ष गन्तव्य थिए । यद्यपि एक उल्लेखनीय संख्याले अफ्रिकाभित्रै स्थानान्तरणलाई प्राथमिकता दियो । लगभग ४९ प्रतिशतले राम्रो अवसरको खोजीमा बसाइँ सर्ने चाहना व्यक्त गरे भने २९ प्रतिशतले गरिबी र आर्थिक कठिनाइलाई औँल्याए ।
धेरै अफ्रिकीहरू अझै पनि अमेरिकी सपनामा विश्वास गर्छन । म उनीहरूको रिस गर्दिनँ । अमेरिकाभर अफ्रिकीहरूले व्यापार, शिक्षा र खेलकुदमा सफलता पाएका छन्।डेमोक्य्राटिक रिपब्लिक अफ कंगो (डिआरसी) का तत्कालीन एनबिए स्टार डिकेम्बे मुटोम्बो यसको सफल उदाहरण हुन्। आफ्नो जीवनकालमा मुटोम्बोले किन्सासमा बियाम्बा मारी मुटोम्बो अस्पताल स्थापना गर्न आफ्नो सम्पत्तिको डेढ करोड डलर दान गरे । त्यस्तै, समयमै हेरचाह नपाएर सन् १९९७ मा मृत्युवरण गर्न बाध्य भएकी उनकी आमाको सम्झनामा दुई करोड ९० लाख डलरको चिकित्सा तथा अनुसन्धान केन्द्र स्थापना गरियो । उनकी आमाको दु:खद कथा सामान्य भए पनि त्यसले अफ्रिकाभरि गहिरो जरा गाडेका सामाजिक–आर्थिक चुनौतीलाई प्रतिबिम्बित गर्छन्, बसाइँसराइलाई निरन्तरता दिने अवस्था, अस्तव्यस्त स्वास्थ्य सेवा प्रणाली, समाजमा जरा गाडेको भ्रष्टाचार, बेरोजगारी, गरिबी इत्यादि । यसविपरीत अमेरिका प्राय: शरण स्थानको रूपमा देखा पर्छ ।
अमेरिकामा अश्वेत आप्रवासीसम्बन्धी प्यु रिसर्च सेन्टरको सन् २०२२ को जनवरीमा सार्वजनिक गरिएको प्रतिवेदनले अफ्रिकी मूलका अश्वेत आप्रवासी सबैभन्दा भर्खरका आगमनमा रहेको देखाएको छ । सन् २००० पछि तीनचौथाइ अफ्रिकी अमेरिका पुगेका थिए, जसमध्ये ४३ प्रतिशत सन् २०१० र सन् २०१९ बिचमा पुगेका थिए । क्यारिबियन शीर्ष स्रोत–साधनयुक्त क्षेत्र भए पनि हालैको वृद्धिमा अफ्रिकाले धेरै योगदान पुर्याएको छ । सन् २००० र २०१९ को बिचमा अश्वेत अफ्रिकी आप्रवासीको संख्या २४६ प्रतिशतले बढेको छ (६ लाखबाट २० लाख) । आज, अफ्रिकी मूलका व्यक्तिले विदेशमा जन्मेका अमेरिकाको अश्वेत जनसंख्याको ४२ प्रतिशत ओगटेका छन्, जुन सन् २००० मा २३ प्रतिशत थियो ।
जब मैले पहिलोपटक ट्रम्पको प्रस्तावित भिसा प्रतिबन्धबारे सुनेँ, मलाई गहिरो घृणा लाग्यो । सन् २०१८ का जनवरी ११ मा उनको कुख्यात ‘बकबास देशहरू’ टिप्पणी सम्झन असम्भव थियो । उनको टिप्पणी अफ्रिकी राष्ट्रलाई लक्षित जातीय निन्दाको अर्को कार्य थियो । तर, मैले उनको विभाजनकारी र अस्पष्ट नीतिलाई फरक रूपमा देखेको छु । जनवरी २० मा उनले अफ्रिकी राष्ट्रलाई अमेरिकी सहायता रोके । अब, उनी हामीमध्ये धेरैलाई भिसा अस्वीकार गर्ने तयारीमा छन् । बुर्किना फासोदेखि क्यामरुन र आइभरी कोस्टसम्म नागरिकलाई भिसा नदिने योजनामा ट्रम्प प्रशासन छ । हामीलाई हाम्रो अशान्त जनसंख्याको पूरा नभएका आवश्यकता सामना गर्न बाध्य पार्दै ट्रम्पले अनजानमा अफ्रिकी राष्ट्रलाई ठुलो आत्मनिर्भरतातर्फ धकेल्दै छन् । तर, उनी मात्र ‘अफ्रिकीविरोधी’ राजनीतिमा एक्लै छैनन् ।
अमेरिकी राजनीतिक क्षेत्रमा आप्रवासनविरोधी बयानबाजी तीव्र छ । अफ्रिकीका लागि विद्यार्थी भिसा प्राप्त गर्नु पनि कठिन छ । सन् २०२३ मा उपसहारा अफ्रिकी देशमा अमेरिकी भिसा अस्वीकृति दर सबैभन्दा उच्च थियो, औसत ५७ प्रतिशत । दक्षिणी अफ्रिकाबाहेकका क्षेत्रमा यो अस्वीकृति लगभग १९ प्रतिशत छ । अन्य क्षेत्रमा यो दर बढेर ६१ प्रतिशत पुगेको छ । यो घट्दो अनुमोदनले मलाई असर गर्दैन, किनकि मलाई संयुक्त राज्य अमेरिका भ्रमण गर्ने वा बसोवास गर्ने कुनै इच्छा छैन । तथाकथित ‘स्वतन्त्र भूमि’मा पाइला राख्न मेरो अनिच्छा गहिरो डरबाट उत्पन्न हुन्छ, अमेरिकी प्रहरी क्रूरताको अर्को सिकार बन्ने डर, जुन सन् २०२० को मे २५ मा मिनियापोलिसमा जर्ज फ्लोयडको हत्याबाट संसारले देखेको थियो । मलाई थाहा छ कि अफ्रिकी होस् वा अन्य अश्वेत मानिस धेरैपटक जातिवाद, हिंसा र भेदभावको सिकार हुन्छन् । तर, प्रहरीको जातीय क्रूरताका कारणले मात्र अमेरिकाबाट टाढा रहन खोजेको होइन । अफ्रिकीहरूले त्यहाँ बसोवास गर्नेबारे कहिल्यै विचार नगर्नुका धेरै कारण छन् ।
धेरै अमेरिकीहरू अफ्रिकी महादेशभरका मानिसले सामना गरिरहेका समस्यासँग संघर्ष गरिरहेका छन् । वेस्ट हेल्थ–ग्यालप हेल्थकेयर सूचकांकका अनुसार अमेरिकामा लगभग दुई करोड ९० लाख वयस्कले किफायती स्वास्थ्य सेवा पाउन संघर्ष गरिरहेका छन्, यो चुनौती किन्सासामा पनि उत्तिकै छ, जति अमेरिकाका धेरै भागमा छ । सन् २०२३ मा अमेरिकी जनगणना व्युरोले तीन करोड ६८ लाख अमेरिकी गरिबीमा बाँचिरहेका थिए भनी रिपोर्ट सार्वजनिक गरेको थियो ।
हलिउडले प्रस्तुत गरेको चम्किलो भ्रमका बाबजुद अमेरिका कुनै आदर्शलोक होइन । अन्ना र स्पेन्सरजस्ता मानिस त्यहाँ सफल भए पनि धेरैजसो अफ्रिकीका लागि ‘अमेरिकी सपना’ प्राप्त गर्ने कुनै बाटो छैन । तिनीहरूले आफ्नो भविष्य आफ्नै देशभित्र वा अफ्रिकाका अन्य भागमा खोज्नुपर्छ । ठुलो परिवर्तन आवश्यक छ । आखिर चीनले मात्र ४० वर्षमा व्यापक आर्थिक सुधार हासिल गर्यो । अफ्रिकामा यस्तै परिवर्तन सम्भव छ । कच्चा पदार्थको घरेलु प्रशोधनमा ध्यान केन्द्रित गर्नाले अफ्रिकाले औद्योगिक वृद्धि, रोजगारी सिर्जना र उच्च कुल गार्हस्थ उत्पादनलाई अगाडि बढाउन सक्छ ।
तर, शान्ति र सुशासन पहिले आउनुपर्छ । हाम्रा लगानी प्राथमिकता परिवर्तन हुनुपर्छ । रक्षा र सुरक्षामा पैसा खन्याउनुको सट्टा अफ्रिकी सरकारले कृत्रिम बुद्धिमत्ता, स्वास्थ्य सेवा र वैज्ञानिक अनुसन्धानमा ध्यान केन्द्रित गर्नुपर्छ । हामीले पश्चिमी सहायता, प्रमाणीकरण वा निर्देशनमार्फत आफूलाई परिभाषित गर्न बन्द गर्नुपर्छ । जे आए पनि म मातृभूमिमा रहनेछु । ट्रम्प आफ्नो अमेरिका जोगाउनुहोस्, हामी हाम्रो अफ्रिका बचाउनेछौँ ।
अल–जजिराबाट