मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Wednesday, 09 July, 2025
२o८२ असार २५ बुधबार १o:५४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पहिलो संस्करणको एनपिएल विवादमा : दोस्रो संस्करणको काम नगर्न क्यानलाई छानबिन कार्यदलको निर्देशन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार १o:५४:oo
  • एनपिएलको दोस्रो संस्करण तयारी सुरु भइसकेको छ, सबै फ्रेन्चाइज टोलीले खेलाडी रिटेन र रिलिज गरिसकेका छन्, तर कार्यदलको निर्देशनपछि दोस्रो संस्करणको एनपिएल अन्योलमा परेको छ 
  • खेलकुद मन्त्रालयले रञ्जना प्रधानको संयोजकत्वमा गठन गरेको कार्यदलले क्यानलाई पत्र पठाउँदा राखेपको लेटरहेड अनुमतिविना नै प्रयोग गरेको थियो, मंगलबार विज्ञप्तिमार्फत राखेपले कार्यदललाई परिषद्को लेटरहेड प्रयोग नगर्न निर्देशन दिएको छ

खेलकुद मन्त्रालयले गठन गरेको छानबिन कार्यदलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा छानबिन नसकिँदासम्म नेपाल प्रिमियर लिग (एनपिएल)का कुनै पनि कार्य नगर्न–नगराउन नेपाल क्रिकेट संघ (क्यान)लाई निर्देशन दिएको छ । कार्यदलले आइतबार क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पाँचबुँदे पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो । 

कार्यदलले तेस्रोपटक पठाएको पत्रमा उल्लेखित प्रश्नमा सार्वजनिक खरिद ऐनको उल्लंघन गरेर प्रसारण अधिकार दिएको, स्पष्ट मिति नखुलाएर गोलमटोल बोलपत्र निकालेको, राष्ट्रिय खेलकुद विकास ऐनको प्रावधानविपरीत स्वीकृति नै नलिई विदेशी परामर्शदाता नियुक्त गरेको र स्वदेशी प्रसारण संस्थाले प्रतिस्पर्धा नै गर्न नसक्ने सर्त राखेर सिन्डिकेट गरेको उल्लेख छ । 

कार्यदलले गत १४ जेठ र २१ जेठमा पनि क्यानलाई एनपिएलको सम्बन्धमा जवाफ पठाउन पत्र पठाएको थियो । अख्तियारमा १२ फागुनमा दर्ता भएको उजुरीका सम्बन्धमा खेलकुदमन्त्री तेजुलाल चौधरीले ११ जेठमा मन्त्रीस्तरीय निर्णय गर्दै रञ्जना प्रधानको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । पहिलो र दोस्रोपटक पठाइएको पत्रमा क्यानले चित्तबुझ्दो जवाफ नपठाएको कार्यदलको ठहर छ । संयोजक प्रधानले क्यानका अध्यक्ष चन्दलाई पठाएको पत्रमा कार्यदलमा स्पष्ट जवाफ नआउँदामा कुनै पनि काम नगर्न निर्देशन छ ।

क्यानले दोस्रो संस्करणको एनपिएलको तयारी सुरु गरिसकेको छ । पहिलो संस्करणमा सहभागी सबै फ्रेन्चाइज टोलीले खेलाडी रिटेन र रिलिज गरिसकेका छन् । क्यानले आगामी अगस्टमा एनपिएलको अक्सनको मिति राखेको छ । कार्यदलले क्यान अध्यक्षलाई सम्बोधन गरी पठाएको पत्रपछि दोस्रो संस्करणको एनपिएल आयोजनासमेत अन्योलमा परेको छ । 

मन्त्री चौधरीले गठन गरेको कार्यदलको निर्देशनपछि क्यानले एनपिएल सम्बन्धमा कुनै पनि काम गर्न नपाउने भएको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेस गर्ने र छानबिन कार्य सम्पन्न नहुँदासम्म नेपाल प्रिमियर लिगसम्बन्धी कुनै कार्य नगर्नू/नगराउनू हुनसमेत जानकारी गराइन्छ,’ संयोजक प्रधानले क्यानलाई पठाएको पत्रमा भनिएको छ । 

कार्यदलकी संयोजक रञ्जना प्रधानले मन्त्रालयबाट बनेको कार्यदलले छानबिनबाट बन्ने प्रतिवेदन खेलकुद मन्त्रालयलाई नै बुझाइने जानकारी दिएकी छिन् । यसैबिच मन्त्रालयबाट बनेका कार्यदलको सम्बन्धमा राखेपले भने आफ्नो कार्यक्षेत्रभित्र नपर्ने जनाएको छ । ‘अहिले एनपिएलको विषयमा मन्त्रालयबाट गठन भएको कार्यदलले काम गरिरहेको छ,’ राखेप स्रोतले भन्यो, ‘यसमा हाम्रो हस्तक्षेप हुँदैन । राखेपको यसमा सिधा कुनै संलग्नता छैन ।’ क्यानको आयोजनामा भएको पहिलो संस्करणको एनपिएलमा व्यापक आर्थिक अनियमितता भएको र राज्यको कानुनको उपहास गरिएको भन्दै ०८१ फागुन १२ मा अख्तियारमा उजुरी दर्ता भएको थियो । त्यसपछि खेलकुद मन्त्रालयले एनपिएल आयोजनाका क्रममा भएको अनियमितताको विषयमा छानबिन गर्न ११ जेठमा कार्यदल गठन गरेको थियो । 

कार्यदलद्वारा राखेपको लेटरहेड दुरुपयोग
खेलकुद मन्त्री तेजुलाल चौधरीले गठन गरेको छानबिन कार्यदलले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को लेटरहेड दुरुपयोग गरी क्यानलाई पत्र काटिएको देखिएको छ । कार्यदलकी संयोजक प्रधानले राखेपको लेटरहेड प्रयोग गरी क्यानका अध्यक्ष चन्दलाई छानबिनमा सहयोग गरिदिन भनी पत्र पठाएका हुन् । सो पत्रमा चलानी र दर्ता नम्बर उल्लेख छैन । राखेपले मंगलबारै विज्ञप्ति जारी गरी एनपिएलको पहिलो संस्करणका सम्बन्धमा क्यानलाई आफूहरूले पत्र नपठाएको र कार्यदलबाट लेटरहेड प्रयोग भएको प्रस्ट पारेको छ । 

‘नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो लेटरप्याडमा नेपाल क्रिकेट संघलाई पत्र पठाएको भन्ने विषयमा राखेपबाट नभई कार्यदलबाट लेटरहेड प्रयोग भएको हो,’ राखेपको विज्ञप्तिमा भनिएको छ । 

राखेपले कार्यदललाई आफ्नो सीमाभित्र रहेर काम गर्न र परिषद्को लेटरहेड प्रयोग नगर्न निर्देशन दिएको छ । ‘कार्यदललाई आफ्नो टिओआरभित्र रही काम गर्न र परिषद्को लेटरहेड प्रयोग नगर्न तथा परिषद्प्रति प्रश्न उठ्ने कुनै काम नगर्न पनि निर्देश गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ । 

सात महिनासम्म पनि हिसाबकिताब सार्वजनिक भएन 
गत वर्षको १५ मंसिरदेखि ६ पुससम्म त्रिवि क्रिकेट मैदानमा पहिलो संस्करणको एनपिएल आयोजना भएको थियो । विश्व क्रिकेटमा नाम चलेका क्रिकेटरसमेत सहभागी भएको प्रतियोगिताको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो । एनपिएलको विषयमा अनियमितता र आर्थिक हिसाबकिताबसमेत सार्वजनिक नगरेको भन्दै अख्तियारसम्म उजुरी परेको हो । प्रतियोगिता समाप्त भएको सात महिनासम्म पनि क्यानले आर्थिक हिसाबकिताब सार्वजनिक गरेको छैन । जसका कारण क्यानका केही पदाधिकारीसमेत नेतृत्वसँग खुसी छैनन् । 

‘अहिलेसम्म एनपिएलको आर्थिक पक्ष सार्वजनिक हुनुपर्ने हो । एनपिएलको सबै जिम्मेवारी वहन गरेका व्यक्तिको मनसाय हामीले बुझ्न सकेका छैनौँ,’ क्यानका एक सदस्यले भने । क्यान अध्यक्ष चन्दले कार्यदलबाट पत्र प्राप्त भएको र त्यससम्बन्धी जवाफ पेस गर्न क्यानका सचिव तथा एनपिएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्कालाई भनिसकेको बताए । ‘उहाँलाई मैले चाँडै जवाफ पेस गर्न भनिसकेको छु । तत्कालै सबै बुझाउनुपर्‍यो भनेको छु,’ चन्दले भने ।