
नीतिगत चलखेलका कारण विवादित भूमिसम्बन्धी विधेयक पर्याप्त छलफल नगरी पारित गर्न लागिएकोमा सत्तारूढ दलकै सांसदले चलखेलको आशंका व्यक्त गरेका छन्। आजको संसद् बैठकमा सो विधेयकलाई कार्यसूचीमा राखेपछि कांग्रेस सांसद विश्वप्रकाश शर्माले छलफल गरेर मात्र पास गर्न माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्-
‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’ स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ ! पर्याप्त गृहकार्य नगरी’ सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत हुन लागेकोमा खुला विमति छ !
‘लटरपटरझ नगरौँ, पुर्वसहमति खोजौँ कि
समितिमा पठाऊँ । अन्यथा आजलाई कार्यसूचीबाट हटाइयोस् – भूमि विधेयक !
सो विधेयकमा घरजग्गा कम्पनीले हदबन्दीभन्दा धेरै जग्गा बिक्री गर्न पाउने प्रावधान छ । सो प्रावधानमार्फत गिरिबन्धु टी इस्टेटलगायत निकायले पनि हदबन्दीको जग्गा बिक्री गर्न पाउने व्यवस्था गर्न लागिएको आकलन गरिएको छ। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधेयकउपर संशोधन प्रस्ताव दर्ता गरेका छन् । घरजग्गा व्यवसायीलगायत स्वार्थ समूहकै दबाबमा विधेयक छिटो पास गर्ने चलखेल भइरहेको स्रोत बताउँछ । विधेयक आजै निर्णयार्थ पेस हुने कार्यसूची सार्वजनिक भएपछि सांसद शर्माले त्यसलाई रोक्न माग गरेका हुन्।
पहिला सरकारले अध्यादेशमार्फत यो ऐन संशोधन गर्न लागेकोमा सत्तारूढ दलबाटै विरोध भए पनि विधेयकमार्फत अघि बढाइएको हो।