मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 09 July, 2025
Invalid date format o६:३९:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भोटेकोशीमा आएको बाढीले रसुवागढी तहसनहस, नौजनाको ज्यान लग्यो, १९ बेपत्ता

ड्राइपोर्टमा राखिएका कन्टेनरसहित ६४ सवारीसाधन बगे, मितेरी पुल बगाउँदा टुट्यो रसुवागढी–केरुङ सडक सम्पर्क

Read Time : > 5 मिनेट
Invalid date format o६:३९:oo

भोटेकोशीमा मंगलबार बिहान आएको बाढीले रसुवागढी तहसनहस बनाएको छ ।  बाढीमा बेपत्ता भएकाहरूमध्ये नौजनाको शव फेला परेको छ भने कम्तीमा १९ जना बेपत्ता भएका छन् । मृतकहरूको शव र खुट्टा रसुवा, नुवाकोट र धादिङमा फेला परेको प्रहरीले जनाएको छ । थप बेपत्ताहरूको खोज तथा उद्धार कार्य जारी छ ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ, स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको सडक १४ किलोमिटर क्षेत्रमा ठाउँठाउँमा क्षति पुग्दा अवरुद्ध भएको छ । ड्राइपोर्टमा राखिएका कन्टेनरसहित ६४ सवारीसाधन बगाएको छ । स्थानीय प्रशासनका अनुसार बाढीका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

प्रहरीका अनुसार अझै १९ जना सम्पर्कविहीन छन् । नेपाल प्रहरीका दुईजना, ६ जना चिनियाँ नागरिक  र ११ नेपाली नागरिक बेपत्ता रहेको र खोजबिन जारी रहेका छन् । सेनाको हेलिकोप्टरबाट चार महिलासहित ५७ जनाको उद्धार गरिएको छ । 

भोटेकोशी थुनिँदा मितेरीपुल बगेपछि रसुवागढी नाकाबाट नेपाल–चीन सडक सम्पर्क टुटेको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भने, ‘मितेरीपुलको दायाँबाट आउने ल्हेन्दे खोलाको बाढी  भोटेकोशीमा मिसिने ठाउँमा ठुलो क्षति भयो ।’ 

बाढीले रसुवा भन्सार कार्यालय, टिमुरेको यार्ड/सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि राखिएका ६४ सवारीसाधन पनि बगाएको छ । जसमा सामान लोड गरिएका २३ वटा कन्टेनर ट्रक, ३५ विद्युतीय सवारीसाधन र ६ वटा सिनो ट्रक छन् ।

बाढीले ड्याममा क्षति गर्दा १११ मेगावाटको रसुवागढी जलविद्युत् र बाढीको लेदो पस्दा २० मेगावाटको चिलिमे जलविद्युत्को उत्पादन पूर्ण रूपमा बन्द छ । माथिल्लो त्रिशूली ‘ए’को ६० मेगावाटको जलविद्युत्को ड्याममा पनि क्षति पुगेको छ । 

चीनबाट नेपालका लागि सामान ढुवानी गर्ने चिनियाँ ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिहरूले नयाँ पत्रिकालाई दिएको जानकारी अनुसार सोमबार साँझ र मंगलबार बिहानसम्म केरुङ क्षेत्रमा हल्का मात्रै वर्षा भएको थियो । भोटेकोशी नदीमा ठुलो बाढी आएको छैन, नेपाल–चीन सीमामा बग्ने ठाडो खोला ल्हेन्देमा बाढी आएको हो । जुन खोला मितेरीपुलको दायाँबाट आउँछ र  चीनको केरुङबाट आउने भोटेकोशीमा मिसिन्छ । 

ल्हेन्दे खोलाको मुहान क्षेत्रमा जमेको कुनै पोखरी फुटेकोले एक्कासि पानीको प्रवाह बढेको र पहिरो मिसिएपछि लेदोसहित आएको बाढीले भोटेकोशी थुनिँदा रसुवा भन्सारमा ठुलो क्षति भएको चिनियाँहरूको अनुमान छ । नेपाल–चीन सीमामा बग्ने ल्हेन्दो खोला पानीढलो हिसाबले नेपालपट्टि पर्छ र यसको मुहान क्षेत्र पनि नेपालमा पर्ने उनीहरू बताउँछन् । 

केरुङस्थित चिनियाँ सरकारी सञ्चारमाध्यमले चीनका १५ नागरिक बेपत्ता भएको बताएको छ । बेपत्ता हुनेमा ६ जना नेपालपट्टि र नौजना चिनियाँ क्षेत्रमा रहेको भन्सार र अध्यागमन यार्डमा बस्ने चिनियाँ हुन् । 

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले केरुङ क्षेत्रमा सक्रिय ट्रान्सपोर्ट कम्पनीका व्यक्तिसँग कुरा गरेपछि दिएको जानकारीअनुसार चिनियाँ प्रहरीले ७२ नेपालीको उद्धार गरेर केरुङमा सुरक्षित राखेका छन् । हालसम्म चीनपट्टि २३ कन्टेनर पानीमा डुबिरहेका छन् । नेपालपट्टि टिमुरे भन्सार यार्डमा १५ गाडी डुबेको अवस्थामा छन् । ‘नेपाल र चीन दुवैपट्टिका सरकारी अधिकारीसँग बुझ्दा बाढीले सयभन्दा बढी विद्युतीय गाडी बगाएको छ,’ उनले भने । 

रसुवागढी नाका खुला हुन लामो समय लाग्न सक्छ 
वार्षिक २० अर्ब राजस्व संकलन गर्ने तातोपानी र वार्षिक ३० अर्ब राजस्व असुल्ने रसुवागढी भन्सार विनाशकारी भूकम्पपछि समस्यामा परिरहेका छन् । चीन जोड्ने यी व्यापारिक नाका खास गरी प्राकृतिक विपत्तिले समस्यामा परेका हुन् । मितेरीपुलसमेत बगाएकाले टिमुरे नाका खुला हुन लामो समय लाग्न सक्छ । 

तातोपानी नाकापट्टि चिनियाँ क्षेत्रको न्यालम काउन्टीमा बाढीले सडक बगाएकाले दुई दिनदेखि सवारीसाधन आउजाउ बन्द छ । विनाशकारी भूकम्पपछि ३० असार ०७२ को भोटेकोशीमा आएको बाढीले तातोपानी नाकामा थप क्षति पुगेको थियो । त्यसपछि लगातारका बाढीपहिरोले यो नाका नियमित छैन । 

के हाे बाढीको कारण ? 
विशेषज्ञहरूले ठुलो वर्षाका कारण रसुवास्थित भोटेकोशीमा लेदोसहितको बाढी आएको नभई हिमपहिरो वा हिमताल विस्फोटले घटना निम्त्याएको आकलन गरेका छन् । नेपाल–चीनबिच मौसमसम्बन्धी सूचना औपचारिक रूपमा आदान–प्रदान नहुने भएकाले यकिन नै हुन सकेको छैन । 

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीकाअनुसार रसुवागढीबाट  ८० कोषमाथि छुसुमधा पहिरो खस्दा बाढी आएको चिनियाँ पक्षबाट प्रारम्भीक जानकारी आएको छ । 

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका प्रमुख, वरिष्ठ जलस्रोतविद् विनोद पराजुलीले वर्षाका कारण बाढी उत्पन्न भएको नदेखिएको, तर भोटेकोशी नदी जलाधारको तिब्बती क्षेत्रमा रहेका हिमतालमध्ये कुनै फुटेको वा हिमपहिरो खसेको आकलन रहेको बताए । पाल्पामा रहेको मौसमी राडार र विश्व मौसम संगठनको भूउपग्रहमा आधारित प्रणालीमार्फत हेर्दा भोटेकोशी जलाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा पानी परेको देखिँदैन । २४ घण्टा (सोमबार बिहान ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म) रसुवास्थित क्यान्जिङ मौसमी केन्द्रमा ०.१ र धुन्चे मौसम केन्द्रमा ०.३ मिलिमिटर मात्र वर्षा भएको थियो । भूउपग्रह तस्बिर विश्लेषणको काम भइरहेको उनले बताए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का हिमताल र हिमनदी पहिरोसम्बन्धी विशेषज्ञ सुदनविकास महर्जनले पनि हिमपहिरोले खोला थुनिएर वा हिमताल फुटेको हुन सक्ने बताए । ‘सीमाभन्दा माथि तिब्बततिर बाटो खनेको पनि देखिन्छ, अहिले भूउपग्रह तस्बिर उपलब्ध भइनसकेकाले अहिले नै ठ्याक्कै भन्न सकिने अवस्था छैन,’ उनले भने । 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशीले हिमपहिरो, हिमताल विस्फोट वा अन्य दुर्घटनाका कारण बाढी आएको हुन सक्ने बताए । ठुलो वर्षा नभए पनि १० असारमा तिब्बती अधिकारीहरूले रसुवा प्रशासनलाई ठुलो बाढीको जोखिम रहेको सूचना दिनुले ‘सडक निर्माणका क्रममा चट्टान फुटाउँदा वा ढुंगा खस्दा बाढी आएको पनि हुन सक्ने’ ठानिएको छ । तर, नेपाल–चीनबिच औपचारिक रूपमा मौसमसम्बन्धी सूचना आदान–प्रदान नहुने भएकाले थप प्रस्ट हुन सकेको छैन ।

भूगर्भविद् श्रीकमल द्विवेदी हिमाली क्षेत्रमा हिमताल फुटेर मात्र बाढी आउँछ भन्ने यसअघिका भनाइ फेरिँदै गएको बताउँछन् । ‘मनसुन सुरु भएदेखि तिब्बतमा पानी नपर्नुपर्ने हो, तर ठुलो नपरे पनि दिनदिनैजस्तो परिरहेकै थियो,’ उनले भने, ‘हिउँमा पानी पर्दा पग्लिन्छ । पग्लिएको हिउँ लेदो बाढीका रूपमा आएको हो । हिउँ पग्लिएपछि बाँकी रहेको माटोढुंगा खोलामा खसेको पनि हुन सक्छ ।’ 

तिब्बत क्षेत्रबाट मंगलबार बिहान ३ बजेतिर भोटेकोशी नदीमा एक्कासि बाढी आएको हो । तर, तिब्बत तथा नेपाल क्षेत्रमा बाढी आउने गरी वर्षा भएको देखिँदैन । २४ घण्टा (सोमबार बिहान ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म) रसुवास्थित क्यान्जिङ मौसमी केन्द्रमा ०.१ र धुन्चे मौसम केन्द्रमा ०.३ मिलिमिटर मात्र वर्षा भएको थियो ।

रसुवागढी नाकाबाट तीन किलोमिटर तल रसुवा–टिमुरेमा रहेको जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांकअनुसार बिहान ३:१० बजे जलसतह एक्कासि ३.५ मिटर बढेको पाइएको जलस्रोतविद् विनोद पराजुलीले बताए ।

अझ रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल स्याफ्रुबेँसी स्वचालित जलमापन केन्द्रमा बिहान साढे ३ बजे बहाव बढेको देखिन्छ । भोटेकोशी नदीको स्याफ्रुबेँसी क्षेत्रमा साढे ३ बजे बहाव ३.६५ मिटर रहेकामा त्यसको १० मिनेटमा बढेर ५.३७ मिटर पुगेको थियो । त्यसपछि भने बाढीले बाढी मापनको गेज स्टेसन बगायो । 

भोटेकोशीको बाढीको बहाव रसुवागढी नाकाबाट ४१ किलोमिटर तल नुवाकोटको त्रिशूली बेत्रावतीमा भने बिहान ५ बजे पुगेको थियो । बेत्रावती स्वचालित जलमापन केन्द्रको तथ्यांकअनुसार त्यहाँ बिहान ५ बजे नदीको बहाव १.६० मिटर रहेकामा त्यसको १० मिनेटमा बढेर ३.६३ मिटर पुगेको थियो । बिहान ५:५० बजे उच्चतम विन्दु ४.१८ मिटर अर्थात् एक हजार ६ सय घनमिटर प्रतिसेकेन्ड बहाव पुगेको थियो । बाढीको असर धादिङस्थित बुढीगण्डकी दोभान (बेनीघाट)सम्म परेको थियो ।

मृतक तथा बेपत्ता परिवारलाई तत्काल राहत र घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय 
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले रसुवागढी बाढीबाट बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी ओलीको अध्यक्षतामा मंगलबार राति बसेको बैठकले घटनामा मृतक र बेपत्ता परिवारलाई तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको नि:शुल्क उपचारको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय पनि गरेको छ । 

सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ भने चीनसँगका वैकल्पिक नाकाको सञ्चालनका लागि पनि आवश्यक तयारी गर्ने निर्णय भएको छ । मितेरी पुल र चीनतर्फको बाटो पुन: निर्माण गरी केरुङ नाका नियमित गर्न परराष्ट्र मन्त्रालयमार्फत चीनसँग समन्वय गर्ने निर्णय पनि भएको विपत् प्राधिकरणले जनाएको छ । त्यस्तै, क्षतिग्रस्त भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ भने व्यवसायीका कन्टेनर, सवारीसाधन र अन्य सामग्रीहरूको क्षतिको बिमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।

मनसुनमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान आएकाले पूर्वतयारी तथा प्रतिकार्यका लागि सजग एवं तयार रहन बैठकले सम्बन्धित निकायलाई निर्देश गरेको छ । प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूले मंगलबार नै बाढीबाट भएको धनजनको क्षतिको अवलोकन गरेका थिए । क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकनबाट फर्किएलगत्तै राखिएको परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पूर्वानुमान र कल्पनाभन्दा बाहिरको अप्रत्याशित विपत् उत्पन्न भई क्षति भएको देखिएको बताए । 

मनसुनका एक महिना : बाढीपहिरो र चट्याङबाट २८ को मृत्यु
मनसुनको एक महिनामा बाढीपहिरो र चट्याङमा परी २८ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता भएका छन् । ७८ घाइते भएका छन् । गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार १५ जेठदेखि २४ असारसम्म बाढीपहिरोमा मात्र १९ जनाको ज्यान गएको छ भने चट्याङमा परी नौजनाको मृत्यु भएको छ । मंगलबार रसुवागढीको बाढीमा परेकामध्ये नौजनाको शव फेला परेको हो । १९ जना अझै बेपत्ता भएका छन् । यो अवधिमा १७ घर पूर्ण र ४६ आंशिक क्षतिग्रस्त भएका छन् । ४५३ पशुचौपाया मरेका छन्, १५ गोठमा क्षति पुगेको छ ।

बाढीमा फसेपछि रुख चढे नुवाकोटका दम्पती, सेनाको हेलिकोप्टरबाट उद्धार

त्रिशूली नदीको बाढीमा फसेका नुवाकोटको विदुर नगरपालिका– १ लभडाँडा मिलन चौताराका दम्पती ६७ वर्षीय पाल्देन तामाङ र उनकी पत्नी ६२ वर्षीया मंगली तामाङको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । त्रिशूली नदीको किनारामा दाउरा लिन जाँदा बाढीमा फसेका उनीहरू सिसौको रुखमा चढेर जोगिएका थिए । उनीहरू दुई घण्टा रुखमा बसेका थिए । सेनाको हेलिकोप्टरले उद्धार गरेर विदुर नगरपालिका कार्यालयनजिकै ओरालेको थियो । 

त्रिशूलीमा बाढीले बगायो चिता

धादिङको बेनीघाट रोराङ गाउँपालिका– ७, चरौँदीनजिकै त्रिशूली नदीमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ । बेनीघाट रोराङ गाउँपालिका– ७ की ८० वर्षीया राममाया चेपाङको चरौँदीस्थित त्रिशूली नदीकिनारमा दाहसंस्कार गर्दै गर्दा अचानक बाढी आउँदा जलिरहेको चिता बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । त्रिशूली नदीमा तीन पुरुषको शवसँगै दुईवटा खुट्टा फेला परेको उनले बताए । गल्छी गाउँपालिका–२, केउरेनीटारस्थित खोलाकिनार, गजुरी गाउँपालिका–६, बेल्खु र बेनीघाट रोराङ गाउँपालिका–७, चरौँदीमा शव फेला परेका हुन् । गजुरी गाउँपालिका– २, मलेखु र बेनीघाट रोराङ गाउँपालिका– ३, लामाबगरमा खुट्टा फेला परेको छ ।