
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानीको विषय छानबिन गर्न गठित विशेष समितिका सदस्यहरूको नाम टुंगिएको छ।
समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली तथा राप्रपाबाट रोशन कार्की सदस्य छन्। समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न २१ दिनको समय दिइएको छ।
सभामुख देवराज घिमिरे र प्रमुख पाँच दलका प्रमुख सचेतकको बैठकले कांग्रेसको नेतृत्वमा सात सदस्यीय समिति बनाउने सहमति गरेको थियो। सहमतिअनुसार दलहरूले आज आफ्नोतर्फबाट सभामुखलाई सदस्यहरूको नामावली बुझाएका हुन्।