
बायर्न म्युनिखका सबैभन्दा अनुभवी स्ट्राइकर थोमस मुलरले बुन्डेस लिगा फुटबलबाट सन्न्यास लिएका छन् । अमेरिकामा चलिरहेको फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट बायर्न २–० ले पराजित भएसँगै मुलरको जर्मन क्लबसँगको यात्रा पनि विश्राम लागेको हो । क्लब विश्वकपमा सहभागी हुनुअघि उनले बायर्नबाट अन्तिम प्रतियोगिता भएको घोषणा गरेका थिए ।
मुलर करिअरकै अन्तिम प्रतियोगितामा बायर्नलाई उपाधि दिलाउन चाहन्थे । तर, उनको यो सपना पूरा भएन । रेफ्रीले खेलको अन्तिम सिट्ठी बजाएपछि बायर्नबाट अन्तिममा मैदानबाट बाहिरिने खेलाडी मुलर थिए । उनी आफ्ना समर्थक तथा साथीहरूलाई धन्यवाद दिँदै बिदा लिए । यससँगै उनको जर्मन क्लबसँगको २५ वर्ष अतुलनीय यात्रा समाप्त भएको हो ।
पिएसजीविरुद्धको खेलमा मुलर ८०औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए । प्रतिस्पर्धामा मुलरले जर्मन क्लबलाई बराबरीमा ल्याउने निकै प्रयास गरेका थिए । यद्यपि, खेल सकिन धेरै समय नभए पनि उनले आफ्नो दुई दशक लामो अनुभव पिएसजीविरुद्ध प्रयोग गरेका थिए । तेस्रोपटक बायर्नलाई क्लब विश्वकप च्याम्पियन बनाउने धोका पूरा नहुँदा उनी निराश देखिन्थे । ‘खेल सुरु हुनुअगाडि च्याम्पियन हुने योजना बनाएका थियौँ । थप एक चरण अघि बढ्न प्रयास गरेको थिएँ, तर सफल हुन सकिनँ,’ मुलरले भने, ‘मैले एकसाथ दुई किसिमको अनुभव गर्ने अवसर पाएँ ।’
सन् २००० देखि फुटबल यात्रा
जर्मन फुटबल इतिहासमा आक्रामक रूपमा विपक्षी डिबक्सभित्र प्रवेश गर्ने र उत्तिकै चलाखीका साथ गोल गर्न सक्ने खेलाडीका रूपमा मुलरलाई लिने गरिन्छ । यो दुई दशकमा उनले यही स्वभावमा जर्मन फुटबलमा राज गरे । सन् २००० मा उनले बायर्न म्युनिखको एकेडेमीबाट करिअर सुरु गरेका थिए । त्यसवेला उनको उमेर १० वर्षको मात्र थियो । युथ एकेडेमी हुँदै उनले बायर्नको सिनियर टोलीसम्म स्थान बनाए । करिअरमा उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । मुलरले क्लबबाट सन्न्यास लिने सही समय आएको बताएका छन् । ‘फुटबलमा यस्ता खेलहरू सिक्काको दुई पाटाजस्तै हुन्छ । कहिले तपाईं त कहिले प्रतिद्वन्द्वी । आज हामी हार्यौँ,’ उनले भने, ‘यसमा च्याम्पियन हुँदा थप राम्रो हुने थियो ।’ मुलरले बायर्नका लागि सबैभन्दा धेरै खेल खेलेका छन् । बायर्नले आफ्नो असाध्यै राम्रो खेलाडीसँग गत अप्रिलमा सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो । यससँगै उनको यात्रा लगभग फिफा क्लब विश्वकपसम्म मात्र रह्यो ।
एक युगको समाप्त
बायर्न म्युनिखबाट अन्तिम खेलमा सहभागी भएसँगै जर्मन फुटबलमा एक युगको समाप्त भएको जनाइएको छ । उनीसँगै बायर्नबाट खेलेका धेरै खेलाडीले मुलरजतिको खेलाडी पाउन मुस्किल पर्ने दाबी गरेका छन् । ‘मुलर हाम्रो पुस्ताले पाएका खेलाडीमध्ये उत्तम हुन्,’ टोनी क्रुजले भने, ‘एट्याकिङदेखि फिनिसिङसम्म उनले सहजै विपक्षीलाई झुक्याउँथे ।’ यसैगरी, मुलरले पनि २५ वर्षको यात्रामा धेरै उतारचढावको सामना गरेको बताएका छन् । ‘साढे दुई दशकको यात्रामा बायर्नमा राम्रा र नराम्रो समय सामना गरेको छु,’ उनले भने, ‘केही जित अझै पनि ताजा छन् ।’
अमेरिकन क्लबमा ध्यान
जर्मन क्लबसँगको यात्रा टुंग्याए पनि मुलरले आप्mनो फुटबल यात्रालाई भने निरन्तरता दिने भएका छन् । केही समयको आरामपछि भविष्यतर्फ लाग्ने उनले बताएका छन् । ‘अहिले मेरो मनमा बायर्न म्युनिख नै रहेको छ, यसबाट पहिला बाहिर आउनुपर्छ,’ उनले भने । अमेरिकन एजेन्सीहरूले मुलर मेजर लिग सकरमा आबद्ध हुने चर्चा चलाएका छन् ।