१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
२o८२ असार २३ सोमबार o७:४१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एकदिवसीय र टी–२० आईमा नेपालको वरीयता यथावत्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार o७:४१:oo
  • आइसिसीले आइतबार सार्वजनिक गरेको वरीयताअनुसार नेपाल एकदिवसीयमा १७औँ र टी–२० आईमा १८औँ स्थानमै 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइतबार एकदिवसीय तथा टी–२० आई वरीयता सार्वजनिक गरेको छ । यी दुवै फर्म्याटमा नेपालको स्थानमा कुनै परिवर्तन आएको छैन । एकदिवसीयमा नेपाल १७औँ तथा टी–२० आईमा १८औँ स्थानमा छ । नेपालले ३१ एकदिवसीय खेलमा ३३ रेटिङ अंक पाएको छ । नेपालभन्दा माथि ओमान र एक स्थान तल क्यानडा रहेका छन् । आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । 

गत महिना स्कटल्यान्डमा नेदरल्यान्ड्ससमेत सम्मलित सिरिजमा नेपालले आठमध्ये ६ अंक जोडेको थियो । नेपालले तीन खेलमा जित तथा एक खेलमा हारको सामना गरेको थियो । विश्वकप लिग २ को नतिजाअनुसार नेपालले एकदिवसीय वरीयतामा सुधार गर्ने अपेक्षा थियो । आइसिसीको नयाँ वरीयतामा पाकिस्तानले मात्र एक स्थान सुधार र श्रीलंकाले एक स्थान गुमाएको छ । 

गत महिना स्कटल्यान्ड र नेदरल्यान्डसमेत रहेको त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल उपविजेता बनेको थियो । सोही सिरिजमा नेपालका फास्ट बलर करण केसीले टी–२० आईमा सय विकेट पूरा गरेका थिए । नेपालबाट टी–२० आईमा सय विकेट लिने उनी दोस्रो बलर हुन् । यसअघि लेग स्पिनर सन्दीप लामिछानेले पहिलो नेपाली बलरका रूपमा सय विकेट पूरा गरेका थिए ।

ब्याटिङमा यस सिजन आरिफ अगाडि
आइसिसीका अनुसार एक वर्षको अवधिमा एकदिवसीय खेलमा आरिफ शेख अगाडि छन् । उनले नौ खेलमा सर्वाधिक ३६२ रन जोडेका छन् । उनले ४५.२५ को स्ट्राइकमा ब्याटिङ गरेको आइसिसीले जनाएको छ । यसैगरी कप्तान रोहित पौडेलले १० इनिङ्समा २६५ रन जोडेका छन् । उनको ब्याटिङ स्ट्राइक २६.५० रहेको छ । विश्वकप लिग २ मा घाइते भएका कारण पूरै सिरिज खेल्न नपाएका अलराउन्डर गुल्सन झा एक वर्षभित्र नेपालबाट धेरै रन बनाउने सूचीको तेस्रो स्थानमा छन् । उनले नौ खेलमा २०४ रन बनाएका छन् । यसैगरी, एकदिवसीय बलिङमा सन्दीप लामिछाने सर्वाधिक विकेट लिने बलरमा अगाडि छन् । उनले एक वर्षको अवधिमा १० इनिङ्समा ३२.६६ को औसतमा सर्वाधिक १५ विकेट हात पारेका छन् । सोमपाल कामीले नौ इनिङ्समा १३ विकेट तथा गुल्सनले आठ इनिङ्समा १२ विकेट हात पारे ।

टी–२० आई ब्याटिङमा भुर्तेल
नेपालका नियमित ओपनर कुशल भुर्तेलले एक वर्षभित्र नेपालबाट टी–२० आईमा सर्वाधिक रन बटुलेका छन् । उनले ४१ इनिङ्समा ३७.३३ को औसतमा ४४८ रन बटुलेका छन् । त्रिकोणात्मक सिरिजमा उनको ब्याटिङ चलेको थियो । कप्तान रोहित ३०१ रनका साथ दोस्रो स्थानमा छन् । आसिफ शेखले १२ टी–२० आईमा २८७ रन बनाएका छन् । टी–२० आईमै सन्दीपले एक वर्षभित्र धेरै विकेट लिए ।