१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
टेकराज थामी काठमाडाैं
२o८२ असार २० शुक्रबार o९:३o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डेटिङ एप प्रयोग गरी नेपाली भूमिमार्फत भारतीयलक्षित चिनियाँ नागरिकको ‘स्क्याम’

सामान्यदेखि जघन्य प्रकृतिको अपराधसँग सम्बन्धित घटनामा चिनियाँ नागरिकको संलग्नता बढ्दो

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार o९:३o:oo

चिनियाँ नागरिकले डेटिङ एपमार्फत भारतीय नागरिकविरुद्ध ‘स्क्याम’ गर्न नेपाली युवती र भूमि प्रयोग गरेको खुलेको छ । यसका लागि उनीहरूले ‘मी टू’ नामको डेटिङ एप नै विकास गरेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६ चिनियाँ नागरिकसहित ४६ नेपाली युवती पक्राउ गरेपछि यो तथ्य सार्वजनिक भएको हो । 

बिजनेस भिसामा नेपाल आएका उनीहरूले डेटिङ एप चीनमै विकास गरेका थिए । नेपाली भूमिबाट भारतीय नागरिक ठग्न सजिलो हुने देखिएपछि उनीहरू नेपाल आएका थिए । र, कम्पनी रजिस्ट्रारको कार्यालयमा पुगेर कम्पनी दर्ता गरेका थिए । सिआइबी प्रवक्ता एसपी युवराज खड्काले ठगी गर्न चिनियाँ नागरिकले आफ्नै नाममा कम्पनी खडा गरेको बताए । ‘चिनियाँ नागरिकले ठगी गर्ने उद्देश्यले एप विकास गरेको देखिन्छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा उनीहरूको आफ्नै नाममा कम्पनी दर्ता भएको रहेछ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।

सिआइबीका अनुसार उनीहरूको नाममा दर्ता भएको कम्पनी सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि हो । गत २ माघमा दर्ता सोही कम्पनीको नाममा उनीहरूले ललितपुर महानगरपालिका– ४ वालिफल दमकल चोकस्थित सिंगै घर भाडामा लिएका थिए । शाखा कार्यालय भने काठमाडौं महानगरपालिका– १३ नागलमा खोलेका थिए । दुवै कार्यालयमा उनीहरूले अत्याधुनिक कल सेन्टर स्थापना गरेका थिए । कल सेन्टरमा काम गर्ने सबै युवती नेपाली भर्ती गरेका थिए । र, एपमार्फत सम्पर्कमा आएका भारतीय नागरिकलाई ठगी गर्न थाले । 

सिआइबी प्रवक्ता एसपी खड्काले दुवै कार्यालयमा गरी हालसम्म ४६ युवती कार्यरत रहेको खुलेको बताए । उनीहरूविरुद्ध पनि अनुसन्धान जारी रहेको बताउँदै उनले भने, ‘यिनीहरूले आफ्नै नाममा कम्पनी दर्ता गरे । सोही कम्पनीको नाममा दुई ठाउँमा कार्यालय खोले । दुवै कार्यालयमा व्यवस्थित कल सेन्टर स्थापना गरे । नेपाली युवती भर्ना गरे । र, तिनै युवती प्रयोग गरी भारतीय नागरिक ठग्न थाले ।’ सिआइबीका अनुसार उनीहरूले विकास गरेको ‘मी टू’ नामको एप नेपालमा खुल्दैन । र, नेपालीलाई प्रयोग गर्न बन्देज छ । भारतको भने जुनसुकै क्षेत्रबाट उक्त एप प्रयोग गर्न सकिन्छ । र, एपमार्फत ठगिनेहरू पनि भारतीय नागरिक नै छन् । त्यसैले यो एप भारतीय नागरिकलाई नै ठग्ने उद्देश्यले बनाइएको सिआइबीको दाबी छ । 

‘चिनियाँले प्रयोगमा ल्याएको एप नेपालमा खुल्दैन । भारतमा भने जुनसुकै ठाउँबाट खुल्छ । त्यसो हुँदा ठगिनेहरू स्वाभाविक रूपमा भारतीय नै हुने भए । जसमा नेपाली भूमि मात्र होइन, नेपाली युवती प्रयोग भएको देखियो । घटना गम्भीर देखिएपछि अपरेसन गर्‍यौँ । नभन्दै ६ चिनियाँ नागरिक र ४६ नेपाली युवती पक्राउ परे,’ सिआइबी प्रमुख एआइजी चन्द्रकुवेर खापुङले भने ।

पक्राउ पर्नेमा चिनियाँ नागरिकमा २९ वर्षीय झाङ लु, २७ वर्षीय चे झिआओ, ४१ वर्षीय लिन दे, ३२ वर्षीय झु झेङ, ३० वर्षीय ली झेजुन र ३३ वर्षीय झु लिङघुआ छन् । सिआइबीले उनीहरूलाई बुधबार काठमाडौं र ललितपुरको विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५० रुपैयाँ पनि बरामद भएको छ । 

यसरी हुन्थ्यो एपमार्फत ठगी 
चिनियाँ नागरिकले बनाएको एप भारतको जुनसुकै ठाउँबाट प्रयोग गर्न सकिन्छ । त्यसका लागि डेटिङ एप मोबाइलमा डाउनलोड गर्नुपर्छ । एपभित्र प्रवेश गर्न चाहनेका लागि शुल्क तोकिएको हुन्छ । शुल्क क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्छ । इन्ट्री शुल्क तिरेपछि सिधै कल सेन्टर नामको अप्सनभित्र प्रवेश गर्न सकिन्छ । कल सेन्टर अप्सनमा अर्धनग्न फोटसहितका विभिन्न नेपाली युवती सिनमा हुन्छन् । प्रयोगकर्ताले सिनमा रहेका आकर्षक युवती एपमार्फत नै छनोट गर्न सक्छ । छनोटलगत्तै शुल्क भुक्तानी गर्न अर्को अप्सन आउँछ । शुल्क भुक्तानीपछि एप रिचार्ज हुन्छ । र, प्रयोगकर्ताले युवतीसँग श्लील, अश्लील जुन तवरको गफ गर्न सक्छन् । प्रयोगकर्ताले जति धेरै शुल्क भुक्तानी गर्छ, उति धेरै समय युवतीसँग गफिन सक्छ ।