१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २० शुक्रबार o९:१६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

छनोटको एउटै समूहमा एपिएफ र अल नासर 

एपिएफले साउदी प्रो लिगमा आबद्ध अल नासरसँग एएफसी च्याम्पियन्स महिला लिग छनोटमा प्रतिस्पर्धा गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार o९:१६:oo

नेपालको एपिएफ र साउदी प्रो लिगमा आबद्ध अल नासर एएफसी च्याम्पियन्स महिला लिग फुटबल प्रतियोगिताको एउटै समूहमा परेका छन् । एन्फा महिला लिग च्याम्पियन एपिएफ च्याम्पियन्स लिगको समूह ‘बी’मा परेको हो । यस समूहमा आयोजक उज्वेकिस्तानको पिएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स रहेका छन् । 

मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा बिहीबार समूह विभाजन भएको हो । एएफसीले समूह चरणका खेल आगामी २३ देखि ३१ अगस्टसम्म हुने जनाएको छ । समूह चरणका १९ टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ । चार समूहमा समान चार क्लब छन् । एउटा समूहमा तीन क्लब मात्र रहेको एएफसीले जनाएको छ । 

साबिक विजेता चीनको वुहान जियाङ, अस्ट्रेलियाको मेलबर्न सिटी एफसी, कोरियाको सुवोन एफसी, जापानको टोकियो बेर्डी बेलेजा, भियतनामको मिन सिटी एफसी र बहराइनको बाम खातुन एफसी यसअघि नै मुख्य प्रतियोगितामा छनोट भइसकेका छन् । 

नेपालको खेल उज्वेकिस्तानमा 
समूह ‘बी’को छनोट खेल उज्वेकिस्तानमा हुनेछ । महिला लिग च्याम्पियन एपिएफले गत संस्करणमा पनि प्रारम्भिक छनोट खेलेको थियो । एपिएफले पहिलो चरण पार गर्न सकेन । यसपटक वरीयतामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्ने एएफसीले जनाएको छ । प्रत्येक समूहका विजेताले मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् । 

एपिएफमा राष्ट्रिय महिला टोलीका अधिकांश खेलाडी आबद्ध छन् । साथसाथै एपिएफलाई नेपालको उमेर समूहबाट खेलिसकेका खेलाडीको साथ रहनेछ । युरोपबाट व्यावसायिक फुटबल खेलिरहेका गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बा र सावित्रा भण्डारी पनि एपिएफमै आबद्ध छन् । 

एन्फा यू–१६ युथ लिग आजबाट 
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबारदेखि यू–१६ युथ लिग आयोजना गर्दै छ । उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् । श्री भगवती यसै सिजन सहिद स्मारक ‘ए’ डिभिजनमा बढुवा भएको हो । मनाङ सर्वाधिक आठपटकको च्याम्पियन हो । एन्फाले ‘ए’ डिभिजन लिगका १४ क्लबलाई यू–१६ लिगमा सहभागी गराएको छ । 

भगवतीसँगै माथिल्लो डिभिजनमा बढुवा भएको प्लानिङ ब्वाइजले यू–१६ लिग खेल्दै छ । एन्फाको अपिल कमिटीको निर्णयपछि ‘बी’ डिभिजनमा घटुवा भएको थ्री स्टार लिगमा सहभागी हुने छैन । एन्फाले थ्री स्टारको नाम अन्तिम समयमा काटिएको हो । 

एक करोड बजेटमा विजेतालाई एक लाख
फिफाको अनुदानमा आयोजना हुने एन्फा यू–१६ लिगको अनुमानित बजेट एक करोड दुई लाख ३६ हजार ३३० रुपैयाँ छ । लिग विजेताले एक लाख पाउने प्रवक्ता सुरेश शाहले बताए । उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ । व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडी तथा अनुशासित टोलीले समान १५ हजार रुपैयाँ पाउनेछन् । एन्फाले प्रतियोगिताको तयारीका लागि सहभागी क्लबलाई तीन लाख ५० हजार रुपैयाँ प्रदान गरेको शाहले बताए । प्रतियोगितामा कुल ९१ खेल हुनेछ ।