१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
२o८२ असार ६ शुक्रबार ११:३४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कैदीको मृत्यु घटनामा प्रहरी नायब निरीक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार ११:३४:oo

जिल्ला कारागार कैलालीमा रहेका कैदीको मृत्यु घटनामा प्रहरी नायब निरीक्षक (सइ) पक्राउ परेका छन् । मृतक परिवारको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले सइ हरजित नाथलाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालयमै कार्यरत छन् ।

जिल्ला कारागारमा रहेका डडेल्धुराको भागेश्वर गाउँपालिकाका २८ वर्षीय हरिसिंह पालीको २ असार राति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीको कुटपिटबाट हत्या भएको भन्दै मृतकका आफन्तले शव उठाउन मानेका थिएनन् ।

बिहीबार किटानी जाहेरी दर्ता भएपछि शवको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए । उनले सइ नाथलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

जिल्ला अदालत कैलालीबाट बैंकिङ कसुरमा दोषी ठहर भई दुई लाख रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भएका पालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले २९ जेठमा पक्राउ गरेको थियो । कैलाली प्रहरीले उनलाई १ असारमा जिल्ला अदालतमा बुझाएको थियो । बैंकिङ कसुरको मुद्दा सइ नाथले दिएका थिए ।

मृतक पालीकी श्रीमती जानकी साउदले नाथविरुद्ध किटानी जाहेरी दिएकी हुन् । प्रहरीको कुटाइबाट आफ्ना श्रीमान्को हत्या भएको उनको आरोप छ । सइ नाथको योजनामा कुटपिट भएको आफन्तको आरोप छ ।

जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय समिति पनि गठन गरेको छ ।