
इरानमाथिको इजरायलको आक्रमण हालको इतिहासमै सबैभन्दा गम्भीर सीमापारको हमला बनेको छ । यो मिसाइल वा आणविक संरचनामाथिको लक्षित आक्रमण मात्र होइन, यसले शीर्ष नेताको हत्या र साइबर हमलासमेत समेटेको छ । मेजर जनरल मोहम्मद बाघेरी, कमान्डर होसेन सलामी र आमिर अली हाजिजादेहको हत्या इरानको सैन्य नेतृत्वमाथिको सन् १९८० यताकै सबैभन्दा ठुलो आघात हो । सतहमा सैन्य कारबाहीजस्तो देखिए पनि यो दशकौँ पुरानो इजरायली राजनीतिक सिद्धान्तको अभिव्यक्ति हो ।
इजरायली अधिकारीले यसलाई इरानलाई आणविक हतियार हासिल गर्न नदिन गरिएको पूर्वचेतावनीका रूपमा व्याख्या गरे पनि यसको गहिरो रणनीतिक उद्देश्य क्रमशः स्पष्ट हुँदै गएको छ । अर्थात्, इस्लामिक गणतन्त्र इरानमा अस्थिरता ल्याई अन्ततः सत्तापलट गर्नु रहेको छ । वर्षौंदेखि इजरायली र केही अमेरिकी रणनीतिकारले इरानको आणविक महत्वाकांक्षा अन्त्य गर्ने दीर्घकालीन उपाय सत्ता परिवर्तन नै हो भन्ने तर्क गर्दै आएका छन् । अहिलेको अभियान यो दीर्घकालीन लक्ष्यसँग मेल खान्छ । हालैका घटनाक्रमले यो सैन्य अप्रेसनको उद्देश्य इरानभित्र आन्तरिक विद्रोहको प्रारम्भिक चरणलाई उक्साउनु रहेको संकेत गर्छ । विगतका सत्ता–परिवर्तन प्रयासको निरीक्षण गर्नेका लागि यो रणनीति नयाँ होइन, अर्थात् शीर्ष सैन्य अधिकारीको हत्या, मानसिक युद्ध, मिथ्या सूचना अभियान र राज्यका प्रतीकात्मक संस्थामाथि लक्षित आक्रमण नयाँ होइन । तेहरानमा इजरायली समर्थनमा भएको भनिएको साइबर आक्रमण र सटिक हवाई हमलाले सरकारी भवन र मन्त्रालयमा प्रहार गरेको रिपोर्ट आएका छन् । यसले राष्ट्रिय टेलिभिजन प्रसारणसमेत अस्थायी रूपमा अवरुद्ध गर्यो, जुन इस्लामिक गणतन्त्र इरानको सञ्चार संरचनाको एक केन्द्रीय आधार हो । इजरायली राजनीतिक वक्तव्यमार्फत पनि यही रणनीति झल्किएको छ ।
गोप्य ब्रिफिङ र केही मिडिया अन्तर्वार्तामा अधिकारीले कि इरानका अत्यधिक सुरक्षित भूमिगत आणविक संरचना, जसमा केही संरचना झन्डै पाँच सय मिटर गहिराइमा जाग्रोस र अल्बोर्ज पर्वतमालामुनि गाडिएका छन् भन्ने खबर सतहमा आएका छन् । र, तिनलाई पूर्ण रूपमा नष्ट गर्न अमेरिकाको प्रत्यक्ष सहभागिता आवश्यक छ । विशेषतः त्यस्ता अप्रेसनका लागि जिबियू–५७ ‘मेसिभ अर्डिनन्स पेनिट्रेटर’ बम आवश्यक पर्छ, जसलाई केवल अमेरिकी बी–२ वा बी–५२ रणनीतिक बमवर्षकबाट मात्र प्रहार गर्न सकिन्छ । यस्तो क्षमताको अभावमा इजरायली नेताले सत्ता परिवर्तनविना इरानको आणविक कार्यक्रमलाई रोक्न असम्भव छ भन्ने निष्कर्ष निकालेका छन् ।
यस सन्दर्भले इजरायलका समकालीन सैन्य तथा राजनीतिक प्रयासलाई नयाँ अर्थ दिन्छ । आक्रमणपछिको चरणमा इजरायली सन्देश विशेषतः इरानी जनतालाई लक्षित गर्दै तीव्र बनेका छन्, जसमा इस्लामिक रेभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) लाई राष्ट्रिय सुरक्षाकर्मी नभई इरानी जनताको मुख्य उत्पीडकका रूपमा चित्रण गरिँदै छ । ती सन्देशको उद्देश्य इरानी राष्ट्र र इस्लामिक गणतन्त्रबिचको भिन्नता देखाउनु थियो । नतिजा ‘यो इरानविरुद्धको युद्ध नभई सत्ताविरुद्धको युद्ध हो’ जस्ता नारा पनि प्रसार गरिएका छन् । विदेशमा रहेका इरानी विपक्षी नेता, जसमा सन् १९७९ अगाडिका अन्तिम शाहका जेठा छोरा रेजा पहलवी र पूर्वफुटबल खेलाडी अली करिमीले यी भाष्यलाई दोहोर्याउँदै आक्रमणको समर्थन जनाए र सत्ता परिवर्तनको आह्वान गरेका थिए ।
तर, यो रणनीतिले अपेक्षित परिणाम ल्याउनुको सट्टा उल्टो प्रभाव पारेको देखिन्छ । जनविद्रोह भड्काउने वा राष्ट्रिय एकता भत्काउनुको सट्टा यी आक्रमणले राजनीतिक मतभेद पार गरेर इरानी जनभावनालाई एकजुट गरिदिएको देखिन्छ । सत्ताका लामो समयदेखि आलोचक रहेकासमेतले यसलाई विदेशी हस्तक्षेपको रूपमा बुझेका छन् र राष्ट्रिय सम्प्रभुतामाथिको आक्रमणप्रति आक्रोश व्यक्त गरेका छन् । सन् १९५३ मा अमेरिकी गुप्तचर निकाय सिआइएको सहयोगमा भएको कुदेखि इरान–इराक युद्धसम्मका इतिहासले पुनः जनतामाझ राष्ट्रिय रक्षालाई सक्रिय बनाइदिएको छ ।
सन् २०२२ मा महसा अमिनीको प्रहरी हिरासतमा मृत्युपछि देशव्यापी आन्दोलनको नेतृत्व गरेका ‘वुमन, लाइफ, फ्रिडम’ अभियानका कार्यकर्ताले समेत विदेशी सैन्य हस्तक्षेपसँग खुला रूपमा नजोडिने संकेत गरेका छन् । बमले ध्वस्त बनाइएका भवन र मारिएका इरानी सैनिकको तस्बिर व्यापक रूपमा फैलिँदै जाँदा केही समयका लागि शासन परिवर्तनको मागभन्दा सहानुभूति र एकताको भावना प्रमुख बनेको देखियो । धेरैका लागि अहिलेको बहस राजनीतिक सुधारको मुद्दाबाट राष्ट्रको रक्षातर्फ सरिरहेको छ ।
विशेषतः इस्लामिक गणतन्त्रका पूर्वविरोधी तथा केही चर्चित व्यक्तित्वले समेत इरानको पक्षमा आवाज उठाउँदै इजरायली आक्रमणको भत्र्सना गरेका छन् । फुटबलका महान् खेलाडी अली दाइले भने, ‘म गद्दार बन्नुभन्दा मर्न रुचाउँछु,’ भन्दै उनले कुनै पनि विदेशी हमलासँग सहकार्य गर्न अस्वीकार गरेका छन् । पूर्वन्यायाधीश तथा राजनीतिक बन्दी मोहसेन बोरहानीले आइआरजिसी र अन्य सशस्त्र बललाई संकेत गर्दै ‘म मातृभूमिको रक्षा गर्ने सबैका हात चुम्न चाहन्छु’ भनेका छन् ।सैन्य लक्ष्यमा केन्द्रित योजनाबद्ध हमला भनेर चित्रण गरिएको कार्यले अहिले उल्टो नतिजा दिइरहेको देखिन्छ । शासनको पकड कमजोर बनाउनुको
सट्टा इजरायलका गतिविधिले राष्ट्रिय एकता बढाउँदै आलोचनात्मक स्वरलाई थाम्न सहयोग गरिरहेका छन् । बाहिरी हस्तक्षेपमार्फत क्रान्ति गराउने प्रयास केवल असफल मात्रै होइन, उल्टै घातक पनि हुन सक्छ । इजरायलको अन्तिम उद्देश्य सत्ता पतन नै थियो भने उसले इरानको राजनीतिक प्रणालीको ऐतिहासिक सहनशीलता र राष्ट्रिय पीडाबाट जन्मिने एकताको शक्तिलाई कम आँकेकोजस्तो देखिन्छ । बम खस्दा र कमान्डर मारिँदा पनि इरानको सामाजिक बनोट खण्डित भएको छैन, बरु फेरि जोडिँदै गएको छ ।
(इस्लामी पोर्चुगलस्थित मिन्हो विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका सह–प्राध्यापक हुन्)
अलजजिराबाट