१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Friday, 20 June, 2025
बुटवल–नारायणगढ खण्डको दाउन्नेको विश्वकर्मा मन्दिर, घ्यु खोलालगायतका क्षेत्रमा बाटो चिप्लो र हिलाम्य छ । बर्खाको सुरुवातीमै देखिएको समस्याले अगाडिका दिन कठिनपूर्ण हुने जनाउ दिएको छ । 
२o८२ असार ६ शुक्रबार o६:४६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मध्यम वर्षाले नै राष्ट्रिय राजमार्गको बेहाल : पछिल्लोपटक ४० घण्टापछि दाउन्ने खण्ड  एकतर्फी सञ्चालन, तर बर्खाभर हुनेछैन सहज 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार o६:४६:oo
  • ०७९ साउनमै बनिसक्नुपर्ने १९ अर्ब लागतको बुटवल–नारायणगढ सडक तीनपटक म्याद थप्दा पनि अधुरो, पछिल्लोपटक थपिएको म्याद पनि ६ साउनमा सकिँदै, भौतिक प्रगति जम्मा ७० प्रतिशत मात्र

हल्कादेखि मध्यम वर्षाले नै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने र दुम्कीबास क्षेत्रमा पटक–पटक सडक अवरुद्ध हुन थालेको छ । पछिल्लोपटक ४० घण्टापछि दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा आएको छ, तर सरकारी अधिकारीहरूले बर्खाभर सहज नहुने भन्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाएका छन् ।

नवलपरासीको दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन बगाउँदा र दाउन्नेमा विस्तारका लागि खनिएको सडक हिलाम्य र चिप्लो हुँदा हरेक दिन अवरुद्ध भइरहेको छ । दाउन्नेको विश्वकर्मा मन्दिर, घ्यु खोलालगायतका क्षेत्रमा बाटो चिप्लो र हिलाम्य छ । बर्खाको सुरुवातीमै देखिएको समस्याले अगाडिका दिन कठिनपूर्ण हुने जनाउ दिएको छ । 

४० घण्टापछि दाउन्ने खण्ड अस्थायी रूपमा सञ्चालनमा आएको छ । त्यससँगै तीन दिन पालो कुरेर बसेका ट्रक बिहीबार राति पास भएका छन् । दाउन्ने खण्डमा ग्राभेल हालेपछि सडक नियमित भएको र फेरि वर्षा भएमा अवरुद्ध हुन सक्ने जोखिम पनि रहेको जिल्ला ट्राफिक कार्यालय नवलपरासीका प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए ।

दुम्किबासको विनयी खोलामा बर्खामा पनि डाइभर्सनका भरमा चलिरहेको छ । वर्षा रोकिएर खोलामा पानी घट्दा ग्राभेल र ह्युमपाइप राखेर डाइभर्सन बनाएर यायातात सुचारु गर्ने गरिएको छ । फेरि खोलामा बहाव बढ्नासाथ बगाउँछ । बिहीबार राति गाडी सुचारु भए पनि फेरि कतिखेर डाइभर्सन बगाउँछ, ठेगान छैन  ।

विनयी खोलाको पुल गत पुसमा भासिएको थियो । २३ जेठमा पुलको ढलान सकिए पनि गाडी गुडाउन १४ असार कुर्नुपर्ने सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले बताए ।

दाउन्ने खण्ड निर्माणको काम रोकियो, बर्खामा मर्मत गरेर चलाइने 
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड निर्माणको काम रोकिएको छ । सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले वर्षा सुरु भइसकेकाले अब मर्मतबाहेक अन्य काम सम्भव नभएको बताए । पटक–पटक अवरुद्ध हुन थालेपछि तत्कालका लागि गिट्टीबालुवा हाल्न थालिएको छ । बिहीबार गिट्टी हालेर सडक सुचारु भएको छ । खाल्डाखुल्डी भएको र चिप्लिने ठाउँमा पाँच सय ट्रक (पाँच हजार घनमिटर) गिट्टीबालुवा हालेर रोलरले पेलेर सहज बनाउन निर्माण कम्पनी चाइना स्टेटलाई भनिएको मिश्रले बताए ।

बिहीबार अनुगमनमा पुगेको सडक विभागका आयोजना निर्देशक चुडाराज ढकालसहितको टोली जाममा फसेको थियो । अनुगमनपछि पत्रकारसँग कुरा गर्दै निर्देशक ढकालले पनि वर्षा सुरु भइसकेकाले अब मर्मतबाहेक अन्य काम रोकिएको बताए । ढकालले दसैँअघिसम्म नारायणगढदेखि बुटवलसम्मको सबै ११३ किलोमिटर बाटो कालोपत्रे भएर सकिने दाबी गरे । ‘वर्षा सकिएको एक–ढेड महिनामा दाउन्नेमा ढलान, कालोपत्रे सबै काम सकिन्छ,’ निर्देशक ढकालले भने, ‘दसैँतिहारमा कसैले पनि यो बाटो असहज भयो भनेर गुनासो गर्नुपर्ने दिन आउँदैन, सबैले कालोपत्रे बाटो भएरै यात्रा गर्न सक्नुहुन्छ ।’

दाउन्नेमा पूर्वी खण्डमा रहेको नौ किलोमिटर सडकमध्ये करिब चार सय मिटर मात्र ढलान भएको छ । चाइना स्टेट कम्पनी बुटवल–नारायणगढ सडक पूर्वी खण्डका इन्जिनियर राकेश झाका अनुसार अब ६ सय मिटर ढलान गर्ने तयारीमा रहेको छ । दाउन्ने खण्डमा त्योबाहेक अन्य ढलान वा कालोपत्रेको काम बर्खाअघि हुन नसक्ने उनले बताए । बुटवल–नारायणगढ सडकखण्डमा अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशतको हाराहारीमा पुगेको छ ।