
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय तोडफोड गर्ने मुख्य आरोपीलाई सत्ताको दबाबमा प्रहरीले संरक्षण गरेपछि पदाधिकारी तथा प्राध्यापकहरू आतंकित बनेका छन् । आरोपीहरू उल्टै प्रहरी कार्यालयमा पुगेर प्रहरीलाई नै धम्क्याउन थालेपछि आतंक झन् बढेको हो ।
१४ जेठमा उपकुलपतिको कार्यालय तोडफोडमा कांग्रेसनिकट नेविसंघका नेताहरू शंकरदेव क्याम्पसका मदन उपाध्याय र भक्तपुर बहुमुखी क्याम्पसमा स्ववियु सभापति पुकार पराजुलीको प्रत्यक्ष भूमिका रहेको सिसिटिभी फुटेज सार्वजनिक भइसकेको छ । त्रिवि प्रशासनले उनीहरूसहित तोडफोडमा संलग्न १५ जनालाई कारबाहीको माग गर्दै १८ जेठमा प्रहरीमा निवेदन दिएको थियो ।
तर, प्रहरीले हालसम्म दुईजनालाई मात्रै पक्राउ गरेकोमा मुख्य आरोपीद्वय उपाध्याय र पराजुली उल्टै प्रहरी कार्यालय पुगेर उनीहरूलाई समेत छुटाउन दबाब दिइरहेका छन् । प्रहरीले सानोठिमी क्याम्पसका स्ववियु सचिव दिक्पाल कार्की र शंकरदेव क्याम्पसका विद्यार्थी नेता लोकेश कुँवरलाई पक्राउ गरेको छ । तर, उनीहरूलाई पनि छाड्न दबाब दिन उपाध्याय र पराजुली मंगलबार प्रहरी वृत्त कीर्तिपुर पुगेका थिए । उनीहरूले प्रहरी वृत्तअगाडि उभिएर फोटोसमेत खिचाएर सार्वजनिक गरेका छन् ।
उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयबाटै दबाब आएकाले उनीहरू कार्यालयमै पुग्दासमेत पक्राउ गर्न नसकिएको प्रहरी स्रोतले बतायो । एक मुख्य आरोपी मदन उपाध्यायको गृहमन्त्री रमेश लेखकको सचिवालयसँग निकटता भएकाले पनि पक्राउ नगर्न आदेश आएको प्रहरी स्रोतले बतायो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले पक्राउ परेका दुईजनालाई अभद्र व्यवहारमा मुद्दा चलाएको र अन्यलाई पनि पक्राउ गर्ने दाबी गरे । ‘हामीले दुईजनालाई पक्राउ गरेका छौँ, उनीहरूविरुद्ध पाँच दिनको म्याद थप भएको छ,’ उनले भने, ‘अन्य व्यक्ति पनि पक्राउ पर्छन्, प्रत्यक्ष संलग्नलाई छाड्ने भन्ने हुँदैन ।’
त्रिविमा ‘गुन्डागर्दी’ गर्नेहरू प्रहरी वृत्तमै पुगेर प्रहरीलाई धम्क्याउने र प्रहरी निरीह हुने अवस्थाले थप आतंक सिर्जना गरेको त्रिविका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको गुनासो छ । प्रहरीमा उजुरी दिएको विषयलाई लिएरसमेत उनीहरूले त्रिविका पदाधिकारीलाई अप्रत्यक्ष रूपमा धम्की दिइरहेका छन् । ‘जो घटनाका मुख्य नाइके थिए, उनीहरू खुलमखुल्ला प्रहरीलाई धम्क्याउँदै हिँडिरहेका छन्, प्रहरी मूकदर्शक बनेको छ,’ त्रिविका एक पदाधिकारीले भने, ‘त्रिवि प्रशासनले यो–यो व्यक्ति हुन् भनेर निवेदन दिँदासमेत प्रहरीले प्रत्यक्ष संलग्नलाई पक्राउ गरेन, दुईजनालाई पक्राउ गरेर घटना चोख्याउन खोजिएको छ, तर उक्त घटनामा थुपै्र मानिस संलग्न छन् ।’
प्रहरीले पक्राउ गरेका दुई विद्यार्थी नेता कार्की र कुँवर भने घटनाका मुख्य पात्र नभएको त्रिविका पदाधिकारीहरू बताउँछन् । मुख्य पात्रलाई उन्मुक्ति दिएर घटना दबाउन खोजिएको उनीहरूको गुनासो छ ।
त्रिविका निमित्त उपकुलपति खड्ग केसीले १४ जेठको घटनापछि के–के भइरहेको छ भन्नेमा आफू अपडेट नभएको, तर मुख्य व्यक्ति पक्राउ नपरेको बताउँछन् । ‘घटनामा थुपै मानिस संलग्न छन्, तर पक्राउ गरिएन, हामीले त कानुनी राज्यलाई विश्वास गरेर निवेदन दिएका हौँ, शान्तिसुरक्षा दिने राज्यको काम हो,’ उनले भने, ‘तर, खास व्यक्तिचाहिँ बाहिरै छन् ।’
परीक्षा फारम खुलेपछि पनि भर्ना हुन पाउनुपर्यो भन्दै गरेका थिए तोडफोड
त्रिविले स्नातक तह प्रथम वर्षको परीक्षा फारम बन्द गरेको र भर्ना समयसमेत नथपेको विषयमा विद्यार्थी संगठनले आपत्ति जनाएका थिए । त्रिविका प्रवक्ता यमनसिंह बोहराका अनुसार परीक्षा फारम खुलेपछि पनि विद्यार्थीले भर्ना गर्न पाउनुपर्नेलगायत माग राखेका थिए । त्रिविले पछिल्लो समय फारम खुलेपछि भर्ना गर्ने प्रचलन बन्द गरिसकेको छ । तर, यसअघि स्ववियु निर्वाचनका कारण कतिपयको भर्नासमेत छुटेको भन्दै विद्यार्थीले भर्ना समय थप्न दबाब दिएका थिए । तर, गएको माघमै त्रिविले भर्ना कार्यक्रम सकाइसकेको थियो । त्रिवि प्रशासनले नमानेपछि विद्यार्थी तोडफोडमा उत्रिएका हुन् । सो घटनाको सर्वत्र आलोचना भइरहेको छ ।