
बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको छ । प्रदेश सभाका सभामुख भवनकुमार पाठकका अनुसार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्ने कार्य सूची रहेको छ ।
प्रदेश सरकारको बजेट कार्यक्रम संसदमा पेस गर्नुपूर्व आर्थिक सर्वेक्षण पेस गर्ने प्रक्रिया रहेको उनले बताए । प्रदेश वा क्षेत्रको आर्थिक अवस्था, संरचना, प्रगति, समस्या र सम्भावनाको समग्र मूल्यांकन गरी नीति निर्माण, बजेट तयार पार्ने प्रक्रिया तथा दीर्घकालीन योजना बनाउने आधार स्तम्भका रूपमा आर्थिक सर्वेक्षणलाई लिइन्छ ।
एक आर्थिक वर्षमा भएको आर्थिक गतिविधिहरूको समीक्षा (उत्पादन, रोजगारी, गरिबी, उद्योग, कृषि, सेवा, राजस्व, आय–व्यय आदि सूचकहरूको विवरण) गरी तयार गरिने सांख्यिकीय र विश्लेषणात्मक प्रतिवेदन (आर्थिक सर्वेक्षण) नीति निर्माणका लागि आधार तयार पार्न, आगामी बजेट तथा विकास योजनाको रूपरेखा निर्धारण गर्न, अर्थतन्त्रको स्वास्थ्य मूल्यांकन गर्न, सूचना पारदर्शिता र जवाफदेहितासहित विकास र सुधारको योजना निर्माण, लगानीकर्ताको मार्गनिर्देशन तथा नीतिगत निर्णय लिन तयार गर्ने गरिन्छ ।
आगामी असार १ गते संसदमा आर्थिक वर्ष ०८२/८३ को वार्षिक अनुमानित आय–व्ययको विवरण प्रस्तुत हुनेछ । शुक्रबारको प्रदेश सभाको बैठकमा प्रदेश सभाका विषयगत समितिहरूको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची रहेको सभामुख पाठकले बताए । प्रदेश सभामा विषयगत ६ वटा समितिहरू रहेका छन् ।