१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
हेनरी महेर
२o८२ जेठ २७ मंगलबार ११:२२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अर्बपतिद्वयको सत्तासंघर्ष र लोकतन्त्रको हार

Read Time : > 2 मिनेट
हेनरी महेर
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार ११:२२:oo

अमेरिकामा यसपटकको ‘अर्बपतिबिचको युद्ध’मा ट्रम्प विजयी देखिए पनि हार भने लोकतन्त्रकै भएको छ

विश्वकै धनी व्यक्ति इलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच हालसालै सामाजिक सञ्जालमा चर्को विवाद भएको छ, जहाँ दुवैले एक–अर्काविरुद्ध गम्भीर आरोप लगाएका छन् । मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गर्दै उनलाई बाल यौनदुर्व्यवहारकारी जेफ्री एप्स्टिनसँग जोड्ने सामग्री पोस्ट गरे, यद्यपि पछि त्यो हटाइयो । विवादको कारण ट्रम्पको ‘वन बिग ब्युटिफुल बिल’ ओबिबिबी विधेयक थियो, जसले कर कटौतीमार्फत ३० खर्ब डलर संकलन गर्ने दाबी गर्छ । मस्कले यसलाई ‘अमानवीय’ भन्दै आलोचना गरेपछि ट्रम्पले मस्क बढी भइरहेकाले ‘निकालेको’ र निकाल्दा त झन् ‘पागल भएको’ आरोप लगाए । प्रश्न उठ्छ, मस्क र ट्रम्पबिचको पूर्वघनिष्ठ सम्बन्ध (ब्रोमान्स) एक्कासि किन टुट्यो ? र, प्रारम्भमा उनीहरूको गठबन्धन किन र कसरी बनेको थियो ?

अन्य अर्बपतिझैँ मस्क पनि सुरुमा प्रत्यक्ष राजनीतिबाट टाढै रहे । उनले सन् २०१६ मा हिलारी क्लिन्टन र सन् २०२० मा जो बाइडनलाई मत दिएको र सन् २०२१ मा ‘म राजनीतिबाहिरै बस्न चाहन्छु’ भनेका थिए । सन् २०२४ को सुरुवातसम्म उनले आफू तटस्थ रहेको र कुनै उम्मेदवारलाई चन्दा नदिने संकेत गरेका थिए । तर, ट्रम्पमाथि जुलाई २०२४ मा भएको हत्या प्रयासपछि मस्क खुलेर ट्रम्पको पक्षमा उभिए । यद्यपि, मस्कको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) आन्दोलनप्रतिको झुकाव यसअघि नै स्पष्ट भइसकेको थियो ।

सन् २०२०–२४ बिच मस्कले चरम दक्षिणपन्थी र मागासम्बद्ध षड्यन्त्र सिद्धान्त फैलाउने एकाउन्टसँग लगातार अन्तरक्रिया गरे, जसमध्ये यहुदीविरोधी ‘ग्रेट रिप्लेस्मेन्ट थ्योरी’ र दक्षिण अफ्रिकामा गोरा जनसंहारको अफवाह प्रमुख थिए । उनले विविधता, समानता र समावेशी (डिइआई) नीतिप्रति घृणा जनाउने पोस्ट गरे, जुन मागाको मुख्य विशेषता हो । ट्रम्पप्रति मस्कको समर्थन वैचारिक मात्र नभई व्यावहारिक पनि थियो, अर्थात् दुवै कर कटौती, आप्रवासन नियन्त्रण र डिइआई विरोधमा सहमत थिए । मस्कले ट्रम्पको निर्वाचन अभियानमा २८ करोड ८० लाख डलर खर्च गरे र देशभरका कार्यक्रममा भाग लिए । यस गठबन्धनले दुवैलाई फाइदा भयो । ट्रम्पले विश्वकै धनी व्यक्तिको आर्थिक साथ पाए भने मस्कले राष्ट्रपति कार्यालयमा अभूतपूर्व पहुँच र ‘सरकारी कार्यक्षमता विभाग’ (डोज) को नेतृत्व पाए ।

ट्रम्पको दोस्रो कार्यकाल सुरु हुँदा मस्कको चर्चा व्यापक थियो, जसमा उनी मार–ए–लागो रिसोर्टमै बसेर राष्ट्रपतिनजिक रहेका खबर आएका थिए । तर, विश्लेषकहरूले मस्क नेतृत्वको ‘सरकारी कार्यक्षमता विभाग’को प्रभावकारितामाथि सन्देह व्यक्त गर्दै डोजले सरकारलाई २० खर्ब डलर बचत गराउने दाबीलाई शंकास्पद माने । सुरुमा मस्कले सरकारी कार्यक्रम र कर्मचारी संख्यामा ठुलो कटौती गरे । युएसएड, शिक्षा मन्त्रालय र उपभोक्ता वित्तीय संरक्षण ब्युरो सबैभन्दा बढी मारमा परे । जति खर्च कटौती तीव्र भयो, उति मस्क विवादमा तानिए । निर्वाचित नभएको अर्बपतिले यस्तो शक्तिशाली भूमिका पाउनु नै आलोचनाको विषय बन्यो । उनको चरम दक्षिणपन्थीसँगको सम्बन्ध पनि बिग्रँदै गयो र दुईपटक नाजी सलाम गरेपछि थप गहिरियो ।

सरकारभित्र मस्कको प्रभाव धेरै समय टिकेन । ट्रम्पका मन्त्रीहरू सक्रिय हुन थालेपछि डोज र मस्कले बढ्दो प्रतिरोधको सामना गरे । मार्चमा डोजको अधिकार कटौती गरियो र मस्कको राजनीतिक व्यस्तताले टेस्लाको ब्रान्ड र सेयर मूल्यमा असर पार्न थाल्यो । १ मेमा मस्कले डोजबाट राजीनामा दिए, यद्यपि उनले एक खर्ब ८० अर्ब डलर बचतको दाबी गरे, जुन उनी आफैँले दाबी गरेको २० खर्बको लक्ष्यभन्दा निकै कम थियो । सरकारमा निजी क्षेत्रको सिइओ शैली सजिलै लागू गर्न सकिँदैन भनेर मस्कले सिकेका थिए । 

ट्रम्पका लागि मस्क उपयोगी राजनीतिक औजार भए तर पछि उही कारणले आलोचना पनि सहनुप¥यो । काम सकिएपछि ट्रम्पले उनलाई छोडिदिए । मस्कले आफ्नो पद ह्वाइट हाउसको एक शान्त समारोहमा छाडे, जहाँ ट्रम्पले उनलाई हाउसको ‘सुनौलो साँचो’ प्रदान गरेका थिए । तर, सार्वजनिक शिष्टताका बाबजुद ओबिबिबी विधेयकले तनाव बढाइरहेको थियो । जब डोजले आशाअनुसार बचत गर्न सकेन, मस्कले सार्वजनिक ऋण बढ्ने चिन्ता गर्दै विधेयकविरोधी ‘किल द बिल’ अभियान थाले । ट्रम्पले यसको जवाफमा मस्कको आलोचना गर्दै टेस्लामाथि पर्ने असरको संकेत दिए । तर, मस्क छुट कटौतीको पक्षमै थिए, त्यसैले उनको आक्रोश ट्रम्पले आफूलाई केवल प्रयोग गरेर फ्याँकेको अनुभूतिबाट उत्पन्न भएको हुन सक्ने देखिन्छ । 

ट्रम्पले आफ्नो अव्यवस्थित राजनीतिक यात्रामा धेरै शक्तिशाली व्यक्तिलाई उपयोग गरी अन्त्यमा फालिसकेका छन् । तर, मस्कसँग ती अधिकांशभन्दा धेरै शक्ति छ र उनले ट्रम्पविरुद्ध प्रतिक्रिया जनाउन सक्ने सम्भावना पनि छ । तर, पहिले नै सार्वजनिक प्रतिष्ठा र ब्रान्डमा धक्का खाइसकेका मस्कका लागि ट्रम्प र उनको कट्टर समर्थक मागा आन्दोलनसँग फेरि झगडा गर्नु बुद्धिमानी नहोला । त्यसैले गत सप्ताहान्तमा मस्कले मेलमिलापका लागि आफू खुला रहेको संकेत दिएका छन् ।

मस्कले राजनीतिबाट पछि हट्ने र फेरि व्यवसायमा फर्किने आफ्नो प्रतिबद्धता पूरा गरे भने टेस्लाका लगानीकर्ताले निश्चय नै राहत महसुस गर्नेछन् । तर, यसभन्दा पनि गम्भीर चिन्ताको विषय भनेको लोकतन्त्रको भविष्य हो । जब सम्पत्ति र शक्ति केही अर्बपतिको हातमा सीमित हुन्छ, तब मतदाताको भूमिका घटेर केवल टिभीको रियालिटी सो हेर्ने रमितेमा सीमित भएको देखिन्छ । यसपटकको ‘अर्बपतिबिचको युद्ध’मा ट्रम्प विजयी देखिए पनि हार भने लोकतन्त्रकै भएको छ ।

(महेर सिड्नी विश्वविद्यालयका राजनीतिशास्त्रका लेक्चरर हुन्) 
द कन्भर्सेसनबाट