१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २१ बुधबार १३:५१:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा चुरे क्षेत्रका पालिकाका ‘वन’ अतिक्रमणको चपेटामा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार १३:५१:oo

उदयपुरको चुरे क्षेत्रसँग जोडिएका पालिकाहरूका ‘वन’ अतिक्रमणको चपेटामा परेका छन् । जिल्लामा रहेका दुई डिभिजन वन कार्यालयले तयार पारेको आर्थिक वर्ष ०८१/८२ काे अभिलेखअनुसार चुरे क्षेत्रसँग जोडिएका पालिकाका वन क्षेत्र अतिक्रमणकाे चपेटामा परेका हुन् । डिभिजन वन कार्यालय गाईघाट र डिभिजन वन कार्यालय त्रिवेणी कटारी छ । दुवै वन कार्यालयका अनुसार सरकारी, सामुदायिक, निजी र धार्मिक गरी जम्मा एक लाख ८६ हजार ६९४ हेक्टर वन क्षेत्र छ। जसमा सात हजार ४८० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।  

डिभिजन वन कार्यालय गाईघाटअन्तर्गत त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाका वन क्षेत्र पर्दछ । यस तीनै पालिकामा हाल कुल वन क्षेत्र ७४ हजार ४७८ हेक्टरमा पाँच हजार ४८९.५ हेक्टर अतिक्रमणको चपेटामा छ । डिभिजन वन कार्यालय गाईघाटका प्रमुख रामभगत यादवले बेलका नगरपालिकामा तीन हजार ५९.८ हेक्टर, चौदण्डीगढी नगरपालिकामा एक हजार ६९४.१ हेक्टर र त्रियुगा नगरपालिकामा ७३४.६ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटमा परेको बताए । उनले भने, ‘ती अतिक्रमणमा परेका वन क्षेत्र सबै मानव बस्ती छ । त्यो चुरे क्षेत्रमा पर्छ ।’

यसैगरी, डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सूचना अधिकारी हिरालाल शर्माका अनुसार त्रिवेणी क्षेत्रमा  ७४ हजार ३१८ हेक्टरमा एक हजार ९९०.५८ हेक्टर अतिक्रमणमा परेको छ । त्यो कटारी नगरपालिकाको मात्र छ । शर्मा भन्छन्, ‘यस वन क्षेत्रमा ताप्ली गाउँपालिका, रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ गाउँपालिका पर्दछन् । तर, त्यस क्षेत्रको वन अतिक्रमणको तथ्यांक संकलन गरिएको छैन।अतिक्रमणको क्षेत्रफल बढ्छ । चुरे वन क्षेत्रमा धेरै अतिक्रमण भएको छ । हामीसँग कटारी क्षेत्रको वन अतिक्रमणको तथ्यांक मात्र छ ।’

मानव बस्ती पहाडबाट बसाइँ सरेर भित्री मधेशमा पर्ने चुरे वन क्षेत्रमा आउने हुँदा चुरे वन क्षेत्र अतिक्रमणको चपेटामा छ। यता चुरे क्षेत्रमै सडक, बिजुली, विद्यालयलगायतका सेवा सुविधासमेत विस्तार हुन थालेपछि अतिक्रमण बढेको सरोकारवालाको भनाइ छ । महाभारत शृंखला र चुरे पर्वतले घेरेको समथर फाँटका वन क्षेत्रमा छ । पाँच  दशकअघि घनाजंगल रहेको क्षेत्रमा अहिले घनाबस्ती बसिसकेको छ । त्यसको लागि ०४६ पछिका राजनीतिक संक्रमणका कारण चुरे वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जानकारहरूको भनाइ छ। 

देशको अस्थिर राजनीतिक परिस्थितिको फाइदा उठाउँदै तथा सुकुम्बासी, भूमिहीन, दैवी प्रकोपपीडित  र विकास निर्माणको बहानामा समेत चुरे वन क्षेत्रमा बसोबास गर्नेको संख्या ठुलो रहेको उदयपुरका पत्रकार यदुप्रसाद ढकाल बताउँछन् । उनी भन्छन्, ‘चुरे वन क्षेत्र मानव आक्रमणमा परेको छ।’ कोशी प्रदेशका पूर्वपर्यटन, वन तथा वातावरण मन्त्री एवं सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका पूर्वअध्यक्ष नारायणबहादुर मगरले संघीय सरकारले नै वन क्षेत्र र मानव बस्तीको सीमांकन गर्नुपर्ने नीति लिनुपर्ने वेला आएको बताए। उनले भने, ‘अब हिजो जंगल फाँडेर बसेकालाई आज हटाउन सकिँदैन। अब हिजो जंगल फाँडेर बसेकालाई सीमांकन मात्र गर्न सकिन्छ। अब वन फँडानी गर्न नदिनु नै उत्तम उपाय हो। त्यसका लागि संघीय सरकारले ठोस कानुन बनाउनुपर्छ। वनसम्बन्धी जनचेतना जगाउनुपर्छ ।’

उदयपुरमा पश्चिम कमला खोलादेखि पूर्व सप्तकोशी नदीसम्म चुरे वन पर्दछ । माथिल्लो क्षेत्रमा घनाजंगल र तल सिराहा र सप्तरी जिल्लाको सीमा क्षेत्र पर्छ । तर, सिराहा र सप्तरीबाट चुरे क्षेत्र पातलिँदै गएको छ। चुरेको तल्लो क्षेत्रमा सिराहा र सप्तरी तथा माथिल्लो क्षेत्रमा उदयपुर पर्छ । त्यही तल्लो क्षेत्रमा हुने चोरी–निकासीले समेत फँडानी बढेको छ। 

सामान्यतः चुरे क्षेत्र पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले अत्यन्त संवेदनशील मानिन्छ। कमजोर र पत्रे चट्टानले बनेको भूभाग भएकाले वन फँडानी बढेसँगै भू–क्षय पनि बर्सेनि बढिरहेको छ । त्यसले पनि वन क्षेत्र उजाड हुँदै गएको छ । काठ, ढुंगा, बालुवा र गिट्टीको चोरी–निकासीसँगै दैनिक प्रयोग हुने दाउराका लागि पनि चुरे क्षेत्रमाथि आक्रमण छ ।