
राप्ती लोकमार्गअन्तर्गत राम्री–कपुरकोट सडकखण्ड बन्द हुने भएको छ। उक्त सडक मर्मत तथा स्तरोन्नतिका लागि जेठ २३ गतेदेखि असार १ गतेसम्म सडक बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय, दाङले सूचना जारी गर्दै राम्री– कपुरकोट खण्ड दिउँसो ११ बजेबाट बेलुकी ५ बजेसम्म बन्द गरिने जनाएकाे छ। यस अवधिमा सडक स्तरोन्नतिको कार्य सञ्चालन गरिने भएकाले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
वैकल्पिक मार्गको रूपमा यातायात सवारीसाधनहरूलाई पैयाखोरिया–सातवास–किमुचौर–कपुरकोट सडक प्रयोग गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी जनबहादुर खड्काले हस्ताक्षर गरेको सूचनामा सार्वजनिक जानकारीका लागि यो सूचना जारी गरिएको उल्लेख छ ।
सडक मर्मत कार्य सम्पन्न नभएसम्म यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।