
अदालतले सिराहाको विष्णुपुर गाउँपालिका– ४ थलह कटाहामा बाटो बन्द हुने गरी दुर्गा मन्दिरको कम्पाउन्ड वाल निर्माण नगर्न अन्तरिम आदेश जारी गरे पनि निर्माणको काम रोकिएको छैन । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश माधव धितालको सोमबारको इजलासले निवेदकको मञ्जुरीबेगर आवतजावत गर्ने बाटो बन्द हुने गरी कम्पाउन्ड वाललगायत कुनै पनि निर्माण कार्य नगर्नू–नगराउनू र उक्त जग्गा उपभोग गर्नमा कुनै किसिमको बाधा–अवरोध नगर्न निर्माण उपभोक्ता समिति, वडा कार्यालय, गाउँपालिकासहितका नाममा अन्तरिम आदेश जारी गरेको थियो । तर, मंगलबार पनि निर्माणको काम रोकिएन ।
‘अदालतले जारी गरेको आदेश गाउँपालिका र वडा कार्यालयको इमेलमा पठाइएको भन्ने थाहा पाएँ,’ रिट निवेदनकर्ता स्थानीय बुधराम महराले भने, ‘तर, मंगलबार पनि पर्खाल निर्माणको काम भएको छ ।’
उच्च अदालतले निवेदकका नाममा दर्ता कायम थलहाको कित्ता नम्बर ३०४३ जग्गामा कानुनबमोजिमबाहेक निवेदकको मञ्जुरीबेगर आवतजावत गर्ने बाटो बन्द हुने गरी कम्पाउन्ड वाललगायत कुनै पनि निर्माण कार्य नगर्न–नगराउन अन्तरिम आदेश दिएको थियोे । जग्गा उपभोग गर्न कुनै किसिमको बाधा–अवरोध नगर्न पनि अदालतले भनेको छ । अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश पनि दिएको छ ।
थलहा कटहा गाउँमै घर रहेका विष्णुपुर– ४ का वडाध्यक्ष रामबाबु यादवले कम्पाउन्ड वाल निर्माण रोक्न भनेर अदालतबाट आदेश जारी भएकोबारे अनभिज्ञता प्रकट गरे । ‘वडासचिव बिदामा रहेकाले अदालतले वडाको इमेलमा पठाएको भनिएको आदेश हेर्न पाएको छैन । निवेदकले मंगलबारसम्म देखाएका छैनन्, अदालतको आदेश सबैले मान्नैपर्ने भएकाले हामीले पनि पालना गर्छौँ,’ उनले भने ।
चमार (दलित) १० परिवारको घरसम्म आउन मन्दिर क्षेत्रको जग्गा हुँदै बाटो रहेकामा मन्दिरमा पर्खाल उठाएर छेक्न लागिएको छ । मधेश सरकारको पर्यटन विकास कार्यालयले ५० लाख ६० हजार लागतमा १३ जेठबाट पर्खाल निर्माण गरिरहेको हो । अहिलेसम्म मन्दिरको उत्तरतर्फबाट मोडिएर करिब ५० मिटर दक्षिण आएपछि घर पुग्न सकिनेमा अब अवरोध भएको स्थानीय सुनिता महराले बताइन् ।