१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
प्रेम गौतम काठमाडाैं
Invalid date format o७:५८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

प्रधानमन्त्री ओलीलाई पछ्याउँदै एमाले नेता–कार्यकर्ता, सामाजिक सञ्जाल प्रयोगकर्ताले गरे व्यंग्य 

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:५८:oo

सरकारको नेतृत्व गरिरहेको एमालेले सामाजिक सञ्जालमा ‘म झोले हो’ अभियान चलाएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि पार्टी नेता तथा कार्यकर्ताले पनि ‘ट्रेन्ड’लाई फलो गरेका छन् ।

‘म झोले हो, एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौँ गुणा उत्तम चरित्र हो,’ ओलीले पोस्टमा लेखेका छन् । उनले ‘झोले’ भनेर कसैले भन्दैमा सत्य अँगाल्न नछोड्ने आग्रह गरेका छन् । नेताहरूले त्यसैलाई आ–आफ्नो फोटोमा लेख्दै पोस्ट गरेका छन् । ‘हिजोआज एउटालाई भगवान् बनाउनुप¥यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भिडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ,’ ओलीले लेखेका छन् ।

ओलीकै शैलीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतले ‘म झोले हो’ भन्दै पोस्ट गरेका छन् । युवा र विद्यार्थी नेताका साथै केही पत्रकारले समेत ‘म झोले हो’ भन्दै पोस्ट गरेका छन् । ‘म जन्मसिद्ध शासनसत्ताको हकदार बन्ने कुराको विरोधमा छु, म वंश परम्परामा आधारित शासनसत्ताको विरोधमा छु, म अनिर्वाचित शासनसत्ताको विरोधमा छु, संविधानको सर्वोच्चता र कानुनी शासनको दृढ पक्षपोषण मेरो अडान हो ! यिनै मान्यता बोक्ने म झोले हो,’ पोखरेलले लेखेका छन् ।

एमाले उपमहासचिव ज्ञवालीले विचारको झोला बोक्न संकोच मान्न नहुने बताएका छन् । ‘भनिन्छ– जहाँ तर्क सकिन्छ, त्यहीँबाट गालीगलौज सुरु हुन्छ । अचेल सामाजिक सञ्जाल प्रयोगकर्ताको एउटा जमात इमान, निष्ठा र जनसेवाको राजनीति गरिरहेको पार्टीपंक्तिलाई निरुत्साहित गर्न गालीगलौजको अभियान नै चलाइरहेको छ । वंशवाद र जन्मजात श्रेष्ठताको सामन्ती मान्यता बोक्ने रैती बन्नुमा गर्व गर्ने, तर प्रतिस्पर्धात्मक लोकतन्त्रका पक्षधरहरूलाई चाहिँ ‘झोले’ भन्दै खिसिट्युरी गर्न चाहन्छन् । राजनीतिक कार्यकर्ता, कुनै नेतालाई मन पराउने कलाकार या नागरिक ‘सेल्फ सेन्सर्ड’ बनून् र बोल्न छाडून् । यो दूषित मनसायलाई हुर्किन दिनुहुन्न । सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न केको संकोच !’ ज्ञवालीले भनेका छन् ।

एमालेका नेता तथा कार्यकर्ताले ‘झोले’ पोस्ट सेयर गरिरहँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एमालेप्रति व्यंग्य गरेका छन् । डा. स्वामी केशवानन्दले ‘झोले’हरूले भाषा पनि बिग्रिएको बताएका छन् । ‘झोलेहरूले देश बिगारे या सपारे ? त्यसको उत्तर कसैलाई सोध्न नै पर्दैन । सर्वविदित नै छ । झोला पनि अचेल लाजले भुतुक्कै भयो होला । झोलेहरू भाषातिर पनि छिरेको चर्चा थियो प्रज्ञा प्रतिष्ठानतिर । अब नेपाली भाषा बिगार्न प्रधानमन्त्री नामक झोले आफैँ कम्मर कसेर लागेका छन्, र भन्छन्– म झोले हो ।’ उनले भनेका छन् ‘प्रधानमन्त्रीज्यू विदेशीको झोला छोडेर नेपाली झोला बोकेर प्राथमिक तहका शिक्षकसँग गएर सोध्नुहोस्– मको क्रियापद ‘हो’ होइन ‘हुँ’ हुन्छ भनेर तपाईंलाई सिकाइदिनेछन् । तपाईंले आफ्नो पुरुष सुधार्न सक्नुहुनेछ । आफ्नो पुरुष र लिंग थाहा भएन भने तपाईंको बाँकी जीवन पनि झोलामा नै सकिनेछ । सचेत हुनुहोस् । भाषा सभ्यता हो ।’ उनले भनेका छन् ।

सामाजिक अभियन्ता रञ्जु दर्शनाले खासमा कम्युनिस्ट कमाउनिस्ट भएर गाली खाएको बताएकी छिन् । झोले भए पनि, ब्यागे भए पनि, सुटकेसे भए पनि नागरिककेन्द्रित राजनीति नभएसम्म केही नहुने उनले औँल्याएकी छिन् । केही फरक हुँदैन ।’ केही सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘म भ्रष्टाचारी हो’ भनेर एमाले नेतृत्वलाई कटाक्ष गरेका छन् ।

गत १५ जेठमा एमालेले रत्नपार्कमा गणतन्त्र उत्सवको जुलुस निकाल्दा ट्राफिक जाममा परेका सर्वसाधारणले ‘झोले’ भन्दै विरोध गरेका थिए । राजावादीको आन्दोलनमा पनि ‘झोले’ शब्द प्रयोग भएको थियो । सामाजिक सञ्जालमा पनि एमाले कार्यकर्तालाई ‘झोले’को संज्ञा दिन थालेपछि ओलीले गत शनिबार एमालेनिकट बुद्धिजीवी परिषद्को कार्यक्रममा आफू एमालेको ‘झोले’ भएको बताएका थिए । 

अभियानप्रति ‘१० भाइ’ मौन
एमालेका पदाधिकारी, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यले ‘म झोले हो’ अभियान चलाइरहँदा दशबुँदे पृष्ठभूमिका नेताहरू मौन छन् । उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, शिक्षामन्त्री रघुजी पन्त, अमृत बोहोरालगायत मौन रहेका हुन् । ‘दशबुँदे’का भीम रावल र घनश्याम भुसाल पार्टीबाटै बाहिरिएका छन् । 

छुटाउनुभयो की ?