१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
स्कटल्यान्डमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी प्रशिक्षण गर्दै । तस्बिर सौजन्य: क्यान
रमेश सुवेदी काठमाडाैं
२o८२ जेठ १९ सोमबार o७:३६:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी विश्वकप लिग–२ : नेपालमाथि चुनौतीसँगै दबाब

अंकतालिकाको पुछारमा रहेको नेपालले एकदिवसीय मान्यता रक्षा र ग्लोबल छनोटमा स्थान बनाउन विश्वकप लिग–२ का बाँकी खेल जित्नुपर्ने

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार o७:३६:oo

आइसिसी विश्वकप लिग–२ मा १२ मध्ये दुई खेलमा मात्र जित निकालेको नेपालले सोमबार स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै छ । आधिकारिक रूपमा नेपालको यो ७४औँ  अन्तर्राष्ट्रिय एकदिवसीय खेल हुनेछ । अंकतालिकामा ६ अंक जोडेको नेपाल पुछारमा छ । स्कटल्यान्ड भने तालिकाको चौथो स्थानमा छ । स्कटल्यान्डले आयोजना गरिरहेको सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग पनि खेल्नेछ । 

स्कटल्यान्ड र नेदरल्यान्ड्सका तुलनामा नेपालमाथि चुनौती र दबाब छ । नेपालले यी दुवै पक्षलाई पाखा लगाउनुपर्नेछ । नेपाल सात महिनापछि एकदिवसीय खेलमा फर्कंदै छ ।  नेपालले अन्तिमपटक एकदिवसीय खेल खेलेको गत वर्षको नोभेम्बरमा थियो । अमेरिकामा भएको आइसिसी विश्वकप लिग–२ मा नेपालले अमेरिका र स्कटल्यान्डसँग प्रतिस्पर्धा गरेको थियो ।

त्यहीँ सिरिज नै नेपालले अन्तिमपटक एकदिवसीय खेल खेलेको थियो । तेस्रो चरणको खेलमा नेपालले एक जित निकालेको थियो । सो सिरिजमा नेपाल र स्कटल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएको थियो । चौथो चरणमा नेपालले अंकतालिकामा सुधार गर्नुका साथ चार वर्षका लागि एकदिवसीय मान्यता रक्षा गर्ने कोसिस गर्नेछ । स्कटल्यान्डको पिचमा नेपाली खेलाडीको परीक्षा हुनेछ । विशेषतः ब्याट्सम्यानले ओसिलो स्कटल्यान्डको पिचमा धेरै चुनौती सामना गर्नुपर्ने देखिन्छ । 

नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले सिरिजमा आफूहरूलाई चुनौती भएको स्विकारेका छन् । ‘नेपाल अहिले अंकतालिकामा राम्रो स्थानमा छैन, हामीमाथि धेरै दबाब छ,’ सिरिजमा सहभागी हुनुअघि मल्लले भनेका थिए, ‘यस चुनौती पार लगाउन सकियो भने नेपाललाई आगामी दिनमा सहज हुनेछ ।’ 

नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डको पिचमा खेल्न निकै चुनौतीपूर्ण भएको बताए । ‘हामीलाई स्कटल्यान्डमा जित्नैपर्ने दबाब छ तर, त्यसका लागि त्यहाँको पिचलाई राम्ररी बुझ्नुपर्छ,’ उनले भने, ‘त्यहाँको पिच कस्तो छ, हामी सबैलाई थाहा नै छ ।’ सहभागी आठ टोलीमा कम खेल खेलेको नेपाल हो । 

नेपालले १२ खेल खेलेको छ । शीर्ष स्थानको अमेरिका, दोस्रो स्थानको नेदरल्यान्ड्स र तेस्रो स्थानमा रहेको ओमानले समान २० खेल खेलेका छन् । शीर्ष तीन स्थानमा रहेका टोलीभन्दा नेपालले आठ खेल कम खेलेको छ । यसै आठ खेलमा नेपालले आफूअनुकूल नतिजा निकाली अंकतालिकामा सुधार गर्नुपर्ने चुनौती छ । 

मुख्य प्रशिक्षक स्टुआर्टको पहिलो अन्तर्राष्ट्रिय खेल
नेपाल क्रिकेट संघ (क्यान)ले मोन्टी देसाईको सम्झौता नवीकरण नगर्ने घोषणा गर्‍यो । त्यससँगै नेपालले मुख्य प्रशिक्षकका लागि ग्लोबल आह्वान गरेको थियो । जसबाट क्यानले अस्ट्रेलियाका पूर्वखेलाडी स्टुआर्ट ललाई नियुक्त गर्‍यो । गत १२ वैशाखदेखि नेपाली टोलीलाई आधिकारिक रूपमा प्रशिक्षण दिएका स्टुआर्टसमक्ष स्थिति सहज छैन । अहिले उनीसमक्ष सम्भवतः तीनवटा चुनौती छन् । पहिलो नेपाललाई ‘विनिङ ट्र्याक’मा ल्याउनुपर्ने, दोस्रो अंकतालिकामा व्यापक सुधार गर्नुपर्ने र तेस्रो नेपालको एकदिवसीय मान्यतासमेत रक्षा गर्नुपर्ने दबाब मुख्य प्रशिक्षक स्टुआर्टमाथि छ । 

मुख्य प्रशिक्षकका रूपमा स्टुआर्टले स्कटल्यान्डसँगको पहिलो खेलको चुनौती पछ्याउनुपर्ने छ । नेपालको प्रशिक्षक हुनुअघि उनी अमेरिकाको मुख्य प्रशिक्षक थिए । उनको प्रशिक्षणमा गत वर्ष अमेरिकाले इतिहास रच्दै आइसिसी टी–२० विश्वकपको सुपर आठमा पुगेको थियो । समूह चरणमा अमेरिकाले पूर्वविजेता पाकिस्तानलाई स्तब्ध पारेको थियो । 

तीन वर्षअघिकै अवस्थामा
अहिले आइसिसी विश्वकप लिग–२ मा नेपाल जुन अवस्थामा छ । ठ्याक्कै तीन वर्षअघि पनि यस्तै कमजोर अवस्थामा नेपाल थियो । भारतीय प्रशिक्षक देसाईको आगमनसँगै नेपाल १२ मध्ये ११ खेलमा विजयी भयो । यो नतिजासँगै नेपालले पहिलोपटक ग्लोबल छनोटमा स्थान गर्नुका साथै एकदिवसीय मान्यता पनि जोगाएको थियो । यसै परस्थितिमा नेपालले आगामी दिनमा उत्कृष्ट नतिजा निकाल्नुपर्छ । मुख्य प्रशिक्षक स्टुवार्टलाई सिरिजअन्तर्गत आगामी दिनमा हुने लगभग सबै खेल जित्नैपर्ने दबाब छ । नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग खेल्नुअघि त्यहाँ दुई साता बिताइसकेको छ । त्यसैले पनि नेपाली खेलाडीले स्कटल्यान्डको वातावरण राम्ररी बुझेको अनुमान गर्न सकिन्छ । 

हेड टु हेडमा नेपाल बलियो
नेपाल र स्कटल्यान्डले अहिलेसम्म आधिकारिक रुपमा आठ एकदिवसीय खेलेका छन् । जसमा नेपालले चार र स्कटल्यान्डले तीन खेलमा जित निकालेको छ । एक खेल भने वर्षाले रद्ध भएको थियो । सन् २०२३ नोभेम्बरमा यी दुई टोलीबिचको खेलमा नतिजा आएन । सन् २०२४ को अक्टोबरमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । सन् २०२३ को फेब्रुअरी २१ मा दुई विकेट तथा तीन फेब्रुअरीमा नेपाल तीन विकेटले विजयी भएको थियो । सन् २०२२ मा भएको भेटमा भने स्कटल्यान्ड ८ विकेटले विजयी भएको थियो । 

नन्दनलाई अवसर 
नन्दन यादवले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल)मा प्रभावशाली प्रदर्शन गरेका थिए । यही प्रदर्शनले उनको राष्ट्रिय टोलीमा ढोका खोलेको थियो । प्रशिक्षक स्टुवार्ट र क्यानको छनोट समितिले पनि नन्दनलाई विश्वास गरी पहिलोपटक सिनियर टोलीमा अवसर दिएका छन् । ‘नयाँ प्रशिक्षकसँग मैले सिक्ने अवसरका रूपमा लिएको छु । अब, अवसर पाए आफूलाई प्रमाणित गर्न खेल्छु,’ नन्दनले भने । नन्दनले सिनियर टोलीमा स्थान बनाउँदा युवा अलराउन्डर कुशल मल्ल पहिलो चरणबाटै बाहिरिएका थिए । 

 

 

 

छुटाउनुभयो की ?