
हाल विश्वका अनुदार लोकतन्त्र तिनका ‘शक्तिशाली’ नेताबिचको पारस्परिक प्रशंसा र समर्थनबाट चिनिन थालेका छन् । मोदी, ट्रम्प, मेलोनी, ओर्बान, बोल्सोनारो, एर्दोगान, नेतन्याहुजस्ता नेताले एकअर्काप्रति खुला सद्भाव देखाउँदै आएका छन् । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानलाई नै लिऊँ, इतिहासकारका अनुसार उनी युरोपभर अनुदार लोकतन्त्रका प्रतीक बनेका छन् । उनका प्रशंसकहरूमा स्टिभ ब्यानन, निगेल फराज, काजिन्स्की, साल्भिनीजस्ता उग्रदक्षिणपन्थी नेता छन् । त्यसैगरी, रोमानियाली नेता क्यालिन जिओर्गेस्कुले ट्रम्प र एलन मस्कको समर्थन पाएका थिए, यद्यपि उनको जित रुसी हस्तक्षेपका आरोपमा बदर भयो ।
तर, के यस्तो ‘पारस्परिक प्रशंसा क्लब’ साँच्चै प्रभावशाली राजनीतिक गठबन्धनमा रूपान्तरण हुन सक्ला ? उसो त यिनमा साझा राष्ट्रवादी दृष्टिकोण देखिन्छ । उनीहरूको राजनीति स्वभावतः बहुसांस्कृतिक समावेशिताभन्दा एक्लोपन र स्थानीय सीमिततामा आधारित छ । ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीति र युरोपेली दक्षिणपन्थीद्वारा युरोपियन युनियनको विरोध यही प्रवृत्तिका उदाहरण हुन् । यस्तोमा विचारधारा नजिकिँदैमा रणनीतिक गठबन्धन सम्भव छ त ? आजको मुख्य प्रश्न यही हो ।
म अहिले हंगेरीबाट लेखिरहेको छु, जहाँ दक्षिणपन्थी नेताहरूबिचको गठबन्धन उत्साहजनक देखिन्छ । अप्रिलमा इजरायली प्रधानमन्त्री नेतन्याहुलाई हंगेरीका प्रधानमन्त्री ओर्बानले बुडापेस्टमा भव्य स्वागत गरे । त्यसैगरी, ओर्बानले ब्राजिलका बोल्सोनारो शासनकाललाई ‘युरोपेली इसाई लोकतन्त्र’को आदर्श मानेका छन् । नेतन्याहु अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)द्वारा युद्ध अपराधी घोषित भइरहँदा हंगेरीले अदालतबाट हात झिक्दै उनलाई समर्थन जनायो । ओर्बान–एर्दोगान मित्रताले टर्की संस्कृतिको ऐतिहासिक उपस्थिति हंगेरीमा पुनर्स्थापित गरेको छ, जसको उदाहरण टर्कीको इतिहाससँग जोडिने ओटोमोन साम्राज्यकालीन ‘गुल बाबा’ समाधीस्थल हो ।
विश्वभरका उग्रदक्षिणपन्थी नेता एक–आपसमा जोडिन चाहे पनि उनीहरूको आत्मकेन्द्रित स्वभावले सम्भवतः तिनलाई टाढै राख्नेछ
तर, रोमानियाको हालको मेरो यात्राका क्रममा मैले अन्तर्राष्ट्रिय दक्षिणपन्थी गठबन्धनभित्र गहिरो फाटो आएको देखेँ । बुखारेस्टस्थित विशाल ‘संसद् भवन’ तत्कालीन कम्युनिस्ट अधिनायकवादी नेता चउसेस्कुले उत्तर कोरियाली अधिनायकवादी नेता किम इल सुङको प्रेरणामा निर्माण गरेका थिए, जुन उनले कहिल्यै प्रयोग गर्न पाएनन् किनभने सन् १९८९ मा सैनिक कुपछि उनलाई मृत्युदण्ड दिइयो । तर, २१औँ शताब्दीको मध्य तथा पूर्वी युरोपको यथार्थ फरक छ, जहाँ उदार, युरोपियन युनियन समर्थक धारणा र पुटिन–प्रभावित दक्षिणपन्थी राष्ट्रवादबिचको टकरावले रुस–युक्रेन द्वन्द्वजस्तो गहिरो विभाजन ल्याएको छ ।
मेरो रोमानिया यात्रा त्यहाँको राष्ट्रपति निर्वाचनको दोस्रो र अन्तिम चरणसँग मिल्न गएको थियो, जसमा उग्रराष्ट्रवादी उम्मेदवार जर्ज सिमिओन र इयू समर्थक बुखारेस्ट मेयर निकुसोर दानबिच प्रतिस्पर्धा थियो । जब म ट्रान्सिल्भानिया विश्वविद्यालयमा व्याख्यान प्रस्तुत गर्न ब्रासोभतर्फ लाग्दै थिएँ यो प्रतिस्पर्धाको प्रभाव ट्रान्सिल्भानियामा झनै गहिरो थियो भन्ने बुझे । र, ट्रान्सिल्भानिया क्षेत्र हंगेरीयन मुलुकका मानिसको बाक्लो उपस्थिति भएको ठाउँ हो, जसले रोमानिया र हंगेरी दुवैमा मतदान गर्छन् ।
पूर्वगणितिज्ञ र प्राज्ञिक पृष्ठभूमिका व्यक्ति निकुसोर दानका पक्षमा विश्वविद्यालयको उदार समुदायमा समर्थन हुनु स्वाभाविक थियो । तर, ब्रासोभमा मैले खासगरी सिमिओनको उग्रअल्पसंख्यकविरोधी प्रवृत्तिप्रति अत्यधिक असन्तुष्टि महसुस गरेँ, जसको विषाक्त भाष्य ट्रान्सिल्भानियाका हंगेरीयन मूलका मानिसप्रति पनि द्वेष उत्तिकै थियो । उत्साह, उत्कण्ठा, र थकानले भरिएको अवस्थामा निर्वाचनको साँझ म ब्रासोभमा बसेको थिएँ । साँझपख जब ‘एक्जिट पोल’ आउन थाले, आशा बढ्न थाल्यो र भोलिपल्टै निकुसोर दानको जितको उत्साहपूर्ण एवं आशावादी खबर पाएँ ।
जर्ज सिमिओनको जित निश्चितजस्तै देखिएको अवस्थामा यो कसरी सम्भव भयो ? र, त्यसमाथि माहोल रोमानियामा चर्किँदै गएको अतिवादी राष्ट्रवादको लहरसँग मेल खाइरहेको थियो ? वास्तवमा रोमानियामा बसोवास गर्ने प्रवासी हंगेरीयन मतदाता विशेषतः ट्रान्सिल्भानिया क्षेत्रका मतदाता खेल पल्टाउने तत्व थिए । मेरा रोमानियाली र हंगेरीका मित्र तथा सहकर्मीले भनेझैँ वरिष्ठ जर्मन पत्रकार केनो फेर्सेकले आफ्नो लेखमा ‘हंगेरी मूलका र मोल्डोभाली मतदाताले रोमानियाको लोकतन्त्र बचाए’ लेखेका थिए । ट्रान्सिल्भानियामा रहेका हंगेरी मूलका रोमानियाली नागरिक र रोमानियामा मतदान अधिकार भएका मोल्डोभालीले सिमिओनका अल्पसंख्यकविरोधी अभिव्यक्तिको कडा प्रतिरोध गरेका थिए र दानको पक्षमा ठुलो संख्यामा मतदान गरेका थिए ।
यहीँ आएर मध्य र पूर्वी युरोपमा दक्षिणपन्थी गठबन्धन असफल भयो । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आफ्ना विचारधारात्मक सहयोगी सिमिओनको समर्थन गरेका थिए र दुवैजना पुटिनमैत्री, युरोपियन युनियनविरोधी र अधिनायकवादी शासकीय शैलीका प्रवर्तक हुन् । तर, यहीँ एक ठुलो दरार देखापर्यो । जसरी ओर्बान हंगेरीभित्र रहेका रोमा (जिप्सी), आप्रवासी, र गैरइसाई अल्पसंख्यकप्रति आक्रामक छन् त्यसैगरी, सिमिओनको अल्पसंख्यकविरोधी राजनीति ट्रान्सिल्भानियाका हंगेरीयन मूलका मानिसतर्फ पनि निर्देशित थियो । यति हुँदा पनि ओर्बानले रोमानियामा हंगेरीविरोधी उम्मेदवारको समर्थन गरेका थिए, तर त्यहाँका हंगेरी मूलका मतदाताले ओर्बानको मार्गदर्शन मान्न अस्वीकार गरेका थिए ।
दानको विजय रोमानियामा उदारवादी विचारका लागि आशाको सानो किरण हो । अझ महत्वपूर्ण के हो भने यसले विश्वव्यापी दक्षिणपन्थी राष्ट्रवादको देखावटी एकताभित्र लुकेको गहिरो विभाजन उजागर गरिदिएको छ । ओर्बान–नेतन्याहु सहकार्यले बुडापेस्टमा मैले भेटेका यहुदी सर्वोच्चतावादीविरोधी समूहमा निराशा ल्यायो तर स्मरण रहोस्, यस्तै सहकार्यको प्रयास रोमानियामा असफल भएको थियो । यो असफलता विडम्बनापूर्ण रूपमा ओर्बानको ‘अधिराष्ट्रिय युरोप’को विरोधसँग मेल खान्छ, जसले ट्रम्पको ‘अमेरिका फस्र्ट’ नाराबाट ऊर्जा पाएको थियो । यी नेताहरू जोडिन चाहन्छन्, तर उनीहरूको आत्मकेन्द्रित स्वभावले सम्भवतः तिनलाई टाढा नै राख्नेछ भन्ने तथ्य अलगाववादी राष्ट्रवादले देखाएको छ ।
(मजुमदार इन्स्टिच्युट अफ एडभान्स्ड स्टडी इन बुडापेस्टका वरिष्ठ फेलो हुन्) द वायरबाट