१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
गणेश लम्साल विराटनगर
२o८२ जेठ १९ सोमबार o७:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तुलसी सहकारीका अध्यक्ष शर्मासहित तीनजना दोषी ठहर : सहकारी संकटमा परेपछि सचिवसमेत रहेकी पत्नी सविनासँग सम्बन्धविच्छेद गरेका थिए शर्माले

आज सजाय निर्धारण हुने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार o७:o५:oo

सहकारीको रकम अपचलन मुद्दामा विराटनगरमा केन्द्रीय कार्यालय रहेको तुलसी बहुमुखी सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित तीनजना दोषी ठहर भएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको आइतबारको इजलासले शर्मासहित सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवासलाई दोषी ठहर गरेको हो । अध्यक्ष शर्मा, सचिव न्यौपाने र क्षेत्रीय प्रबन्धक खवास यसअघि नै पुर्पक्षका लागि थुनामा थिए । यसअघि थुनछेक बहसमा धरौटीमा रिहा भएका उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईले भने सफाइ पाएका छन् ।

दोषी ठहर भएकाको सजाय आज सोमबार निर्धारण हुने अदालतका सूचना अधिकारी हेम बुढाथोकीले बताए । तुलसी सहकारी ठगीमा फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा मुल्तबीमा राखिएको छ । उनीहरू अदालतमा उपस्थित भएपछि मुल्तबी जगाएर मुद्दाको प्रक्रिया सुरु गरिने मोरङ अदालतले जनाएको छ ।

तुलसी सहकारी ठगी आरोपमा अध्यक्ष शर्मासहित आठजनालाई प्रतिवादी बनाएर १२ चैत ०७९ मा मुद्दा दायर भएको थियो । ०५२ मा दर्ता भएको तुलसी सहकारीको स्वामित्व ०७२ मा केदारनाथले खरिद गरेका थिए । तुलसीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा पनि शाखा सञ्चालन गर्दै आएको थियो । शर्मा समूहले आकर्षक ब्याजको प्रलोभनमा सर्वसाधारणबाट बचत संकलन गरी अनधिकृत रूपमा आफ्नो कम्पनीमार्फत खर्च गरेको थियो । सर्वसाधारणको एक अर्ब ४५ करोड ७५ लाख बचत संकलन गरेको तुलसी सहकारीले ४१ करोड ६३ लाख ९५ हजार रुपैयाँ अध्यक्ष शर्माका ६ वटा कम्पनीलाई ऋण लगानी गरेको थियो ।