१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १९ सोमबार o६:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१० वर्षपछि पुरानै मन्दिरमा राखियो मत्स्येन्द्रनाथ देवता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार o६:५३:oo

वर्षा र सहकालका देवता रूपमा प्रसिद्ध रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको छ । आइतबार अपराह्न ५: ३० बजे राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा ललितपुरको जावलाखेलमा भोटो देखाइएको हो ।रथको चारैतिर चारपटक घुमेर गुठी संस्थान ललितपुरका प्रमुख जितेन्द्र चित्रकारले ‘यो भोटो कसको हो ?’ भन्दै देखाएका थिए । भोटो देखाउनुलाई भोटो प्रदर्शनसमेत भन्ने गरिन्छ । 

किंवदन्तीअनुसार कुनै समय राक्षस र एक किसानबिच भोटोको सन्दर्भमा विवाद भएको थियो । नागले किसानलाई दिएको भोटो राक्षसले चोरेका थिए । पछि राक्षसले लगेको भोटो किसानले देखिपछि दुईबिच विवाद मच्चिएको थियो । त्यसबखत जावलाखेलमा रहेका रातो मत्स्येन्द्रनाथले विवाद समाधान गर्न उक्त भोटो आफूले राखे । जसले प्रमाण लिएर आउँछ उक्त भोटो उसैलाई दिने भनेका थिए । तर, हालसम्म भोटो कसको हो भनेर प्रमाण भेटिएको छैन । 

उक्त रहस्यमयी भोटो हेर्न राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थदेखि सर्वसाधारणसम्म उपस्थित थिए । साथै, भोटो प्रदर्शनपछि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूले रथको पूजा र कुमारीको हातबाट टीका र प्रसाद ग्रहणसमेत गरे । रातो मत्स्येन्द्रनाथको रथलाई पुल्चोकबाट गाःबहाल, मंगलबजार, सुन्धारा, टंगाल इटिटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने चलन छ । यो चलन करिब १६ सय वर्ष पुरानो हो । भोटो देखाएपछि मत्स्येन्द्रनाथ देवतालाई बुङमती लगिन्छ ।

०७२ को भूकम्पले मन्दिर भत्किएपछि रातो मत्स्येन्द्रनाथ देवतालाई नजिकैको पाटीमा राखिएको थियो । १० वर्षपछि मन्दिर पुनर्निर्माण भएकाले आइतबार मत्स्येन्द्रनाथलाई मन्दिरमै विराजमान गराएको गुठी संस्थान ललितपुरका प्रमुख जितेन्द्र चित्रकारले जानकारी दिए । ‘यसपटक बल्ल मच्छिन्द्रनाथलाई उहाँकै मन्दिरमा राखियो, योभन्दा अघिसम्म पाटीमा राखिएको थियो, अब भने सुरक्षित भयो,’ उनले भने, ‘भोटो पनि त्यही मन्दिरमा राखिन्छ ।’ 

लामो इतिहास बोकेको मत्स्येन्द्रनाथको जात्राको अन्तिम दिन देखाइने भोटो जात्राको इतिहास यकिन छैन । तर, मत्स्येन्द्रनाथको जात्रा सुरु भएपछि भोटो जात्रा सुरु भएको किंवदन्ती छ । मत्स्येन्द्रनाथका पुजारी कपिल बज्राचार्यका अनुसार मत्स्येन्द्रनाथको भोटो पनि जात्राजत्तिकै पुरानो हो, भोटोको कपना पनि त्यतिवेलाकै रहेको पाइन्छ । 

सर्वसाधारणलाई भोटो हेर्न कठिन 
जात्राको क्रममा विशिष्ट व्यक्तिहरूको सहभागिता हुने भएपछि सर्वसाधारणलाई जात्रा हेर्न कडाइ गर्ने गरिएको छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च विशिष्ट व्यक्तिहरू आउने भएपछि प्रहरीले सुरक्षा व्यवस्था निकै कडा पार्ने गर्छ । त्यसक्रममा सर्वसाधारणलाई नजिक आउन दिइँदैन । चारैतिर सुरक्षाकर्मीले घेरेपछि सर्वसाधारणले भोटो देख्न पाउँदैनन् । गुठी संस्थान र ललितपुर महानगरपालिकाले सर्वसाधारण र विशिष्ट पाहुनाका लागि ठाउँसमेत व्यवस्थित नगर्दा सर्वसाधारण भोटो जात्रा हेर्नबाट वञ्चित हुने गरेका छन् । आइतबार जात्राको क्रममा कतिपयले रुख तथा बारमा चढेरसमेत जात्रा हेरेका थिए । जात्रा हेर्न नदिएको भन्दै कतिपय आक्रोशितसमेत बनेका थिए ।