
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तामा बसेर सडकमा तमासा देखाइरहेको टिप्पणी गरेका छन्। अहिलेको संकट समाधानका लागि उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गरेर अन्तरिम सरकार गठन गर्न आह्वानसमेत गरेका छन्।
गणतन्त्र दिवसको सन्दर्भ आज (बिहीबार) आम जनता पार्टी (आजपा) काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा काठमाडौंको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा आयोजित ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र?’ विषयक विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न सुझाव दिएका हुन्। अहिलेको संकटको समाधान गर्नका लागि अन्तरिम सरकार गठनको आवश्यकता रहेको उनले बताए ।
‘अहिलेको व्यवस्थाले कोही पनि सन्तुष्ट छैनन् । पूर्वराजादेखि अहिलेका दलका राजाहरूले सडकमा नाटक गरिरहेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘म प्रधानमन्त्रीलाई भन्न चाहन्छु, सडकमा तमासा गरेर केही हुँदैन । तपाईं राजीनामा दिनुस्, देशलाई निकास दिनुस् । अन्तरिम सरकार गठन गरेर अगाडि बढौँ।’
गणतन्त्र नेपालमा हातीको देखाउने दाँत जस्तै भएको टिप्पणी गर्दै उनले राजतन्त्रमा पनि पञ्चायतको नाममा जनतालाई झुक्याउने काम भएको स्मरण गरे। गणतन्त्रमा पनि नेताहरूले लुटको समराज्य खडा गरेको बताउँदै उनले अहिलेका नेताहरू भगौडा दलाल वर्गको प्रतिनिधित्व गरिरहेको बताए।
उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नक्कली गणतन्त्रवादी भएको टिप्पणी गरे । पार्टी एन्ड कम्पनीको शासन व्यवस्था भएकाले नेपाली जनता असन्तुष्ट रहेको बताउँदै उनले नक्कली गणतन्त्रवादी ओली र देउवाले गणतन्त्रकै बदनाम गरेको बताए ।
‘जोगीको भेषमा सीताको अपहरण भयो । त्यस्तै, गणतन्त्रको नाममा नक्कली गणतन्त्रवादी ओली, देउवा एन्ड कम्पनीको शासन छ । गणतन्त्रको खोल ओढेर लुटको समराज्य खडा गरिएको छ । आमनिर्वाचनमा कांग्रेसले एमालेको सरकार बनाउँछौँ र एमालेले कांग्रेसको सरकार बनाउँछौँ भनेर मतदातासँग मत मागेको होइन। तर, यहाँ अप्राकृतिक, अवैधानिक गठबन्धनले लुटको समराज्य खडा गरिएको छ,’ आजपा अध्यक्ष साहले भने।