
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्ने आवश्यकता औँल्याएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।’
ढिलासुस्ती, अनियमितता र बेथिति गणतन्त्रको सबैभन्दा ठुलो शत्रु भएको उनले बताएका छन् । यिनै बेथितिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश नबनाओस् भन्नेमा चिन्ता लिनुपर्ने उनको भनाइ छ ।
‘जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो वेलासम्म हामीले रगत र पसिनासँंग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन,’ सन्देशमा भनिएको छ ।