
पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत वर्षको असोजदेखि यही जेठ ४ गतेको अवधिमा खुम्बु क्षेत्रमा उक्त संख्यामा विदेशी पर्यटकको मृत्यु भएको हो ।
जिल्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनुसार मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर, मुटुसम्बन्धी समस्या र मौसमको प्रतिकूलता देखिएको छ । मृत्यु हुने पर्यटकहरू जापान, अस्ट्रेलिया, भारत र सिंगापुरका दुई–दुईजना, रोमानिया, चीन, बेल्जियम, मलेसिया र फिलिपिन्सका एक–एकजना छन् । उनीहरूको उमेर समूह ३० देखि ६५ वर्ष छ । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक मनोवत कुँवरका अनुसार मृत्यु भएकामध्ये ६ जनाको हिमाल आरोहणका क्रममा मृत्यु भएको हो ।
जसमा सगरमाथा आरोहणका क्रममा फिलिपिन्स र भारतका एक–एक आरोहीले ज्यान गुमाएका छन् भने ल्होत्सेमा भारत र रोमानियाका आरोहीले ज्यान गुमाएका छन् । मेरापिकमा एकजना बेल्जियमका नागरिक र आमादब्लम आरोहणका क्रममा एक अस्ट्रेलियन नागरिकले ज्यान गुमाए ।
खुम्बु क्षेत्रको सौन्दर्य र चुनौती
खुम्बु क्षेत्र विश्वभरका पर्यटकको सपनाको गन्तव्य हो । सगरमाथा मात्र नभई यहाँका सम्पूर्ण हिमाली भू-भाग, ल्होत्से, नुप्त्से, आमादब्लम, थामसेर्कु, खाङ्तेका, चोयुजस्ता हिमशृंखलाहरूले यो क्षेत्र मनमोहक छ । यहाँका गाउँघर, शेर्पा समुदायको संस्कृति, उनीहरूको धार्मिक आस्था र हिमाली जीवनशैलीले पनि पर्यटकलाई आकर्षित गर्छ । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्र युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत छ ।
जसका कारण हरेक वर्ष हजारौँ पर्यटकले खुम्बु क्षेत्र भ्रमण गर्छन् । तर, खुम्बु क्षेत्रमा जोखिम पनि उत्तिकै छ । लेक लाग्ने, चिसो मौसम, अक्सिजनको कमी, हिमपहिरो र स्वास्थ्यसम्बन्धी अन्य समस्याले पर्यटकहरूले ज्यान गुमाउने सगरमाथा आरोही विजय विश्वकर्माले बताए । उनले भने, ‘हिमाल घुम्नु जति आनन्द छ त्यत्तिकै चुनौती पनि छ, यही सिजनमा सगरमाथा आरोहण गर्दा म आफैँ पनि दुर्घटनामा परेँ, सगरमाथाको तेस्रो शिविरमाथिबाट खसेको आइसको डल्लाले लागेर मेरो टाउकामा आठ टाँका लगाउनुपर्यो ।’
पर्यटन व्यवसायीहरूले प्रत्येक पर्यटकीय याम सुरु हुनुअघि स्वास्थ्य परीक्षण, उचाइमा हिँड्न आवश्यक तालिम र सचेतना कार्यक्रम गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
पर्यटकका लागि आवश्यक पूर्वतयारी, स्वास्थ्य परीक्षण, पथप्रदर्शकको भूमिका, आवश्यक पूर्वाधारको उपलब्धता, हेलिकाेप्टर उद्धार प्रणालीको मजबुतीकरण, मौसम पूर्वानुमानको सही जानकारी र जोखिम न्यूनीकरणका उपायहरू थप मजबुत बनाउनुपर्ने स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् ।
यस क्षेत्रमा आउने पर्यटकहरू प्राय: ‘हाइअल्टिच्युड’कै कारण समस्यामा पर्ने गरेको कान्छो सगरमाथा आरोही तेम्बाछिरी शेर्पा बताउँछन् । पर्यटकका लागि अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था, वातावरणीय सचेतना र स्थानीय प्रशासनको प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ ।