
राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. सांसद तोसिमा कार्कीले गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गरेकी छिन् । सो घटनामा मन्त्रीकै संलग्नता पुष्टि हुने आधार देखिएको भन्दै तुरुन्त बर्खास्ती गरी छानबिनको माग उनले गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्–
जनताको प्रतिनिधि हुँ। आमसमुदायको प्रश्न मुखारित गर्दै छुः भिजिट भिसा प्रकरण अब अध्यागमनको मात्र गडबडी होइन– यो गृहमन्त्रीकै सचिवालयबाट सञ्चालित मानव तस्करी र भ्रष्टाचारको सिन्डिकेटको रूपमा प्रमाण र तथ्यहरू सञ्चारमाध्यममा छताछुल्ल हुँदै छन् ।
– अध्यागमनमा दररेटमा कर्मचारी सरुवा गरिन्छ,
– तिनै कर्मचारीमार्फत दैनिक ५० लाखको असुली हुन्छ,
– र त्यो पैसा सिधा गृह मन्त्रालय हुँदै मन्त्रीको सचिवालय पुग्छ।
जब जनताको जनधनको सुरक्षा लिनुपर्ने निकायद्वारा नै राज्यको संयन्त्र प्रयोग गरेर जनताको छोराछोरी बेचिन्छन्, अनि गृहमन्त्री र उनको सचिवालय नै संलग्न हुन्छ भने योभन्दा ठुलो अपराधको अर्को नमुना कुन चाहिन्छ ?
र यस्तो अवस्थामा आरोपित मन्त्रीलाई कुर्सीमा राखिरहनु भनेको मन्त्रिपरिषदबाटै यो अपराधलाई अनुमोदन गर्नु हो।
अब छानबिनको भाषण होइन, कारबाही चाहिन्छ। जनतालाई गुमराहमा नराखी गृहमन्त्रीलाई तुरुन्त बर्खास्त गरी सत्यतथ्य र प्रमाणमा आधारित अनुसन्धान र कारबाही अघि बढाउन माग गर्दछु।
यदि प्रधानमन्त्रीसहित सत्तारूढ दुई दल मौन रहनछन् भने, यो स्वयं सरकारको, संसद्को, संविधानको र जनताको अपमान मात्र होइन, यो संगठित अपराध हो ।